२०८१ चैत्र २१ गते, बिहीबार ०२:०७

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

आए, आए राजा आए

कमल माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउँथे । साथै, साहित्यप्रति पनि त्यत्तिकै लगाव थियो उनको । कमल आख्यान विधामा दक्खल राख्थे । उनको कथामा कल्पना र यथार्थको संगम देख्न सकिन्थ्यो । कमल विद्यार्थीलाई मूड फ्रेस गराउन कथा–कहानी सुनाइरहन्थे । विद्यार्थीहरू उनका कथा–कहानी सुनेर तरोताजा महसुस गर्थे । त्यसैले कमलको कक्षा हम्मेसी छुटाउँदैनथे विद्यार्थीहरू ।

कमल कथा सुनाउनुअघि जुँगामा ताउ लगाउँथे । यो उनको पुरानै बानी हो । त्यस दिन पनि जुँगामा हलुका ताउ लगाए । सरले जुँगामा ताउ लगाएको देखेपछि विद्यार्थीलाई कुरा बुझ्न गाह्रो परेन । ‘आज एउटा बुलन्द कथा जावस सर !’

पछाडिको बेञ्चबाट सुरेश नाम गरेको विद्यार्थीले मुख खोल्यो । कमलले चाहेकै कुरा भन्यो सुरेशले । कमलले सुरेशको अनुहारमा धन्यवाद ज्ञापनको भावसहित हेरे अनि अनार दानाको झल्को दिने भरिला सेता दाँत देखाउँदै कहानी बाचन गर्न थाले–

‘कुरा त्यो समयको हो, राजा देशका सर्वोच्च शासक हुन्थे । देश राजाको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा चल्थ्यो । राजगुरु राष्ट्रिय संस्था जस्तै थिए । देशमा राजगुरुको मर्यादित र सम्मानित स्थान थियो । राजगुरुको अधिकार संविधानमै लिपिबद्ध गरिएको हुन्थ्यो । संविधानले राजगद्दी उत्तराधिकार सम्बन्धमा राजगुरुलाई निर्णायक अधिकार सुम्पेको थियो ।

राजगद्दी रिक्त हुँदा राजगुरु राजसभाको बैठक बसाउँथे र सभाको परामर्शमा उपयुक्त निर्णय लिन्थे । समयको त्यो कालखण्डमा राजा छान्ने परम्परा अहिलेको भन्दा पृथक् थियो । उतिबेला ठेलो हान्न लगाएर या दौड प्रतियोगिता गराएर राजा छनोट गरिन्थ्यो । प्रतियोगितामा जुन व्यक्ति प्रथम हुन्थ्यो राजगुरु उसकै शिरमा श्रीपेच पहिर्‍याउँथे ।

एक दिनको कुरा हो, सिकार खेल्न गएका राजा दरबार फर्केर आएनन् । सन्देशबाहकहरूले ‘राजा पहिरोले थिचिएर स्वर्गवास भइबक्सेको’ समाचार दिए । राजाको देहावसानपछि नयाँ नियुक्ति गर्नुपर्ने भयो । संविधानले त्यो जिम्मेवारी राजगुरुलाई सुम्पेको थियो ।

राजगुरुले नयाँ राजाको नियुक्तिका लागि राजसभाको परामर्श बैठक बसाए । बैठकमा नियुक्ति सम्बन्धी प्रस्ताव पेश गरियो । सभामा राजगुरुले ‘राजा नियुक्तिमा पुरानै परम्परा अवलम्बन गर्ने वा नवीन पद्धति अपनाउने’ भन्ने विषयमा सभासदको राय बुझे । धेरै सभासदले ‘युगको पदचाप सुहाउँदो लोकतान्त्रिक विधि अपनाउन मनासिव हुने’ मत राखे । फलतः ‘राजा हुन चाहनेले चालु महिनाको अन्तिम दिन अपराह्न पाँच बजेभित्र जुलुस सहित राजदरबारअगाडि उपस्थित हुन र जो सबैभन्दा ठूलो जुलुस सहित उपस्थित हुन्छ, उसैलाई श्रीपेच धारण गर्न आमन्त्रित गरिने’ व्यहोराको सनद राजगुरुले जारी गरे ।

राजगुरुको निर्णय कतिले समयसापेक्ष छ भने त कतिले परम्पराको उल्लंघनका रूपमा व्याख्या–विश्लेषण गरे । राजगुरुको आदेशसँगै उम्मेदवार घोषणा सुरु भयो । यत्रतत्र सर्वत्र चुनावी सरगर्मी बढ्न थाल्यो । उम्मेदवारहरू विभिन्न बाचा, लोभ–लालच सहित जनताको घरदैलो धाउन थाले । चोक, गल्ली, सडकमा रङ्गी–विरङ्गी दृश्य देखिन थाल्यो । गाउँ, टोल, शहरमा अघिपछि विरलै देखिने नौटंकी देखिन थाल्यो । लाज ढाक्ने वस्त्र नभएकाहरूले रातारात लुगा पाए । खोले, सिस्नु, गिठा–भ्याकुर, कन्दमूल खाएर जीवन निर्वाह गरेकाहरूले भरपेट मासुभात डकारे । पैसाको अभावमा रोगग्रस्त जीवन बिताइरहेकाहरूलाई डाक्टरले घरमै पुगी नाडी समाए ।

यस्तैमा राजा नियुक्तिको निर्धारित तिथि आइपुग्यो । त्यस दिन बिहानैदेखि सम्भावित राजाहरूको नेतृत्वमा गाउँ, टोल, बस्तीहरूबाट बाजागाजा सहितका जुलुसहरू निस्किए । सम्भावित राजाहरूले जुलुसमा सहभागी बढाउन सक्दो कोसिस गरे ।

श्रीपेचले सयौं किलोमिटरमाथिबाट आकाशलाई दुई फन्को मार्‍यो । अनि पसिना चुहाउँदै खेतमा हलो जोतिरहेको किसानको शिरमा गएर टक्क बस्यो

त्यस दिन राजधानीका बासिन्दाले दर्जनदेखि हजारौं सहभागी राजनीतिक झाँकीहरू देख्न पाए । यस्तैमा पाँच बज्न १५ मिनेट बाँकी छँदा उत्तर दिशाबाट मानव सागर राजदरबारतिर बढ्दै गरेको देखियो । त्यो त्यस दिन निस्केको सबैभन्दा ठूलो जुलुस थियो । केहीबेरमा जुलुसले राजदरबार अगाडिको सडकमा उपस्थिति जनायो । जुलुसको मुख्य आकर्षण ‘सर्वेन्द्र’ नाम गरेका व्यक्ति थिए । सर्वेन्द्र नयाँ राजाका प्रतिस्पर्धी थिए । मानिसहरू सर्वेन्द्रलाई हेरेर ‘पूर्व राजा’ ‘पूर्व राजा’ भनिरहेका थिए । उनको अनुहार र जीउडाल दिवंगत पूर्व राजासँग हुबहु मिल्थ्यो ।

सर्वेन्द्र नेतृत्वको जुलुस त्यस दिनको सबैभन्दा ठूलो जुलुस साबित भयो । राजगुरुले सर्वेन्द्रलाई राजा नियुक्ति गर्ने प्रक्रिया अघि बढाए । त्यसका लागि उनले राजमुकुट पहिरिन आउन लाउड स्पिकर मार्फत ध्वनि सन्देश पठाए ।

राजगुरुको ध्वनि सन्देशसँगै सर्वेन्द्र राज्यारोहण समारोहतर्फ अघि बढे । सर्वेन्द्र समारोहस्थलमा प्रवेश गर्दा बटुकहरूले वैदिक मन्त्रोच्चारण सहित मंगलगान गाए । पञ्चकन्याहरूले पुष्पगुच्छा अर्पण गरी स्वागत अभिवादन गरे । सर्वेन्द्र स्वागत अभिवादन ग्रहण गर्दै मधुर मुस्कानका साथ समारोह कक्षमा पुगे ।

दरबार बाहिर जस्तो चर्चा चलेको थियो, समारोहस्थलमा पनि त्यही कुरा निस्कियो । सर्वेन्द्रलाई देखेर आश्चर्यचकित नहुने कोही भएन । ‘मरे भनेका राजा यहाँ कसरी आए !’ देख्ने सबै यही भनिरहेका थिए । सर्वेन्द्रलाई देख्दा राजगुरु स्वयं दिग्भ्रमित भए । उनले राजसभाको आकस्मिक बैठक डाके । बैठकले सर्वेन्द्रलाई ‘आफ्नो विषयमा स्पष्ट पार्न निर्देशन दिने’ निर्णय लियो । राजगुरुले सोही व्यहोरा सर्वेन्द्रसमक्ष राखे ।

‘तपाईं सबैभन्दा ठूलो जुलुस सहित दाबी पेश गर्न आउनुभएको छ । तपाईंलाई राजा बनाउन हिच्किचाउनुपर्ने कुनै कारण छैन । परन्तु ज–जसले तपाईंलाई देखेका छन्, सबैले ‘पूर्व राजा ! पूर्व राजा !’ भनिरहेका छन् । तपाईं काटीकुटी पूर्वराजा देखिनुहुन्छ । तपाईं खासमा को हुनुहुन्छ ? कतै पूर्व राजाको जुम्ल्याहा दाजुभाइ त हैन ? यो सभा तपाईंलाई आफ्नो बारेमा स्पष्टीकरण दिन आग्रह गर्छ’, राजगुरुले भने ।

त्यसपछि सर्वेन्द्रले जे कुरा गरे, सुन्ने सबै चकित भए । सर्वेन्द्रले सभासदहरूलाई दुईहात जोडी अभिवादन गरे । अनि मन्द मुस्कानका साथ बोल्न थाले–

‘म राजा हुने दाबी पेश गर्न आएको होइन । यन्त्रलाई राजा बनाउन पनि हुँदैन । म एक यन्त्र मानव हुँ । अर्थात् विज्ञानको प्रयोगशालाबाट निर्मित एआई मानवको पछिल्लो संस्करण । यतिखेर वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अनुसन्धान संस्था मानिसको प्रतिलिपि तयार पार्ने काममा अहोरात्र जुटिरहेको छ । म एआई मानव सम्बन्धी अनुसन्धान गरिरहेको त्यही अन्तर्राष्ट्रिय संस्थाले तयार पारेको तपाईंहरूको पूर्व राजाको प्रतिलिपि हुँ । वैज्ञानिकहरू आफ्ना आविष्कारहरूलाई जनसमक्ष ल्याउनुअघि ‘मास एसेप्टाबिलिटी टेस्ट’ गर्ने गर्छन् । ताकि, आम मानिसले त्यसलाई कुन रूपमा ग्रहण गरे भन्ने विषयमा जान्न सकियोस् । म त्यही ‘मास एसेप्टाबिलिटी टेस्ट’को कडी हुँ । तपाईंहरूका पूर्व राजा मरिसक्नुभयो । मरेको मान्छे पुनर्जीवित हुँदैन ।

एआई मानवको कुरा सुनेपछि राजगुरु झनै किंकर्तव्यविमूढ भए । उनले पुनः अर्को पटक सभासदसँग राय लिने निधो गरे र ‘के गर्दा उचित हुन्छ ? राय दिन’ अनुरोध गरे ।

‘अबको केही समयमा आकाशमा फ्याँकेको श्रीपेच जसको शिरमा खस्नेछ, ऊ नै यस देशको भावी राजा हुनेछ । त्यो राजा देश लुट्नेहरूबाट हैन; गिट्टी कुट्ने, भारी बोक्ने र हलो जोत्नेहरूबाट हुनेछ । तपाईंहरूको देशले इतिहासकै अब्बल राजा पाउनेछ’, उसले बतायो

‘एआई मानव आधुनिक विज्ञानको प्रतिनिधि हो । राजा नियुक्तिबारे एकपटक एआई मानवसँगै सल्लाह लिन उचित होला । उसले दिएको सल्लाह चित्तबुझ्दो नलागे अन्य विकल्पमा जाउँला’, सभाले राय दियो ।

लगत्तै सभाले एआई मानवसँग ‘तत् सम्बन्धमा आवश्यक राय दिन’ अनुरोध गर्‍यो । सभाको अनुरोध सुनेर यन्त्र मानव क्षणिक मौन रह्यो अनि स्वविवेकको कसीमा घोटिएको सल्लाह दिन थाल्यो–

‘म देखिरहेको छु, यतिखेर तपाईंहरूको देश तस्करी, माफियातन्त्र र भ्रष्टाचारको दलदलमा फसेको छ । मुनाफाखोर व्यवसायीहरूको नजरबन्दीमा परेको छ । देशलाई उक्त अवस्थाबाट मुक्त गर्न इमानदार, नैतिकवान्, निष्कलंक र लोभलालचविहीन शासक चाहिएको छ । एउटा त्यस्तो शासक, जसको आर्जनमा भ्रष्टाचारको दुर्गन्ध हैन, पसिनाको सुगन्ध आओस् ।’

‘त्यस्तो शासक कसरी खोज्ने, उपाय सुझाउनुस् न !’ एआई मानवसँग राजगुरुले अनुरोध गरे ।

‘त्यसका लागि एउटा खेल खेल्नु वाञ्छनीय हुनेछ । त्यो खेल रोमाञ्चक हुनेछ । त्यही खेलले नयाँ राजा नियुक्तिको विषयलाई निष्कर्षमा पुर्‍याउनेछ’, एआई मानवले भन्यो ।

‘खेल ! कस्तो खेल ? कतै त्यही खेलका कारण गँजडीलाई राजा बनाउनुपर्ने भयो भने ! भ्रष्टाचारी, मुनाफाखोर व्यवसायी, तस्कर, माफियाहरूले बहुमूल्य श्रीपेच अपहरण गर्ने अवसर पाए भने ?’ राजगुरुले आशंका व्यक्त गरे ।

‘त्यसो भएछ भने उसलाई राजा नमान्ने अधिकार जनता जनार्दनमा निहित छ । राजसभाले वैकल्पिक निर्णय लिन सक्छ । परन्तु मलाई लाग्छ, त्यस्तो अवस्था आउने छैन’, एआई मानवले आश्वस्त पार्‍यो ।

सभालाई एआई मानवको सल्लाह मनासिव लाग्यो । राजगुरुले एआई मानवले दिएको रायबमोजिम गर्ने गरी अर्को सनद जारी गरे ।

त्यसपछि एआई मानव अघिअघि, राजगुरु र सभासद पछिपछि । सबै जना दरबारको सय तला माथिको छतमा पुगे । दरबारको छतमा पुगेपछि एआई मानवले राजगुरुसँग आफ्नो हातमा श्रीपेच दिन आग्रह गर्‍यो । राजगुरुले श्रीपेच हस्तान्तरण गरे । राजगुरु र सभासदलाई एआई मानव के गर्न खोज्दैछ भन्ने ज्ञान थिएन । अज्ञानताकै बीच एआई मानवले श्रीपेचलाई भएभरको बल लगाएर आकाशमा फ्याँक्यो । एआई मानव यति शक्तिशाली थियो कि, उसमा १० हात्ती बराबरको बल थियो । श्रीपेच आकाशमा हुत्याउँदा वायुमण्डलमा भयङ्कर कम्पन भयो । त्यसपछि एआई मानवले सम्भावित परिणामबारे बताउन सुरु गर्‍यो ।

‘अबको केही समयमा आकाशमा फ्याँकेको श्रीपेच जसको शिरमा खस्नेछ, ऊ नै यस देशको भावी राजा हुनेछ । त्यो राजा देश लुट्नेहरूबाट हैन, गिट्टी कुट्ने, भारी बोक्ने र हलो जोत्नेहरूबाट हुनेछ । तपाईंहरूको देशले इतिहासकै अब्बल राजा पाउनेछ’, उसले बतायो ।

श्रीपेचले सयौं किलोमिटरमाथिबाट आकाशलाई दुई फन्को मार्‍यो । अनि पसिना चुहाउँदै खेतमा हलो जोतिरहेको किसानको शिरमा गएर टक्क बस्यो ।

किसानको नाम चिराग थियो । चिराग पढेलेखेको थियो । उसले दुई विषयमा स्नातकोत्तर डिग्री हासिल गरेको थियो । उच्च शिक्षा हासिल गरेपछि शारीरिक श्रम नगर्नेहरूको अपवाद थियो ऊ । चिराग निडर र निर्भीक थियो । पसिनाको कमाइ खान्थ्यो । भ्रष्ट आचार–व्यवहारबाट कोसौं दूर रहन्थ्यो । चिरागको जीवन लुटको स्वर्गभन्दा माथि थियो । ऊ विगतका कमी–कमजोरीहरूको सिंहावलोकन गर्दै अघि बढ्थ्यो । चिराग मानिसहरूलाई पौरखी बन्न उत्प्रेरित गर्थ्यो । उसको सम्पत्तिमा आउँथ्यो त केवल पसिनाको सुगन्ध ।

एआई मानव सम्बन्धी अनुसन्धान गरिरहेका वैज्ञानिहरूको अन्तर्राष्ट्रिय संस्थाले हलो जोतिरहेको किसानको शिरमा श्रीपेच परेको दृश्यको स्याटलाइट इमेज सार्वजनिक गर्‍यो । नेपाली टेलिभिजन च्यानलहरूले त्यसलाई महत्वका साथ प्रसारण गरे ।

देशले पौरखी राजा भेटेको समाचार चारै दिशामा फैलियो । केही घन्टामै नयाँ राजाको स्वागतमा अपार जनसमूह उपस्थित भयो । सेनाको एक टुकडीले राजालाई सम्मानगारद अर्पण गर्‍यो अनि राजदरबारतर्फ सवारी चलायो । अघिअघि नयाँ राजा, पछिपछि अपार जनसमुदाय । कोही नाच्दै थिए त कोही नारा लगाउँदै ।

‘आए, आए राजा आए !

हलो जोत्नेले श्रीपेच लाए !’ नारा यस्तो थियो ।

‘भन्नेलाई फूलको माला । सुन्नेलाई सुनको माला…’ कमलले कथा टुङ्ग्याए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्