काठमाडौँ/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै सात किलो लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षा निकायका अनुसार थाई एयरमार्फत बैंकक हुँदै काठमाडौं आएका २७ वर्षीय भिसाक भिजयन नामक युवकलाई नियन्त्रणमा लिइएको हो।
सुरक्षा प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भिजयनको साथबाट ६ किलो ९७० ग्राम गाँजा बरामद गरिएको हो। उनी राति नेपाल प्रवेश गरेका थिए, र लगेज चेकिङका क्रममा गाँजा भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका भिजयनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा पठाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।