संभवतः हामी आफ्नो विद्यालयको खुला चौरमा पढ्ने अन्तिम पुस्ता र कक्षाकोठाभित्र पढ्न पाउने पहिलो पुस्ता हौं। उहिले अर्थात् २०३० सालताका पढ्ने कुरा सहज थिएन। पहिलो कुरा त नजिक विद्यालय थिएनन्। दोस्रो कुरा खेतीपाती बाहेक जीविकाको अन्य विकल्प नभएकोले विद्यालय जाने अवसर कमैलाई मिल्थ्यो। गए पनि घरको कामको चाँजोपाँजो मिलाएर जानुपर्ने।
पाँच सात गाउँको माझमा एउटा विद्यालय हुन्थ्यो त्यो पनि नाममात्रको। विद्यालय पनि कसरी भन्नु जहाँ कक्षाकोठा, कालोपाटी र टेबल–कुर्सीको कुरा त परै जाओस् भवनसम्म पनि थिएनन्। पढाइ प्रायः खुला आकाशमुनि चौरमा र हद भए चौतारा र पाटीमा हुन्थ्यो। हामीलाई अलि भाग्यमानी नै मान्नुपर्छ। हाम्रो विद्यालय भनिने डाँडामा लहरै चार पाँच वटा बर–पीपल चौतारीहरू, अनि नजिकै कालिका मन्दिर र शिवालय थिए जसले घाममा छायाँ र वर्षामा ओत दिन्थे। यिनै थिए हाम्रा विद्यालय भनेनि जे भनेनि हाम्रो स्कूल गज्जबले चलेको थियो।
जाडोमा पारिलो घाममा र गर्मी याममा चौतारीको शीतल छहारीमा बसी पढ्न छुट्टै आनन्द आउँथ्यो। चैत–वैशाखमा चौरमा बसेर गुरुले पढाउँदै गर्दा नजिकै वनमा कराएको कोइलीको कुहू कुहू र ढुकुरको ढुकुर कुरकुर सुन्न पाइने। वातावरण नै मनमोहक पढौं पढौं जस्तो। हिउँदमा घाम लागे त चौरको पढाइ राम्रै हुन्थ्यो तर बदली परेको बेला कठ्यांग्रिने चिसोले कक्रक्कै पार्ने। पढाइ हुने डाँडामा र डाँडाको सामुन्ने उत्तरतर्फ अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको लहर देखिन्थे। देख्नेलाई त गज्जबै थियो तर कहिलेकाहीं भोग्नेलाई अलि कठिन। पुस्तकमा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाहरूको मनमोहक सौन्दर्यको वर्णन पढ्दै गर्दा हामीलाई भने त्यहींबाट करेन्ट जस्तै वहेर आएको सिरेटोले पातलो कमिज र भोटो छेडेर मुटु काँप्ने गरी हिर्काउँथ्यो। त्यो पातलको कपडामा अहिले भएको भए एकदिनमै निमोनिया भइसक्थ्यो।
हिउँदमा पानी परेको भोलिपल्ट तुँवालो फाटेको बेला हिउँचुली त यहींनिर आए जस्तो। दगुर्दै गएर एकछिन हिउँ खेलेर आउन पनि सकिएला जस्तो लाग्ने। अझ कहिले त हिउँ सिक्लेस र ताङ्गतिङ्ग गाउँ छिचोलेर थुमाको डाँडासम्म ढाक्न आइपुग्दथ्यो। अब त यी कुरा नपत्याउने दन्त्यकथा जस्तै भए। हिउँ तल झर्ने कुरा त परैजाओस् हिजो सेताम्मे देखिने हिमशृङ्खलाहरू अहिले कालापत्थर जस्ता देखिन थालेका छन्। यसमा प्रकृतिको नभएर दोष त हामी मानव जातिकै हो।
जंगल नजिकै भएकोले फागुन–चैत महिनामा हाफ छुट्टीमा दगुर्दै गुराँस टिप्न गएको फर्किंदा ढिलो भएर कुटाइखाएको हिजै जस्तो लाग्छ। तर जति कुटाइ खाए पनि बानी सुध्रने भए पो भोलिपल्ट फेरि उस्तै। वर्षायाममा भने गड्याङ्ग गरेर आकाश गर्जिनासाथ डर लागिहाल्ने फेरि चैत–वैशाख र जेठ महिनाभरी असिना सहितको वर्षा हुने। कतिपटक त पढाइ भइरहेको बेला कतैबाट ढुंगा बर्साए जस्तै लोहोरा जत्रा फुका असिनाले टाउकामा हिर्काएर टुटुल्को उठाउँथे। यसो गर्जिएर पानीका थोपा पर्नासाथ ज्यान जोगाउन मन्दिर र पाटीतिर दौडिनुपर्दथ्यो। नजिक घर हुनेहरू त दगुर्दै घर जाने र पानी विदो भएपछि आउन पनि मिल्थ्यो। अलि टाढा घर हुनेहरू कि मन्दिर र पाटी अनि नजिकका चियापसलहरूको बलेसीमा कमिलाको गोलो जसरी पोको परेर ओत लाग्नुपर्दथ्यो।
हाम्रो पढाइका धेरै कुरा सरहरूले भन्दा पनि मौसम अनि प्रकृतिले निर्धारण गर्दथ्यो। असार–साउन दुई महिना त पूरै बर्खे विदा नै भइहाल्यो। त्यसपछि विद्यालय खुले पनि वर्षायाम नसकिउन्जेल पानी पर्नासाथ किताबकापी च्यापेर भाग्ने क्रम त चलिरहन्थ्यो।
झ्याप्पै निदाउँदा कहिले कपाल चुरुर्र पोलिन्थ्यो र गन्हाउँथ्यो। कहिले ठुटे कमिजको बाहुला सल्किन्थ्यो त कहिले सिरक नै पोलिन्थ्यो
हामी घरपायकको विद्यालय हुनेलाई त यति दुःख थिए भने आठ–दश किलोमिटर परबाट खोला र जंगल काटेर विद्यालय आउनेहरूका दशा झन् कति कति। कुन बेला खाएर दौडँदै दुई अढाइ घण्टाको बाटो विद्यालय आउँदा हुन् ? बेलुका कतिवेला घर पुगेर गृहकार्य गर्दा हुन् र कुन बेला सुतेर निद्रा पुर्याउँदा हुन्? बर्खामा पानी पर्दा खोलानाला कसरी तर्दा हुन् ? अहिले संझिंदा मुटु चसक्क हुन्छ। लामो बाटो हिंडेर आउने साथीहरू बाटोमा दगुर्दै र कहिले खेतमा बाटोमा भकुण्डो र भलिबल खेल्दै रमाइलो गरी घर पुग्थे। हामी स्कूल सकेर काममा खेततिर जाँदा उनीहरू खेलेको देखेर लोभ पनि लाग्थ्यो। फेरि पनि त्यहीं परबाट आउने कति विद्यार्थी पढाइमा उत्तिकै उत्कृष्ट देखिन्थे। दैनिक सात–आठ किलोमिटर पर काउरे गाउँबाट विद्यालय आउने रुमबहादुर गुरुङ दाइ कक्षामा जहिले पनि प्रथम हुन्थे। एस्.एल्.सी. पछि ब्रिटिस आर्मीमा भर्ना भएका ती दाजुसँग ४५ वर्षपछि अस्ति भर्खर भेट भयो। धेरै कुरा उनीसँगको भेटले पनि सम्झायो।
औपचारिक डिग्री नभए पनि गुरुकुलमा पढेका सरहरू पढाउन अब्बल हुनुहुन्थ्यो। के जादु थियो त्यो बेलाको पुरानो शिक्षामा कुन्नि ! पुरानो शिक्षामा एस्.एल्.सी पास गरेका सरहरूले नयाँ शिक्षाको दश कक्षा सजिलै पढाउन सक्ने। एस्.एल्.सी. भने साँच्चिकै फलामे पर्खाल थियो त्यतिवेला। मुस्किलले अठ्ठाइस तीस प्रतिशत पास हुने। त्यो बेला नौ–दश कक्षामा नै अंग्रेजी प्रोज र पोयट्री पढाइन्थ्यो रे कतिपय हामीले कहिल्यै पढेनौं। गुरुकुलमा ज्योतिष पढेकाहरू गणित र नेपालीमा उस्तै। ज्योतिष पढेका सरहरूले अंकगणितको जुनसुकै समस्या पनि हल गर्न सकेको देख्दा हामीलाई उदेकै लाग्दथ्यो। लाग्छ त्यो बेलाको एस्.एल्.सी.को भाउ त अहिलेका बिकाउ विषयको एम्.ए.को पनि छैन।
तल्लो कक्षाको लागि एस्.एल्.सी. गरेको सर पाउनु त भाग्यकै कुरा थियो। हामीलाई चार पाँचमा गणित पढाउने सर हुनुहुन्थ्यो एक जना एस.एल.सी पास गरेको। पढाउन जति राम्रो व्यवहार भने उत्तिकै कडा। उहाँले दिएको सजाय संझिंदा अहिले पनि आङ सिरिङ्ग हुन्छ। बाँसको सिर्कनाले हानेको सुम्ला अझै छन् कि जस्तो लाग्ने। पाठ नबुझाएमा कहिले सिस्नोपानीले पोल्ने त कहिले बाँसको लठ्ठीले सुम्लो उठ्ने गरी हिर्काउने। कहिले दिनभरी कतै हलचल नगरी उभिनुपर्ने गरी सजाय दिने। विद्यार्थीलाई हप्काएरै, सजायको भय देखाएर सही बाटोमा ल्याउन सकिन्छ भन्ने त्यो वेलाको मान्यता थियो। त्यसैले त अक्षर गन्ने बानी बसाल्यो। अहिले त नपढी निद्रै नलाग्ने रोग लागेको छ।
खेतीपातीको याममा विद्यालय आउजाउ त हुन्थ्यो तर पढ्ने समय चाहिं त्यस्तै हो। पढ्नलाई सबैभन्दा उपयुक्त स्थान त बस्तुभाउ हेर्न जाँदा खेतको डिल वा जंगलमा पो हुन्थ्यो। जति कराए चिच्याए पनि कसैलाई चासो नहुने। अझ लयबद्ध कविता स्वर हालेर पढ्न पाइने। बिहान–बेलुका काम र दिनभरिको स्कूलको पढाइ उफ्राइले लखतरान परेको ज्यान सम्साँझै निद्राले झ्याप्पै समात्थ्यो। तैपनि सरहरूका कुटाइ संझिंदै टुकी बालेर गृहकार्य गर्न बस्नै पर्यो।
हावाको झोक्काबाट टुकी जोगाउनु पनि उत्तिकै सकस। कसैगरी टुकी निभ्यो भने फेरि अँगेनाको मुढो फुकेर बाल्नु पर्थ्यो। हावा नलाग्ने ठाउँ खोज्दा कि दैलो बन्द गरेर मझेरीमा कि त आँटीमा हुन्थ्यो। मझेरीमा पानी पोखिएर प्रायः चिसो हुने हुँदा आँटी नै उपयुक्त तर खतरा पनि उत्तिकै। धान कोदोको भकारी र मकैको कुन्युँ बीचको भागमा गुन्द्रीमाथि थाङ्ग्ना ओछ्याएर लगाएको ओछ्यानमा कुक्रुक्क परेर पढ्न बस्दा थकाइले लत्रक्क परेको ज्यान कतिबेला घुत्रुक्क निदाउँथ्यो थाहै नहुने। झ्याप्पै निदाउँदा कहिले कपाल चुरुर्र पोलिन्थ्यो र गन्हाउँथ्यो। कहिले ठुटे कमिजको बाहुला सल्किन्थ्यो त कहिले सिरक नै पोलिन्थ्यो। परीक्षाको बेला राति अबेरसम्म पढेर बिहान उठ्दा आँखाका कोष र नाकका प्वाल पूरै काला भएका हुन्थे। आँखा भत्भती पोल्थे। कतिले त टुकी बालेर टुप्पी कसेर पढ्छ भनेको पनि सुनिन्थ्यो कति सत्य हो थाहा चैं भएन।