Wednesday, November 27, 2024
घरसमाचारपर्यटक दौड प्रतियोगितामा जर्मनका डेविड नर्धोफले जिते उपाधि 

पर्यटक दौड प्रतियोगितामा जर्मनका डेविड नर्धोफले जिते उपाधि 

पोखरा । विदेशी पर्यटकहरूलाई लक्षित गरी पोखरामा आज आयोजना भएको पर्यटक दौड प्रतियोगितामा जर्मनका डेविड नर्धोफले उपाधि जित्नुभएको छ । 

पोखराको फेवा किनारमा जारी १९ औँ संस्करणको फेवा नव वर्ष महोत्सव २०८१ अन्तर्गत दोस्रो दिन आज भएको उक्त प्रतियोगितामा डेविडले १२ देशका ३४ जना प्रतियोगीहरूलाई पछि पार्दै उपाधि हात पार्न सफल हुनुभएको हो । 

त्यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्स ल्यापलेस द्वितीय हुनुभयो भने रिच अष्टिनले तृतीय स्थान हासिल गर्नुभयो । 

महिलातर्फको उक्त दौडमा नेदरल्याण्डकी सिज्ने भिनस्तिया प्रथम, न्यूजिल्याण्डकी ह्यारियट म्याकेन्जी द्वितीय र बेल्जियमकी एलिन रिस्की तृतीय हुनुभयो । 

लेकसाइडस्थित हल्लनचोक (पिस प्लाजा होटल अगाडि) बाट सुरु भएको दौड ड्यामसाइड पुगी समापन भएको थियो । तीन किलोमिटर उक्त दौडमा १२ देशका कूल ३५ पर्यटक सहभागी भएको प्रतियोगिताका संयोजक हेमराज पहारीले बताउनुभयो । 

प्रतियोगितामा स्पेन, अमेरिका, नेदरल्याण्ड, म्यान्मार, इजरायल, बेलायत, अष्ट्रेलिया, फ्रान्स, जर्मन लगायतका देशका १२ जना महिला र २३ जना पुरुष विदेशी पर्यटकले प्रतियोगितामा भाग लिनुभएको थियो ।  

प्रथम हुनेले पोखरा अल्ट्रालाइटका तर्फबाट अल्ट्रालाइट फ्लाइट, होटल ग्लेसियरमा खाना र बास, सिइङ ह्याण्ड्स ब्लाइन्ड मसाज क्लिनिकका तर्फबाट निःशुल्क मसाज, मायाको चिनो र प्रमाणपत्र पुरस्कार गर्नुभयो । 

यसैगरी द्वितीय हुनेले अन्नपूर्ण प्याराग्लाइडिङका तर्फबाट आधा घण्टाको उडान, ब्यञ्जन बार एण्ड ग्रिलको तर्फबाट रातको खाना, मायाको चिनो र प्रमाणपत्र पुरस्कार स्वरूप प्राप्त गर्नुभयो । तृतीय पुरस्कार स्वरूप निःशुल्क टिसर्ट र निःशुल्क मसाज सेवा प्रदान गरिएको थियो । 

रन फर फन नाम दिइएको प्रतियोगिताका विजेतालाई पोखरा महानगरपालिका वडा १७ का अध्यक्ष राधिका कुमारी शाही, महोत्सव आयोजक होटल सङ्घ पोखरा नेपालका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदी लगायतले पुरस्कार वितरण गर्नभयो । 

फेवा महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेको छ । महोत्सवमा दर्शकहरू आउने क्रम बढ्दो रहेको आज विशेष कार्यक्रमहरू रहेको सङ्घका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले बताउनुभयो । 

नेपाली नयाँ वर्षलाई विशेष बनाउन आफूहरूले सडकदेखि पोखराका पर्यटकीय स्तरीय होटलमा २० प्रतिशत छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -