Thursday, July 18, 2024
घरसमाचारदेशभरका विद्यालयलाई खेलकुदसँग जोड्नुपर्छ

देशभरका विद्यालयलाई खेलकुदसँग जोड्नुपर्छ

पहिले-पहिले के भनिन्थ्यो ?

खेलकुदमा लाग्यो भने पढाइमा बाधा पुग्छ । विद्यालयको किताबभन्दा दायाँबायाँ ध्यान दिन हुँदैन ।

अहिले के भनिन्छ ?

पढाइका साथै खेलखुद जरुरी छ । खेलकुदले पठनपाठनलाई थप प्रभावकारी बनाउँछ ।

समय १८० डिग्रीमा बदलिएको छ । सोच र चिन्तन पनि । त्यसैले त अहिले विद्यालय तहमा खेलकुदलाई कसरी अभिन्न रुपले जोड्ने भन्ने चिन्तन गर्न थालिएको छ । यसले खेलकुदलाई ‘अतिरिक्त गतिविधि’ मात्र नभई ‘अनिवार्य’ बनाउनुपर्छ भन्ने अभ्यास सुरु भएको छ । यो अभ्यास जेभियर इन्टरनेसनल स्कुलमा देख्न पाइन्छ ।

आजभन्दा १५ वर्षअघि नै म जेभियर इन्टरनेसनल स्कुलसँग जोडिएँ, स्पोर्ट्स कोअडिनेटरको रुपमा । खेलाडीलाई नै प्रत्यक्ष रुपमा संलग्न गराउँदा विद्यार्थीहरुमा खेलकुदप्रति अभिरुचि बढ्ने मात्र नभई सही मार्गदर्शन पनि पाउँछ भन्ने ध्येय हुनसक्छ ।

पहिले विद्यालयमा शिक्षक वा पढाउने जनशक्ति मात्र जरुरी ठानिन्थ्यो । अहिले पाठ्यपुस्तक पढेर मात्र विद्यार्थीको सम्पूर्ण क्षमता विकास हुँदैन भन्ने तथ्य बोध भएको छ । यही कारण उनीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद, कला–साहित्य, सूचना–प्रविधिलाई प्राथमिकतासाथ समावेश गर्न थालिएको छ ।



कुनै विद्यार्थी क्रिकेट खेल्न रुचाउँछन्, कोही कविता लेख्न, कोही नेतृत्व गर्न, कोही अभिनय गर्न । यी फरक रुचिका विद्यार्थीलाई सोही अनुरुप क्षमता विकास गर्नु उपयुक्त हुन्छ । यसका लागि पठनपाठनसँगै खेलकुद जस्ता गतिविधिलाई जोड दिनुपर्छ भन्ने मेरो बुझाइ हो ।

खासगरी खेलकुदबाट जुन किसिमको प्रशिक्षण वा अनुभव प्राप्त गर्छन्, त्यसलाई उनको लेखपढसँग कसरी जोड्न सकिन्छ भनी हेर्न थालिएको छ । यो पढाइ भन्दा भिन्न होइन, बरु पढाइकै एउटा अंश हो ।

मेरो व्यक्तिगत अनुभव के हो भने खेलकुदले नेतृत्व र रणनीतिक क्षमता विकास गर्छ । अनुशासनको पालना गर्न प्रेरित गर्छ । सामूहिक काम गर्ने तौरतरिका सिकाउँछ । पाठ्यक्रमसँगै यी कुराहरुलाई अगाडि लैजान सकियो भने पठनपाठन पृथक र दिगो हुन्छ ।

यसरी खेलकुदको सिकाइलाई पढाइको सिकाइसँग कसरी तालमेल मिलाउन सकिन्छ भनेर अहिले हामी गृहकार्य गरिरहेका छौं ।

खेलकुदबाट के सिक्छन् ?

खेलकुदबाट प्रत्यक्ष लाभ भनेको शारीरिक स्वास्थ्य वा तन्दुरुस्ती हो । त्यसबाहेक यसले रणनीतिक क्षमताको विकास गर्छ । नेतृत्व कला सिकाउँछ । सामूहिक सहकार्यको भावना जगाउँछ । समय  व्यवस्थापनको तरिका बुझाउँछ । शीघ्र निर्णयको गुण विकास गर्छ ।

हुन त यस्ता कुरा पाठ्यपुस्तकमा पनि पढाइन्छ तर त्यो सैद्धान्तिक हुन्छ । खेलकुदले चाहिं प्रयोगात्मक रुपमा यी कुराहरु सिकाउँछ । किताबमा हामी नेतृत्वको परिभाषा त पढ्छौं तर खेलकुदबाट त्यसको व्यावहारिक प्रयोग गरिरहेका हुन्छौं ।

खेलाडी नै बन्नुपर्छ भन्ने छैन

कक्षाकोठाबाट खेल मैदानमा प्रवेश गराउनासाथ विद्यार्थीको उत्साह दोब्बर बढ्छ । उनीहरु खेल्न, उफ्रिन थाल्छन् । यसबाट के प्रष्ट हुन्छ भने खेलकुदमा सबैजसोको रुचि हुन्छ । कसैलाई भलिबल, कसैलाई क्रिकेट, कसैलाई बास्केटबल, कसैलाई टेबल टेनिस, कसैलाई क्रिकेट । अरु पनि थुप्रै खेल हुनसक्छन् ।

यसरी खेलकुदमा लागेपछि सबै विद्यार्थी खेलाडी नै बनेर निस्कनुपर्छ भन्ने छैन । विद्यालय तहमा जब खेलकुदलाई प्राथमिकता दिन थालिन्छ, यसले उनीहरुको सिकाइलाई अरु आयामिक र प्रभावकारी बनाउँछ ।

अहिले यसै पनि बालबालिकाहरुको शारीरिक गतिविधि कम भएको अवस्था छ । फुर्सदको समय ल्यापटप, मोबाइलमा झुम्मिएका हुन्छन् । सहरी क्षेत्रका बालबालिकालाई घरमा खेल्ने अनुकूलता पनि उतिधेरै छैन । शारीरिक सक्रियताका लागि पनि उनीहरुलाई खेलकुद जरुरी हुन्छ । सबैलाई थाहा भएकै कुरा हो, शारीरिक सक्रियताले मानसिक स्वास्थ्यमा पनि फाइदा गर्छ ।

मलाई लाग्छ, हरेक बच्चाले जीवनमा पढाइका साथै आफ्नो रुचिलाई पनि पहिल्याउनुपर्छ । आफ्नो सौखलाई पनि साथै अगाडि बढाउनुपर्छ । कोही गाउँछन्, कोही नाच्छन्, कोही खेल्छन् । यसलाई वैकल्पिक करिअरको रुपमा विकास गर्नुपर्छ ।

खेलकुदमा भविष्य बनाउनेलाई उर्वर धरातल

विद्यालयमा खेलकुदलाई प्राथमिकताका साथ जोड्न सकियो भने यसले राज्यका लागि कुशल खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउँछ ।

एउटा गतिलो उदाहरण हो श्रीलंका । हामीभन्दा सानो देश हो, तर विश्व च्याम्पियन छ क्रिकेटमा । कारण चाहिं उनीहरुको विद्यालयमा क्रिकेट छिरेर हो । विद्यालयमा क्रिकेट मैदान अनिवार्य गरेको कारण हो । त्यहाँ सन् २००६-००८ तिर विद्यालय स्थापना गर्दा खेल मैदान हुनैपर्ने व्यवस्था गरियो । यसरी विद्यालयमै पूर्वाधार भएपछि बालबालिकाले खेल कौशल बढाउन पाए । श्रीलंकाको विद्यालयमा क्रिकेटको अभ्यास जति लोभलाग्दो ढंगले भयो, त्यो विश्वमै चर्चा पाएको एउटा शीर्षक हो ।

हामीले श्रीलंकाबाट सिक्न सक्छौं । किनभने हामीकहाँ व्यावसायिक खेलाडी उत्पादन गर्ने स्पोर्ट्स एकेडेमीहरु छैनन् । आफ्नै बलबुतोमा खेलाडी भएका छन् र राज्यको झण्डा ओढेर मैदानमा उत्रिएका छन् ।

यसरी खेलकुदमै भविष्य बनाउन चाहनेहरुका लागि विद्यालय तहबाट सिक्ने अनुकूलता भए त्यसको नतिजा नै बेग्लै हुनसक्थ्यो । हाम्रो ओलम्पिकको सपना, विश्वकपको सपना पूरा गर्नका लागि यस्तो धरातल निर्माण हुनुपर्छ खेलकुदमा ।

विद्यालय तहदेखि नै खेल्न सुरु गरेपछि उनीहरुको खेल क्षमता बढ्ने त भयो नै लक्ष्य पनि स्पष्ट हुन्छ । कुनै पनि खेलमा रुचि राख्ने र त्यसैमा भविष्य बनाउन इच्छा राख्ने विद्यार्थीलाई अभिभावकले, विद्यालयले, शिक्षकले थोरै मात्र सहयोग गरिदिए पनि त्यसले ठूलो अर्थ राख्छ । यसका लागि विद्यालय भन्दा राम्रो ठाउँ अरु हुन सक्दैन ।

यसका लागि के गर्नुपर्छ त ?

मूलतः तीन कुरामा जोड दिन जरुरी छ । पहिलो भनेको हरेक विद्यालयमा खेलकुदका लागि पर्याप्त भौतिक पूर्वाधार विकास गर्नुपर्छ । खेल सामग्री मात्र भएर पुग्दैन, अभ्यास गर्नका लागि खेल्ने ठाउँ पनि चाहिन्छ । दोस्रो भनेको पाठ्यक्रममा खेलकुदलाई समावेश गर्नुपर्छ । यो भनेको सैद्धान्तिक मात्र होइन प्रयोगात्मक पनि हुनुपर्छ । तेस्रो चाहिं यी विद्यालयमा खेल शिक्षक र प्रशिक्षक राख्नुपर्छ । उनीहरुले कुनै पनि बच्चाको खेल कौशललाई थप निखार्न सक्छन् ।

यस्तो अनुकूलता पाएका विद्यार्थीले खेलकुदमा एकदमै राम्रो प्रगति गर्न सक्छन् । उनीहरु खेलाडी बन्न सक्छन् । खेलबारे थप खोज अध्ययन गर्न सक्छन् ।

(नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दाससँगको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -