रुपन्देही । पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान प्रदत्त महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरूको अन्तर्संवाद कार्यक्रममा बोल्नुहुँदै पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले प्राप्त अधिकारको रक्षा गर्दै जनप्रतिनिधिको भूमिका अझ सशक्त बनाउनुपर्ने बताउनुभयो ।
‘प्रदेश र स्थानीय तहमा महिलाको सहभागिता प्रशंसनीय छ ।’ पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो ‘संविधानमा ३३ प्रतिशत संवैधानिक व्यवस्था रहेको छ भने आधारभूत अधिकारलाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरिएको छ ।’
पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो ‘बालविवाह, बहुविवाह, छाउपडी बोक्सी आरोपजस्ता महिला विरोधी सामाजिक परम्परा अझैपनि समाजमा विद्यमान देखिन्छ । समाजका विभेद हटाइ न्याय पूर्ण समतामुलक समाज निर्माण गर्न महिला पुरुष दुवैको समान सहभागिता आवश्यक छ ।’
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेनका पोख्रेल, लुम्बिनी प्रदेशका सांसद द्वय हेमा बेल्बासे, जमुना ढकाल, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान, बुटवल उप महानगर पालिकाकी उप मेयर साबित्रादेवी अर्याल लगायतले महिला हक अधिकारका पक्षमा तीन तहका सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभएको थियो ।