Wednesday, November 27, 2024
घरसमाचारप्रधानमन्त्री रोजगार कार्यक्रमबाट जुम्लामा १५ सयलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट जुम्लामा १५ सयलाई रोजगारी

जुम्ला। जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत १२ हजार बढी युवा युवति बेरोजगारका रुपमा सूचिकृत भएपनि १५ सय जनाले मात्रै सय दिनको रोजगारी पाएका छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा जुम्लाका आठ स्थानीय तहबाट कुल १२ हजार दुई सय १४ जना युवा बेरोजगार सूचिकृत भएका थिए । जसमध्य एक हजार पाँच सय २६ जनाले मात्रै रोजगारी पाइएको हो । २०७५ फागुन ११ गतेबाट सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्ने,दक्ष तथा सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारीको प्रवर्द्धन,नीजि क्षेत्रसँग सहकार्य गरी बेरोजगारी न्युनिकरण,रोजगार केन्द्रित आवश्यक नीतिगत र संरचनात्मक व्यवस्था गर्ने,र सार्वजनिक पूर्वाधारहरूको निर्माण,स्तरोन्नति र विस्तारमा योगदान गर्ने उद्देश्य राखिएको छ ।

सोहीअनुसार स्थानीयतहमा रोजगारी प्रदान गर्नु पहिले बेरोजगार सूचिकृत गर्ने प्रावधान छ । तर सूचिकृत मध्यबाट थोरैले मात्र रोजगारी पाउने गरेका छन् । जसका कारण सूचिकृत भएका अधिकांश युवा रोजगारी नपाउँदा पलायन हुन बाध्य छन् । बेरोजगारका रुपमा सूचिकृत हुँदा पनि स्थानीयतहमा रोजगारी नपाउँदा जुम्लाका सयौँ युवाहरू कालापहाड (भारत) कमाउन गएका छन् ।

जुम्लाका आठ पालिकाको गत आव २०७९/८० को तथ्याङ्क हेर्दा कुल १२ हजार दुई सय १४ जना बेरोजगार सूचिकृत भएकोमा १५ सय २६ जनाले मात्रै रोजगार पाएको देखिन्छ । जुम्लाका आठ स्थानीयतह मध्य पातारासी गाउँपालिकामा कुल १२ सय ३५ जना बेरोजगार सूचिकृत भएकोमध्ये एकसय जनाले मात्रै रोजगारी पाएका छन् । पातारासीमा महिला ७४७,पुरुष ४८८ जना बेरोजगारमा सूचिकृत भएका थिए ।

कनकासून्दरी गाउँपालिकामा दुई हजार २५ जना सूचिकृत भएकोमा दुई सय ९९ जना,सिंजामा १५ सय ७७ जना सूचिकृत हुँदा दुई सय ९६ जना,चन्दननाथ नगरपालिकामा ६७३ जना बेरोजगार सूचिकृत भएकोमा ७२ जनाले मात्रै रोजगारी पाएका छन् । त्यस्तै,गुठिचौर गाउँपालिकामा एक हजार १५ जना सूचिकृत मध्य दुई सय २० जना,तातोपानी गाउँपालिकामा १६ सय १५ जना सूचिकृत हुँदा १६२ जना,तिला गाउँपालिकामा १८ सय ५६ जना सूचिकृत भएकोमा एक सय ६४ जना र हिम गाउँपालिकामा २२ सय ५४ जना बेरोजगारका रुपमा सूचिकृत हुँदा दुई सय १३ जनाले मात्रै रोजगारी पाएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रगति विवरणमा उल्लेख छ ।

यसैबीच गत आवमा जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८४ वटा योजना निर्माण भएका छन् । यो कार्यक्रमबाट विशेषगरी घोरेटो बाटो,पर्खाल निर्माण,घेराबार,सिँचाई कुलो मर्मत,तटबन्धन जस्ता काम हुने गरेका छन् । जसमा पातारासीमा ७, कनकासुन्दरीमा १६, सिंजामा ११,चन्दननाथमा १०, गुठिचौरमा ५, तातोपानीमा १४, तिलामा १३ र हिमामा ८ वटा गरी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८४ योजना निर्माण भएका हुन् ।

बेरोजगारका रुपमा सूचिकृत हुनेमा महिला ६ हजार ७७९ जना र पुरुष ५ हजार ४३५ जना रहेका छन् । बेरोजगार सूचिकृत भएपनि रोजगार नपाउने समस्याले युवाहरू पलायन हुने र प्रायः महिलाहरूले काम पाउने गरेका छन् ।

सरकारले आफै सूचिकृत गरेका युवा युवतिलाई रोजगारी दिन नसकेकै कारण नेपालबाट युवा पलायन थामिनसक्नु छ । तर तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिकाका विभिन्न कार्यक्रम र विकास निर्माणमा सूचिकृत बेरोजगार युवालाई प्राथमिकता दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पालिकाका हरेक विकास निर्माण र सिपमूलक तालिममा सूचिकृत युवालाई पहिलो प्राथमिकता दिँदै आएका छौ । हालै किर्डाक नेपालद्वारा सञ्चालित मोबाइल रिपेरिङ,सिलाईकटाई,फर्निचर,पलम्वीङ लगायतका तालिममा सूचिकृत युवा बढी छन् ।’

सरकारले सूचिकृत भएका सबै युवालाई न्यूनतम सय दिनको रोजगारीमा खटाउने नीति र बजेटको व्यवस्थापन गरेमा सहज हुने पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहरा बताउनुहुन्छ । स्रोत अभावले सूचित भएका सबै युवालाई रोजगारी दिन नसकिने समस्याले गर्दा अन्य विकास निर्माणमा छुटेका युवालाई जोड्ने प्रयास गरिरहेको उहाँको भनाई छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -