२०८२ बैशाख १६ गते, मंगलवार १५:११

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा एक गम्भीर लापरवाहीको घटना सार्वजनिक भएको छ। शुद्ध शाकाहारी भोजनको आशामा सो रेष्टुरेन्टमा पुगेका एक ग्राहकलाई दिइएको दालमा चिकेनको हड्डी भेटिएको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आक्रोश देखिएको छ।

शाकाहारी धर्म, विश्वास र जीवनशैली अंगीकार गरेका ती ग्राहकले जब दालमा मांसजन्य वस्तु देखे, तब उनले त्यसबारे वेटरलाई जानकारी गराए। तर, वेटरले गम्भीरतापूर्वक क्षमा माग्नु त परै जाओस्, “अरु दाल ल्याई दिन्छु” भन्दै लापरवाहीपूर्ण जवाफ दिए। उक्त जवाफसहितको भिडियो अहिले फेसबुक, टिकटक र इन्स्टाग्राममा भाइरल भइरहेको छ।

धार्मिक आस्था र उपभोक्ता अधिकारमाथि चोट

नेपालको बहुसंख्यक हिन्दू र बौद्ध समुदाय शाकाहारी भोजनप्रति आस्थावान् छन्। त्यस्तोमा दालजस्तो बिनासन्देह शाकाहारी परिकारमा मांसजन्य वस्तु मिसिनु न केवल गम्भीर लापरवाही हो, यो धार्मिक आस्थामाथिको खुला अपमान समेत हो।

पुनरावृत्ति लापरवाही: विगतमा पनि जरिवाना

यो पहिलो पटक होइन। सेप्टेम्बर २३, २०२४ मा, वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभाग ले शान्तिनगरस्थित जिम्बू थकाली लाई ३ लाख रुपैयाँ जरिवाना गरिसकेको छ। कारण? ३५ रुपैयाँ अंकित मूल्य भएको मिनरल वाटरलाई १०० रुपैयाँ मा बेचेको पाइएपछि यो कारबाही गरिएको थियो।

कानूनी दृष्टिकोणबाट यस्तो लापरवाही कति जायज?

नेपाल उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कुनै पनि खाद्यपदार्थमा मिसावट, मिलावट वा झुटो सूचनाद्वारा ग्राहकलाई भ्रममा पारिएको खण्डमा ती व्यवसायीलाई कारबाहीको व्यवस्था गरिएको छ। यस घटनामा पनि उपभोक्ताले चाहेमा उपभोक्ता हित संरक्षण मञ्चमा उजुरी दिन सक्ने अधिकार राख्छन्, जसबाट दोषी संस्थालाई जरिवाना वा दण्डको कारबाही हुन सक्छ।

के प्रशासन सुनिरहेको छ?

अब प्रश्न उठेको छ— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नगर प्रहरी र काठमाडौं महानगरपालिकाले यसबारे के अनुसन्धान थालेका छन्? केवल माफी मागेर वा अर्को प्लेट ल्याएर यस्तो संवेदनशील विषय छोपिन सक्दैन।

समाजको सवाल, न्यायको माग

धार्मिक आस्था र उपभोक्ता अधिकारमाथि खुलेआम प्रहार गर्ने यस्ता संस्थामाथि सशक्त कानूनी कारबाही नहुँदा यस्ता घटनाहरू फेरि दोहोरिन सक्छन्। समाजले प्रश्न गरिरहेको छ— के यो सस्तो माफीसँग टुंगिन दिनुहुन्छ, कि अब कानूनी प्रतिकार हुन्छ?

जिम्बू थकालीमा ग्राहक सँग कुरा गर्दै त्यहाँका वेटर

प्रतिक्रिया लेख्नुहोस्