पानी पिउँदापिउँदै हलिसा भुर्र उडे । पूर्वतिर फर्केको सर्बरयाजको हाँगाको टुप्पोमा गई बसे । पखेटा फट्फटाउँदै वारि–पारि हेरे । त्यसपछि ? चनाखिए । त्यसबेला फिस्टा, क्वाइय, भेक्रा (भ्याकुर), कोकलस्हाँरा घरी वल्लो डाली त घरी पल्लो रूख गरिरहेका थिए ।
स्थानीय स्कूलका सह–हेडसर र म पनि हलिसा जस्तै तिर्खाले खरास्सिएका थियौं । खर्गैराबाट ठाडै उकालिंदा थाकेका थियौं । सर्बरयाज छहारीमा एकछिन थकाइमार्यौं । सिवाली परेको बाटोमा अन्कनाएपछि करिब दुई किलोमिटर तल खर्गैरामै सह–हेडसरको मोटरसाइकल छाडेका थियौं ।
पोहोर मध्य भदौको एक मध्याह्नपख चौदिशा मुख फर्काएका सर्बरयाजका हाँगाबिंगाका पात फर्फर–फर्फर गर्दैथिए । हावा संगीतमा सुसेलिंदै साना हाँगा पैसरी नाचिरहेका थिए । भुर्र उड्दै चराले पैसरी ‘गति’ बिथोल्दैथिए । हेरें, सर्बरयाजका छिमेकी रूख (खर्सु, बाज, (पुर्से र मौ) डेम्मर, ऐयार र बुराँस (गुराँस), घोराडाली, कुकुरडाइना, गुँहेला, काफल, पिठेचौर, भला, चर्कने, फारुला, म्हाय, घङ्घारु आदि) सर्बरयाजसँगै सिङारु नाचिरहेका थिए ।
सह–हेडसरपछि म पनि बडेमानको सर्बरयाज रूख चढें । सरदर उचाइँका दुई मान्छे जति माथि पुगेपछि भेटें, बोटबाट हाँगा आ–आफ्ना बाटो लागेको ठाउँमा स्यान्स्यानो पोख्रा परेको (गाउँघरमा पोखरीलाई पोख्रा भन्छन्) । जरुवा जस्तो पानीघर । कति हाँगाले पास ओढेका थिए । कति हाँगामा पास समाएर चेम्ने उभिएका थिए त कति ठाउँमा चम्पा ।
पानीमा रयाजका पात र पास पौडिरहेका थिए । सर्बरयाजले आफ्नो छातीमा पानी सँगालेर साँचेको थियो ।
‘हेर्तो बड्डा, पानी कति सफा रहेछ है’— सह–हेडसरलाई भनें ।
म्हायको पात टपरी बनाएँ, पानी उघाएँ । तिर्खा नमेटिऊन्जेल पिएँ ।
‘कान्छा, जा तो म्हाय पातमा पानी लेन्जा’ पिउँदाखेरिको घुटुक्–घुटुक् आवाजको गला घाँस्दै जेई (आमा)को आवाज सुनें ।
जेईसँग कहिले सोत्तर सोहोर्न त कहिले घाँस काट्न र कहिले दाउरा काट्न त कहिले च्याउ खोज्न सर्बरयाज पुग्दा यसैगरी जेईले ‘पानी लिन’ अह्राउँथिन् ।
‘कान भइया हो कि के भयो हँ ?’ मनमनै आफैंलाई सोधें ।
कान भइनु भन्नु केही भए जस्तो केही भने जस्तो आवाज आउनु थियो । तर, सुनेको ‘भ्रम’ हुनुथियो ।
हत्त न पत्त ओर्लिएँ । वरपर हेरें । न जेई सर्बरयाज छहारीमा बसी टाकुमा भाङ्ङु (शहरमा गाँजा भनेर चिनिने गाँजाको रेसा) धागो कातिरहेकी थिइन् न त बुराँस र खर्सुको सोत्तर सोहोरिरहेकी थिइन् । न त जेईले छहारीमा बसी सुल्पालाई दायाँ खुट्टाको बूढीऔंला र चोरऔंलाको बीचमा अड्याएर आगो निकाल्न स्यानो च्हाँरेढुंगामा छड्केले हिर्काउँदै छड्के पारिरहेकी थिइन्, छट्याक छट्याक ।
झस्किएँ ।
जेईले कसरी पानी माग्नु र ? जेई त बाबैको बाटो लागिसकेकी थिइन् । र, केही दिनअघि मात्र माल्दाजु पनि हतारमा जेईबाबै भेट्न हिंडेका थिए ।
हेरें, नेपाल राष्ट्रिय नमूना स्कुल, मौलाबोटका सह–हेडसर (सहायक प्रधानाध्यापक) केशव बुढामगर वारिपारिका डाँडाकाँडालाई मोबाइलमा पाहुनालाई जसरी पर्सिरहेका थिए । त्यसपछि सर्बरयाजलाई फेरि हेरें । के सम्झेर कुन्नि ? यसरी सर्बरयाज ठिंग उभिनु नै ‘लाख’ लाग्यो । पानी–गोडाले यसरी उभिएको सर्बरयाजको पानीको सम्बन्धमा जेईले कुनै रात घोगा उधार्दै सुनाएकी थिइन्, सर्बरयाजको पानीको कहानी–
सर्बरयाजले सोच्यो, आकाशबाट झरेको पानीलाई बास दिए कसो होला ? नभन्दै एक साँझ परिरहेको पानीलाई पाहुना पर्सियो । पाहुना मेजमानी गर्यो । पानी पाहुनाको लागि छाती यति फराकिलो पार्यो कि, पानी गाग्री भयो । पानी जरुवा भयो ।
पानी र छहारी पाएका गाउँलेले सप्रेको यामानको रयाजलाई नाम दिए, सर्बरयाज । सर्बरयाज उभिएको ठाउँको नाउँ सर्बरयाज रह्यो ।
पहिले त तिर्खा मेट्न एक–दुई घन्टा पैदल दुरीका ट्वाङ, खिसाबाङ, तिर्मिरखोला, बजिन मसिनाचौर, छहराखोला कि झाँक्रीखोला ओर्लन्थे । बर्खामास भने पोख्रा र डुबिल्कामा भेला भएको पानीले काम चलाउँथे ।
पानी पिएर सर्बरयाज छहारीमा सुस्तायौं । सुस्ताउँदा सुस्ताउँदै कति चरा आए, पानी पिए । सर्बरयाजकै डाली चहार्दै गाए ।
मानिस, चरा, पानी संगमस्थल सर्बरयाजमा चलेको शीतल हावाले रूखका पात होइन, हाम्रा मन फर्फराए ।
प्राकृतिक भ्युटावर
सानोमा आमाबा, नानादाजुहरूका पुच्छर लागेर गाउँघरमा गरिने मेलापात सर्बरयाज सेरोफेरोमै सिकेको थिएँ । अघिअघि भैंसी र पछिपछि लौरे पाडा किहँडेजसरी आमाबाका पछिपछि डोको बोकी मेलापात गर्न सिक्ने गाउँघरको जीवनपद्धति सिक्ने चलन थियो । अलि ठूलो भएपछि सन्सारी नाना, भुमा नाना, झौसरी नाना, कन्दाजु, नन्दाजु, प्हार्ला साल्दाजुसँग कहिले घाँस त कहिले सोत्तर कहिले दाउरा बोकेको सर्बरयाजकै पाखापखेरा थिए । जीउबाट छुटेको पसिना पुछ्दै सर्बरयाज ढोट्राको पानी पिएको थिएँ । पसिना ओभाउँदाखेरि ठूला जति गफिदै सुखदुःख बिसाउँथे, सर्बरयाज छहारीमा हामी भुरा भने कहिले कुट्टा खेल्थ्यौं, कहिले भाले त कहिले चचर्के । त्यसबेला हामी कहिले बाज, कहिले रयाज त कहिले खुर्सुको घाँस काट्न जान्थ्यौं । खर्सु, बुराँसका सोत्तर सोहोर्न जान्थ्यौं ।
सर्बरयाजसँग सम्झना सोहोरिएर आए । त्यसपछि कानसोर लगाएँ, घँसाराले साइँला बरै गाइरहेका थिएनन् । सोत्तरेले सोत्तर सोहोर्दाखेरिको सारामसोरोम धुनमा फाँक गाइरहेका थिएनन् । पुवा र भाङ्ङु धागो टाकुमा कात्दै समाचार सुनाइरहेका थिएनन् । सँगिनी भेट भएर सन्चोबिसन्चो सुसाइरहेका थिएनन् ।
भदौरे मध्याह्न वारिपारि नजर डुलाएँ ।
दुई हजार दुई सय मिटर अग्लो छड्केधुरीको घाँटी सर्बरयाजबाट ठीक पश्चिमोत्तरमा जिलाधुरी र र्हाँक्माधुरी ठिंग उभिएका देखें । तीनधुरी वारिपारि उभिएका थिए । जिलाभन्दा अलिपर पश्चिममा उभिएको थियो, तीनबैनी ।
जिलाधुरीमा रिपिटर टावर उसैगरी उभिएको थियो । टावर रुँग्ने शाहीसेनालाई माओवादी सेनाले आक्रमण गरेको थियो ।
छड्केधुरी काटेर पाकजोरा समुद्र भेट्न जाँदैथिए । जाँदाजाँदै अलमलिए । लामो लहर खजमजियो ।
कुनै बेला जेईबाबैले सुनाएको सम्झिएँ, ‘हेर कान्छा, पाक्जोरालाई छड्केधुरी देउताले छेके ।’ र्हाँक्माधुरी काट्दा पनि देउताले छेके भन्थे । थप्थे, ‘भोग नखाई के बाटो देनन् र ?’ जेईबाबैले भोगको कुरा गरेको केही दिनपछि कहिले छड्केधुरी र कहिले र्हाँक्माधुरी तलमाथि पाक्जोरा भेटेको सुनिन्थ्यो ।
अहिले सम्झन्छु, लामबद्ध पंक्ति खजमजिएको त छलफल गर्न होला । छलफल गरेको थिए होला । भोग दिएको भनेको त उड्न नसकेका पाका पाक्जोरा खसेका हुँदाहुन् ।
सर्बरयाजबाट नजर तलतिर लागेपछि जैपा सिरान जुरेपोख्रा अडियो । जहाँ जेई थिइन् । जुरेपोख्रा र जेईको जन्मघर भएको बजिन त तारा थापे जस्तै वारिपारि थिए । जुरेपोख्राबाट जेईले आफ्नो जन्मघर बजिन देख्थिन् । मगरको आदिथलो मानिएको रुकुम मैकोटसिरान चिहानै चिहान थिए । गाउँलेले सुनाएका थिए, हुकाम माइत भएका चेलीलाई गाडिएको छ । मैकोट सिरानबाट हुकाम देखिन्थ्यो ।
संजोग ! जेई पनि आफ्नो जन्मघर बजिन देख्नेगरी जुरेपोख्रामा सुतेकी थिइन् । भलै जेई झाँक्री भएकाले मात्र बाबै र माल्दाजु जसरी झाँक्रीखोला र चुनबाङगार दोभान लगिएको थिइनन् । हिन्दु संस्कृति प्रभुत्वले झाँक्री गाड्ने चलन मात्र निल्न बाँकी थियो ।
रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ को वडा कार्यालय स्यान्गोरीछेवैको खर्गैरा देखें । जहाँ जनमुक्ति सेनाले तालिम गरेको थियो । त्यही चौरमा सह–हेडसरको मोटरसाइकल छाडेर सर्बरयाज उकालिएका थियौं ।
स्यान्गोरीबाट सीधै पारि दक्षिणपूर्व रामखुम डाँडागाउँ थियो । डाँडागाउँको कुन घर ? तग्याउन भने गाह्रो भयो । जुन घर प्रचण्डको ‘सेल्टर’ थियो । सेल्टर छाडेको केही घन्टामै शाही नेपाली सेनाले हवाई आक्रमण गरेको थियो । धन्न, सेल्टर लिएको घर मात्र घाइते भएको थियो ।
जिलाधुरीमुनि पाछाबाङ देखें । पाछाबाङको वारि राक्सेबाङ । राक्सेबाङमुनि आरखोला । आरखोलामुनि रपा । रपा सिरानमा त खानी थिए । फलाम खानी ।
उत्तरपश्चिम चिहाएँ । तीनबैनीधुरीको काखको भेरिडाँडा भने देखिएन । त्यही भेरिडाँडा त थियो, माओवादीको बहुचर्चित चुनबाङ बैठक बसेको गाउँ ।
जुरेपोख्रामुनि जैपा । जैपामुनि ओख्लेखानी र ढोट्रेखानी थिए । खानीबाट ओरालिए चुनबाङगार । गारकिनारमा ढोमै (वागमारा बजार), जहाँबाट रात्रिबस काठमाडौं गुड्थे ।
सर्बरयाज नजिकै बजिन । मेरो मामाघर । बजिनबाट ओर्लिए, ल्हाम्ढारा । झन् तल ओर्लिए, आगरढारा । धाउ गालेर फलाम निकाल्ने आगर चलाएकाले ठाउँको नाउँ नै आगरढारा । खानी र धाउ पोलेको थलामा किटै किट थिए । गाउँले सिकारीका भरुवा बन्दुक गोली तिनै किट त थिए ।
प्राकृतिक भ्युटावर सर्बरयाजबाट टाढाटाढा देखिन्थे ।
सर्बरयाजका छाउली कि चुनबाङसिरान तीनबैनीधुरीमा थिए कि सिलखर्क काटेर पुगिने ढाङढुङमा । जो कम्तीमा दुई–तीन घन्टा पैदल दुरीमा थिए । सर्बरयाज वरपरका उसका दौंतरी त खानीले खाइसकेको थियो ।
खानीले नखाएको सर्बरयाज
जैपालाई पूर्व र रपालाई पश्चिम पारेर माझैमा चुनबाङगार बग्छ । जो मारीहुँदै भालुबाङ पुगेपछि रापती बन्छ । तिनै दुई गाउँ जैपामुनि र रपासिरानमा फलामखानी थिए ।
खानी बन्द भए । खानी र वरपरका पाखा चरन भए ।
जैपामुनि खान्ढारा जैपालीको चरन थियो ।
कहिलीकसो बाजी(हजुरबा)को पछि लागेर म पनि गाई र बाख्रा चराउन खान्ढारा जान्थें । तर, थोरैपालि ।
खानीका सुरुङमा कहिले गाई पस्थे त कहिले बाख्रा । बाजी खान्ढारामा पुगेपछि भने पुराना दिन सम्झन्थे । वारिपारि हेर्थे । त्यसपछि भन्थे, ‘हरहर थियो, खरखर थियो । तेर्छाती, मन बस्ने ठाउँ काँती थो र ? जता हेर्यो, नांगो । ह्याँनु गाईबाख्रा हक्काउने पैइयको स्यानो डिङ्ना पनि काँ पाई ?’
त्यसपछि खान्ढाराबाट नजर छड्केधुरीतिर उकाल्थे । त्यसपछि भन्थे, ‘उभ्भेको एउटा रूख थियो भने त्यही सर्बरयाज त थियो ।’
चर्दाचर्दै कहिलीकसो गाईबाख्रा पस्ने सुरुङ उख्लीखानी र ढोट्रेखानीका थिए । जैपाका ती दुई खानी सहित रपासिरानमा डाँराखानी, सेम्डेरेखानी, सेलाखानी, टाक्सेखानी बयान्निएका फलामखानी थिए । थुनीखोलाको खानी भनेर परिचित ती खानीका फलाम किन्न सल्यान र रुकुमबाट जान्थे (नवीन विभास, खानी गाउँको सवाइ कहानी, कान्तिपुर, २५ साउन २०७८) । ओदानदेखि कुटो, कोदालो भएर त्यहींका फलाम डोल्पासम्म पुग्थे । शायद पश्चिम नेपालमा पछिसम्म (२०४६ सम्म नै) चलेको उत्तरपूर्वी रोल्पाको जेलबाङ फलामखानी थियो (जेलबाङका सुकबहादुर रोकामगरसँगको कुराकानी) ।
नामी खानीका नाममा लोकमनले लोकगीत उनेका थिए, ‘थुनीखोला बाइसै आखर, धोए फलाम ।’ सिङारु टुक्काले जैपा र रपामा बाइस भट्टी जलेको कहन्थ्यो । भट्टी भनेको धाउ पगालेर फलाम निकाल्ने क्रिया थियो । त्यसबेला जैपा र रपा भेग थुनीखोला भनेर परिचित थियो । कालाशेष थुमको उक्त भेग छबीसखुवा थियो । छबीस भनेको एक सय साठी घर कुरिया । त्यो जमानामा गन्ती नै बीसबाट हुन्थ्यो । जस्तो, रुकुम (पश्चिम)को एउटा नगरपालिका नै आठबीसकोट छ ।
चन्द्रशमशेर बेलायतबाट फर्केपछि नेपालका खानी खाए । कसरी ? खानीमा पचास प्रतिशत कर लगाए । सीधै बन्द गर त भन्न भएन । पचास प्रतिशत कर तिरेर खानी चलाउने कसको हब्बा !
खानी बन्द नगरी फिरंगी बेलायतले बजार कब्जा कसरी गर्नु ? बेलायती कम्पनी सरकारले नेपाली बजार कब्जा नगरी राणाशासनले कसरी सास फेर्नु ? जंगबहादुर राणाले राणाले फिरंगी कम्पनी राजसँग गरेका कति सम्झौता चन्द्रशमशेरले बेलायत भ्रमणपछि लागू गरेका थिए । राणाशासन फिरंगी कम्पनी सरकारको अक्सिजनले त बाँचेको थियो ।
गुल्मी भार्सेका मगर खनेल भने रिन काढेर श्री ३ सरकारलाई कर घटाउन बिन्ती बिसाउन काठमाडौं पुगे (हेर्नुस्, नवीन विभास, खानी गाउँको सवाइ कहानी, कान्तिपुर, २५ साउन २०७८) ।
जैपा र रपाका खानी भने करकर गर्दै चले । यसो भन्नुको कारण थियो, विक्रम संवत् १९९३ मा जन्मेका मेरो बाबै र बाबैका भाइ मेरो काकु पनि खानीमा काम गरेका थिए । त्यसैले कर बढे पनि जैपा र रपाका खानी चले । कहिलेसम्म चले त ? भारतीय फलाम छ्याप्छ्याप्ती भएपछि जैपा र रपा खानी बन्द भएका थिए । प्रायः खानी भने पचास प्रतिशत कर लगाउनेबित्तिकै बन्द भएका थिए ।
निर्वाहमुखी नै सही (नुनमात्र किन्ने), रोल्पाका गाउँघर खानी बन्द भएपछि परनिर्भर हुँदैगए ।
…
एक सय वर्षअघिको कुरा हो ।
बाजीहरू एकाबिहानै कोदोको ढिरो खाइवरी कोदोकै रोटा बोल्ला जाबामा राखेर उकालिन्थे– कहिले गोल पोल्न त कहिले गोल बोक्न । गोल पोल्न भनेको रूख काटेर पोल्नु हो ।
खनेलका खेतीपाती थिएन । कोदो पनि बेसाउँथे । खनेलले त खानी नै खान्थे, खानी नै लगाउँथे । फलामले अन्न बेसाउने बाजीहरूले श्री ३ सरकारलाई तिरो पनि फलाम नै तिरे ।
जैपा वरपरका मझौढारा, काफलढारा, डल्लुगैरा, रप्पाताल, कुख्रागर्खने, पोस्तके, चिललेखोर लाउने, चक्लीगैरा, बजुपुज्ने, सल्लाभीर, लाम्भीर, खर्गैरा खुरुल्लै भए । गोल पोल्ने क्रममा रूख खोज्दै बाजीहरू सर्बरयाज पुगे । रूख ढाल्दै र गोल पोल्दै जाँदा एकदमै सप्रेको रयाजको पालो आयो । जुन रूखमा पानी थियो । तिर्खाएका बाजीहरूले पानी पिए ।
बगाले स्वर झर्यो, ‘यो रूख पनि ढालिम् भने हामी त तिर्खैले मर्छम् । चराचुरुंगीले पनि पानी कहाँ पेनन् ? हाम्रा शाखासन्तान के गरी बाँच्नन् ?’ पानीले सर्बरयाजलाई गोल हुनबाट जोगायो ।
त्यसबेला साँच्ची बाजीले भने जस्तै हरहर खरखर हुँदा कस्तो देखिन्थे होला, वारिपारिका डाँडा ? अहिले काला हुँदै गएका हाम्रा हिमाल जस्ता ? सर्बरयाज हेर्दै मनमा कुरा खेले । त्यसपछि खसखस लाग्यो– सर्बरयाज लगलग पनि काँपिरहेको हुँदो त उसका सङहरू जस्तै ? सङ कोही नबचेपछि ममात्र के बाँच्नु भन्यो कि ? एक्लै कसरी उभियो होला ? एक्लै कसरी सुसायो होला ? एक्लै उभिन कति गाह्रो भयो होला ? एक्लै हुँदा वैरागियो कि ?
जैपाका स्थानीय पूर्व शिक्षक तथा मेरो ठूल्दाजु (देवप्रसाद पुन) सानो छँदा (पचास वर्षअघि) देखेको सर्बरयाजको अनुहार सम्झिएथे, ‘स्यानो हुने बेला सोत्तर जान्थिम् । रयाज रूखमा एउटा हाँगा भने बाज थियो । पछि त्यो बाज सुक्यो ।’
भालुकोटबाट बसाइ सरी सर्बरयाजछेउ स्यान्गोरीमा बस्ने मोहवीर बिक (कमरेड केशव)ले सात वर्षअघि सर्बरयाजमा हल्केका ऐजेरु हटाएको सम्झिएका थिए । परिवर्तन गाउँपालिका वडा नम्बर ५ बाट कार्यपालिका सदस्य बिकले भीमबहादुर ओलीसँग मिलेर दुई वर्षअघि सर्बरयाजको जरुवा पनि सफा गरेका थिए ।
‘पातपतिंगर फालेर सफा गर्दा तामाका पैसा पनि भेटें । कति ढ्याक थिए । सफा गरेपछि ती पैसा त्यही छाड्यौं’ बिक सम्झँदैथिए, ‘पुरिंदै गएको छ । हात जाने जतिमा सफा गरेको हो । लठी हाल्दा धेरै तल पुगेन ।’
सर्बरयाज कति वर्ष भयो ? थाहा छैन ।
सर्बरयाजमुनि रहेको ट्वाङ गाउँका ८६ वर्र्षीय त्रिपन रोकामगरले आफ्नी हजुरआमाको पालामा पनि यसरी नै उभिएको सुनाएको सम्झिएथे ।
स्थानीय खसनेपाली नाम रयाज थियो । करिब दुई हजार दुई सय मिटर आसपासमा हुर्कने रयाजको नाम मानक खसनेपाली र बोटानिकल नाम के होला ? थाहा छैन ।
गाउँघरका घरका डल्लेन बनाउने काठ रयाज नै रोज्जा थियो, बस्तुभाउका रोज्जा डाले घाँस ।
…
सह–हेडसरसँग सर्बरयाज छहारीमा सुस्ताइरहेको बेला आफूले सँगालेका सम्झना सर्बरयाजले सम्झ्यो । जुगदेखि खात लागेका मानिस, वन्यजन्तु र चरा सम्झना ।
हुन पनि सर्बरयाज छहारीमै मानिस, वन्यजन्तु र चराले पसिना ओभाएका थिए । सर्बरयाज वारिपारिका महिलाहरूले मनखाएका सँगिनीहरूसँग सँगिनी लगाएका थिए । सँगिनी पूर्व लाग्दा मितिनी भएको थियो । कति मन मिलेका लोग्ने मानिसले मीत लगाएका थिए । मेलापात गएका गाउँलेले सुखदुःख बिसाएका थिए । बटुवा बिसाएथे । गाएथे । सुसेलेथे । मायालुलाई सम्झेथे । सङसँग पोखिएथे । कतिका माया सर्बरयाज छहारीमा फुलेका थिए । तरुण–तन्नेरी ठकान बसेका थिए । खासमा महिलाहरूले मेलापात गएको बेला धागो कात्दै लोकतन्त्रथलो बनाएका थिए । एकछिनका लागि किन नहोस्, छहारीमा सारा दुःख भुल्थे । सर्बरयाज छहारीमा बसी खर्सुबोट, चर्सुहाले, सर्पलोटे, थुनी, केवरी, रपा, हाइबाङ, चाख्लेडाँरा, इरिबाङ, ताहिबाङ, पुरानगाउँ, पाछबाङ रम्चाएर रमेका थिए । छहारीमा पुगेका वन्यजन्तु, चरा र मानिसको मन चङ्गा हुन्थ्यो ।
सर्बरयाजले सम्झ्यो, बर्खामास कोलोको कोलाङकुलुङमा झरी संगीतमा फुलेका रोल्पाली रैथाने गीत, स्यानीमाय । त्यसपछि मैले सम्झिएँ, जेईसँग च्याउ खोज्न आएको बेला भेटेका च्याउ । आँखामा आए– रत्याउ, निल्याउ, जवारे, भुइओर्मा, बूढीआमाको कान, सल्ल्याउ ।
के सोचेर कुन्नि, सर्बरयाजले भोङ्रा बोल्ला, बोल्लाकै पर्धनी(धोती) लगाएका भाङ्ङुवाल मानिसका हालचाल सोध्यो । जोसँग सर्बरयाजको नङमासु सम्बन्ध थियो ।
चालीसको मध्यतिर (मैले थाहा पाउँदाखेरि) पनि बाजी सहित तल्ती ठूल्बाइ, प्हार्ला ठूल्बाइ, चुनबाङे फ्वाजुले बोल्लाकै पर्धनी लगाएका थिए । बोल्लाकै गादा पारेका थिए । स्हेँला धमिनी फुबू, ओखरबोट फुबू, कान्छी र माइली बोईले बोल्ला गादा पारेका थिए । सानाठूला सबै महिलाका हातमा भाङ्ङु धागो कात्दै टाकु नाचिरहेका थिए । जुनबेला भाङ्ङु त गाँजा नाममा सरकारले प्रतिबन्ध लगाएको डेढ दशक लागिसकेको थियो । गाउँघरमा सर्वसाधारणका जीउमा भने भाङ्ङु बाँकी थियो ।
घोगा उधार्दाखेरि कहिले जेईले त कहिले बाबैले सुनाएको सिलुकजसरी सर्बरयाज सम्झना सम्झ्यो ।
सर्बरयाज सम्झनामा ठकान बस्नेहरू थिए । हुन पनि सर्बरयाज त ठकानथलो थियो । सर्बरयाजमा ठकान राख्थे ।
दुई पक्षलाई समदुरीमा पर्ने थलोमा भेट हुनु ठकान बस्नु थियो । भेटथलो थियो, ठकानथलो । फलानो गते यति बजे भेटम् भनेर चाँजोपाँजो मिलाउनु थियो, ठकान राख्नु । ठकानथलोका आधारभूत चरित्र थिए– पिउने पानी र पानी पर्दा ओतिने ओत । पानी पर्दा सर्बरयाजले ओत्थ्यो, तिर्खा लागे सर्बरयाजमै पानी थियो ।
ठकान बस्ने कति कति मीत थिए त कति सँगिनी । कति छोट्टे र छोट्टी थिए । कति छोट्टेछोट्टीले त सर्बरयाज छहारीमै मन परापर गरी घरजम बसाएका थिए । कति चेलीले सर्बरयाजमा सँगिनी लगाएका थिए ।
सर्बरयाजले सम्झ्यो, घँसारा, सोत्तरे र दाउराली । कति निमाङका थिए, कति ट्वाङका । कति राङ्कोटका थिए त कति ढाङढुङगारका । कति जैपाका थिए कति रङनामका । कति बजिनका थिए त कति ल्हाम्ढारा, ट्याम, जुमाराङ्सी, भालुकोट र खिसाबाङका ।
त्यसपछि सर्बरयाजले सम्झ्यो, भाङ्ङु र पुवा धागो कात्दै सुखदुःख बिसाउने जेईहरूलाई । तिनले सुनाएका समाचार सम्झ्यो । तिनले धागो कात्दै मनका बह पोख्ने, मन माझामाझ गर्ने सर्बरयाज लोकतन्त्रथलो थियो ।
जेई एक थिइन्, सर्बरयाजको छहारीमा बसेर धागो कात्दै सम्झना सुनाउने । आफ्नो माइती गाउँ बजिन हेर्दै माइतको तिर्सना मेट्ने ।
