२८ असार, पोखरा । लगातारको झरीले कुलबहादुर परियारको घरमा मात्रै होइन, परिवारकै मनमा डरले चिसो पसेको थियो । अघिल्लो दिनबाटै माटो बग्न थालेपछि कतै घरै बग्ने त होइन भन्ने चिन्तालाई पन्छाउँदै कुलबहादुरले छोरा पवनलाई भनेका थिए, ‘नआत्ति छोरा भगवानले बचाउँछन् ।’
छोरा पवनको मात्रै होइन, छोरी ज्वाइँ अस्मितको मन पनि आत्तिइरहेको थियो । पहिरो पन्छाएर भएपनि जोखिम पन्छाउने योजना बुनेरै छोरी–ज्वाइँ आइपुगेका थिए ।
कुलबहादुरकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षीमासहित घरमा कुराकानी गरिरहेका थिए । छिमेकी र आफन्त आउजाउ गरिरहेकै थिए ।
कुलबहादुरका दाइ भोजबहादुर, भाउजु राधिका, बुहारी कोपिला पनि छलफल गरेर बसेका थिए । निरन्तर झरी परेपरिरहेकै थियो र घरभित्र पानी रसाइरहेको थियो ।
जुनसुकै बेला पहिरो आउन सक्ने भएकाले घर छोडेर अन्तै बस्ने सल्लाह पनि गरेका थिए । ‘मेरो पनि आडमै घर भयो, रातिसम्म जान भो कतै बस्न भनेको भाइले अहिलेसम्म केही भएको छैन, भोलिसम्म हेरम् भन्यो,’ भोजबहादुरले भक्कानिँदै सुनाए ।
राति सवा १० बज्नै आँटेको थियो । ठूलो भूकम्प गएजस्तो जमिन हल्लियो, गटटटट् आवाज निस्कियो । के भयो भन्ने निधो गर्न नपाउँदै पहिरो खस्यो र निमेषभरमै कुलबहादुरका परिवारका ६ जनालाई पुरिदियो ।
पहिरोले ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षीमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार ज्यान लियो । ठूलो आवाजसहित झरेको पहिरोकै कारण हाताहातीमा आफन्त राधिका परियारको पनि मृत्यु भएको छ ।
कुलबहालुरका १७ वर्षीय छोरा पवन संयोगले बाँचेका छन् । पहिरो घरमाथि खस्दा पवनलाई ढोकाबाहिर हुत्याउँदा अलि छेउमा परेका कारण बाँच्न सकेका हुन् । ‘उनको पनि आधा ज्यान पहिरोले पुरिसकेको थियो । हामीले निकाल्यौं’ छिमेकी समेत रहेका वडा नम्बर १९ का सदस्य विकास आचार्यले भने ।
पहिरो पन्छाउँदै जाँदा पवनकी बहिनी प्रशना पनि भेटिएकी थिइन् । ‘हामीले उद्दार गरेर दुबैलाई तत्काल अस्पताल पनि पठायौं, तर प्रशनाको ज्यान गइसकेको रहेछ’ उनले भने ।
पवनको परिवारमा एक जना दिदीमात्र छिन् । जापानमा रहेकी पवनकी दिदीलाई आफन्तले खबर गरिसकेका छन् । विन्ध्येवरी माविमा कक्षा १० मा अध्ययनरत पवनको जीवनमा आकासै खसेर थिचेजस्तो महसुस गरिरहेका छन् ।
‘ठूलो आवाजसहित जमिन हल्लिएपछि घरमा ल पहिरो आयो भनेर निस्कने कुरा हुँदै थियो, पहिरो आएर थिचिहाल्यो,’ त्यसपछिको घटनाक्रम उनले व्यक्त गर्न सक्दैनन् ।
पहिरो पन्छाउनकै लागि छोरी–ज्वाइँ पुगेका थिए । स्याङ्जा अर्जुनचौपारीमा विवाह भएपछि छोरी–ज्वाइँले पोखरामा बाँच्नका लागि संघर्ष गरिरहेका थिए । छोरी प्रभाले मन्ट्वेसरीमा पढाउन थालेकी थिइन् भने ज्वाइँले किराना पसलमा ।
घर नै जोखिममा पर्ने गरी साना साना पहिरो खस्न थालेपछि छोरी–ज्वाइँ पुगेका थिए । तर, छोरी–ज्वाइँसहित ६ जनाको परिवारको एउटै पहिरोमुनि अवसान भएको छ ।
भाइ त बचाए, आमा गुमाए
कुलबहादुरको घरमै बसेर कुराकानी गरेर फर्किएको केही मिनेटमै जमिन गडगडाउँदै हल्लियो । जुनसुकै पहिरो खस्ने डरले कुलबहादुर, भोजबहादुर, कोपिलाको घरका सदस्य जागै बसेका थिए । पहिरोले भोजबहादुरको घरमा पनि धक्का दियो ।
त्यही क्रममा भोजबहादुरकी पत्नी राधिका भुइँमा ढलिन् । ‘ठूलो आवाज निस्किएको थियो, झ्याम्म पहिरो त खसिहालेछ’ भोजबहादुरले सुनाए, ‘मुटुले ठाउँ छोड्यो, बाँचिन्न क्या हो भन्ने भयो, माथिको घर त सबै पुरिसकेछ ।’
पहिरोको आवाज आउनेबित्तिकै भोजबहादुरका जेठा छोरा कुमार घरबाट बाहिर निस्किइहाले । काका कुलबहादुरको घर पहिरोले सोत्तर पारेको देखे भने, काकाका छोरा पवनले गुहार मागिरहेका थिए । कुमार र अरु छिमेकीले पवनलाई पहिरोबाट निकाले र बचाए । तर कुमारकी आमा राधिकाले ज्यान गुमाइन् ।
बेलैमा निर्णय गरेको भए हुँदैनथ्यो क्षति !
ढुंगा–माटोले बनेको कुलबहादुरको घर लगातारको झरीको असरले रसाउन थालिसकेको थियो । घरमाथिबाट स–साना पहिरो खसिरहेको थियो । छिमेकी मनबहादुर क्षेत्रीका अनुसार घर नजिकै यति ठूलो पानीको मूल कहिल्यै फुटेको थिएन ।
घर नै जोखिममा परेपछि आफन्त, छिमेकी र शुभचिन्तकले कुलबहादुरलाई केही समय अन्यत्रै बस्न आग्रह गरेका थिए । तर यस्तो ठूलो पानी यसअघि पनि परेकाले केही नहुने बताए । समयमै सुरक्षित स्थानमा जान गरेको आग्रहलाई बेलैमा नसुन्दा ठूलो मानवीय क्षति बेहोर्नुपरेको आफन्त, छिमेकी दुखेसो छ ।
‘केही दिन अरुकै घरमा बसौं भनेकै हो, तर उसले १/२ दिन हेरम् भनेर मानेन । आज यो दिन देख्नुपर्यो,’ दाइ भोजबहादुरले सुनाए । वडा सदस्यसमेत रहेका छिमेकी विकास आचार्यले पनि अघिल्लो दिन नै घरै पुगेर जुनसुकै बेला ठूलो पहिरो जान सक्ने भएकाले नबस्न आग्रह गरेको सुनाए ।
छिमेकी मानबहादुरले पहिरो जानसक्ने उत्तरतर्फको जमिन देखिने गरी बत्ति जडान गरेका थिए । ठूलो आवाज सुनेपछि चिच्याएका पनि थिए । उनकै घरको ढोकाबाट पनि पहिरोको लेदो र हिरो छिरेको छ । तर उनको घर पक्की भएकाले ठूलो क्षति भएन ।
अब पनि जुनसुकै बेला फेरि पहिरो जानसक्ने भएकाले घर खाली गरेर आफन्तको शरण लिएका छन् ।
ठूलो पानी परेसँगै केही दिन आफूहरु निदाउन नसकेको र जुनसुकै बेला पहिरोले पुर्न सक्ने त्रासमा बसेको सुनाए । ‘बेलैमा घर छोडेको भए, त्यत्रो क्षति नहुने रहेछ, उनले गहभरी आँसु पार्दै भने, ‘असल थिए तर एउटा सानो छोरामात्र बाँच्यो ।’