सर्बरयाजले सम्झ्यो, आफ्नो छहारीमा बसी धागो कातिरहेका तिनै जेईहरूलाई । कहिले भाङ्ङु त कहिले पुवा (अल्लो)को धागो कात्दै सुखदुःख बिसाइरहेकाहरूलाई । ती महिला कति जैपाका थिए कति बजिनका । कति खिसाबाङ त कति निमाङ त कति ट्वाङका । धागो कात्दै सर्बरयाजमा बिसाउँथे । सोत्तर सोहोर्ने राङ्ङे, दाउरा चाँच्ने डोका, घाँस बाँध्ने घुर्रेबर्रे भुइँमा राख्थे । धागो कात्दै उकालिएका तिनले पसिना ओभाउँथे, सर्बरयाज छहारीमा । तिनका हातमा टाकु घरी सिङारु त घरी स्यानीमाय रैथाने गीतमा नाच्थे । नाचको गतिसँगै टाकुमा कुक्री मोटाउँथे भने गादामा राखेको भाङ्ङु मुठा दुब्लाउँथे ।
सुल्पामा कक्कर भर्थे । धुवाँसँगै उनका दुःख पनि माथिमाथि उड्थे । पति कालापार गएका, छोरा कालापार गएका, नुन लिन गएका समाचार सुनाउँथे । तिनका सम्झनासँग आफ्नो पनि मिसाएर सर्बरयाजले सम्झना सँगालेको थियो ।
पसिना ओभाएपछि कातिरहेको धागो पनि गादामा राख्थे । फाटाफाट हुन्थे । कोही सर्बरयाजको तलतिर लाग्थे कोही मास्तिर त कोही परतिर । कोही सोत्तर सोहोर्थे । कोही दाउरा त कोहीले घाँस काट्थे । गीत गाउँदागाउँदै काम गर्थे, काम गर्दागर्दै गीत गाउँथे । ती गीत, साइँला बरै थिए । स्यानीमाय थिए । गीतबाट नै माइती सम्झना गर्थे । कालापार (भारत) गएका पतिको सम्झना गर्थे । अविवाहितले आफ्ना प्रेमी र प्रेमिका सम्झन्थे । काम गर्दागर्दै ती गीतमै पोखिन्थे, गीतमै थोपिन्थे ।
एक–डेढ घन्टापछि आवाज आउन थाल्थ्यो–
‘भारी पुरायौ आमाजू ?’
‘नफाल्जाए, म निम्थ्यो भयो ।’
‘सर्बरयाजमा कक्कर भर्दै गर । म आएँ है ।’
गीत तालमा काम सकी सर्बरयाज छहारीमा फेरि भेला हुन्थे । धागो कात्दै कुरा गर्थे । यस्तै १२ बजेतिर भन्थे, ‘ताहिबाङ ओइपा आइगे । जाम् ।’
राङ्ङेमा सोत्तर, डोकोभरि दाउरा र घुर्रेबर्रेमा बाज वा खर्सु वा रयाजको घाँस बोकेर ओरालिनेका लर्कन लाग्थ्यो ।
जैपा, खिसाबाङ, ट्वाङ, निमाङ, राङ्कोट, बजिन, रानीकोट, रङ्नामको बर्खे संगमस्थल सर्बरयाज । रोल्पाली रैथाने गीत गुन्जनथलो ।
मौलाबोट प्रधानिन बोईले स्यानीमाय गीतसँगै जेईले गाएका लोकगीत पनि सर्बरयाजले सम्झ्यो । रोल्पाका रैथाने गीत कहिले साइँला बरै सम्झ्यो, घरी फाँक त घरी बनगारी, घरी सिङारु । तिनले गाएका गीत सर्बरयाजले मनमा खोपेको थियो । फेरि ती गीतमा कहिले हाँसेको सम्झ्यो कहिले रोएको । मानिसले गाएका गीत तालमा सर्बरयाज आफ्नै हाँगामा फुट्रुकफुट्रुक्क नाचेका चरा नाच देखेर फुरुङ्ग भएको पनि सम्झ्यो । गीतले फुलेको सर्बरयाज मन सम्झ्यो ।
सर्बरयाजले फेरि सम्झ्यो । जुन सम्झना सम्झेरै सम्झनामा सर्बरयाजका ओठ फर्फराएथे, फर्फर–फर्फर ।
गीत सम्झनामा सर्बरयाजले पानी सम्झ्यो । चरा सम्झ्यो । मानिस सम्झ्यो । त्यसपछि ? तिनीहरूसँगको सम्बन्ध सम्झ्यो ।
के सम्झेर कुन्नि, सर्बरयाजले आफू जाग्राम बस्ने रात सम्झ्यो । बर्खे दशैंको चौथो रात अर्थात् चर्दशी रात जाग्राम बस्थ्यो ।
रात छिप्पिन थाल्थ्यो । जैपाको छिमेकी गाउँ खल्नेटाबाट पुजारु ओल्काउने चाला दमाहा बजाउँदै राङ्कोटे दमाई उकालिएको सुनिन्थ्यो । पुजारुसँगै राङ्कोट थला पनि हुन्थ्यो । दलबलमा पैजन, दौरी, मादल, झ्याली बोकेर पैसरी नाच पनि लिएर गएका हुन्थे । दलबलमा कोही डोका बोकेका हुन्थे कोही कुम्लो त कोही झोला । डोकोमा रक्सी, जाँड हुन सक्थ्यो, फलफूल हुन सक्थ्यो । केरा, सुन्तला, बेलौती त ढाङढुङ्गार बयान्नेको थियो । सुन्तला जमिनमुनि परालले बेरेर गाडेका हुन्थे ।
रात छिप्पिदासम्म पुजारु दलबल सर्बरयाज पुग्थ्यो । सर्बरयाज छहारीमा झाम्रे गाउँथे । नाच्थे । ठट्टा गर्थे ।
‘हर हर तन्नरीयौ, ढिलो हुन्छ’ भालेको डाकोसँगै पुजारुले भन्थे । सर्बरयाजको पानी गाबुमा भर्थे । उकालिन्थे, छड्केधुरी । भोलिपल्ट अर्थात् पुन्नी(पूर्णिमा)मा छड्केधुरीमा मेला लाग्थ्यो । भन्थे, ठूल्गोरी जात्रा । जुन जात्रामा आफन्त, तरुण–तन्नेरी, मीत र सँगिनीहरूले ठकान राखेका हुन्थे ।
पुजारु ओल्काएको दमाहा बजेको सुनिने बेला वारि जैपामा स्हाँरा (भेडाको भाले) कराउन थाल्थे । कोही बाँकेबाट पुगेका हुन्थे, कति बर्दियाबाट त कति दाङबाट । ती सबै रोल्पाबाट बसाइँ सरेका मानिस हुन्थे । जैपाबाट पनि ती मानिस रातसँगै उकालिन्थे ।
सर्बरयाजले माओवादी पनि सम्झ्यो ।
माओवादीको शब्दमा ग्रामीण वर्ग संघर्षकालमा माओवादी जैपा झर्न होस् कि ढाङढुङ उक्लन होस्, थबाङ पस्न पनि सर्बरयाज त ‘सेल्टर’जस्तै थियो । युद्ध सुरु हुनुअघि र पछि पनि कति गाउँले त कहिले रप्पापातल त कहिले सर्बरयाजमा रात काटेका थिए । गाउँ पसेका पुलिस फक्र्यो भन्ने सुराकपछि बल्ल गाउँले आफ्ना घर फर्कन्थे । खर्गैरामा तालिम गरेको माओवादी मुक्ति सेना र तल–माथि गर्दा लालसेना नै आफ्नो छहारीमा सुस्ताएको सम्झ्यो ।
सर्बरयाजले सम्झ्यो, ‘तिमीले छहारी दियौ’ भनी ढोगेर जानेहरूलाई ।
…
सर्बरयाज छहारीमा मानिस र वन्यजन्तु सुस्ताएथे भने, हाँगाबिंगामा चरा । रिचार्ड पावरको ‘द ओभरस्टोरी’ले सर्बरयाज र गाउँलेका कथा भने जस्तो लाग्यो । द ओभरस्टोरीले सर्बरयाज र मानिसका अन्तरसम्बन्ध त सम्झेको थियो । गाउँले, सर्बरयाज, चरा र वन्यजन्तु एकअर्कासँग जोडिएका थिए । चाहपूर्ति नै सही, एकअर्कामा अन्तर्निहित थिए ।
मध्य भदौको मध्याह्न सर्बरयाजमा छिमेकी जिल्ला रुकुम (पूर्व र पश्चिम)मा चलेको अमेरिकी आँधीले सर्बरयाज सेरोफेरो हल्लिरहेको थियो । पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली नेपाल र नेपालीको भविष्य ‘भ्युटावर भाषण’ भट्याइरहेका थिए । तिनका दिलदिमाग ‘सर्बरयाजशास्त्र’ शून्य थियो ।
सह–हेडसरसँगै सर्बरयाजमा सर्बरयाज सम्झना सम्झँदै झस्किएँ ।
सर्बरयाज नरहे कहाँ ओतिएलान् गाउँले र वनका जन्तु ? कहाँ बास बस्लान् चरा ? तिर्खा केले मेट्लान् ? गाउँलेका लोकतन्त्रथलो कहाँ होला ? सँगिनी, मीत, छोट्टेछोट्टी र माइतीचेली कहाँ ठकान राख्लान् ? सर्बरयाज नरहे जेईहरूले कहाँ पसिना ओभाउँलान् ? कहाँ आफ्ना सुखदुःख सुसेल्लान् ? कहाँ गएर धागो कात्लान् ? लोकतन्त्रथलो कहाँ बनाउलान् ? कहाँ मन बिसाउलान् ?
सर्बरयाज सम्झना सुनिरहेको तपाईं नै भन्नुस् त, छ बेला लाग्ला घाम भनेर बियालो गर्ने बेला बचेको छ त ?
छैन ।
एकघरी बेला पनि बचेको छैन, सर्बरयाज सम्झना सुन्न र गुन्न । बियालो गर्न त बेला नै छैन । भन्नुस् त, बेला र बैंसले कसलाई पो पर्खेको छ र ?