२०८१ चैत्र २१ गते, बिहीबार ०१:३४

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

कहाँ गए होलान् हाम्रा कम्पोजिटरहरू ?

लेटर प्रेसको साथमा लेखक गोपाल गड्तौला ।


चाडबाडका मुखको एक दिन झगिन्द्रलाई बिदा चाहिएको रहेछ । छापाखानाको काम अलिक तेजी गतिमा हुने बेला पनि त्यही हुन्थ्यो । ऊ बिदा मागिरहन्थ्यो, सम्पादक गञ्जबहादुर दाइ उसले मागेजति बिदा दिन तयारै नहुने ।

म दुवै पक्षका कुरा चियाको सुर्काे तान्दै सुनिरहन्थें । दमकको हाइवे होटल मुन्तिर नछोपिएको नालीमा दमक बजारको फोहोर सक्दो गन्ध निकाल्दै बग्न बिर्सिएर आडैमा जमिरहेको थियो । हाम्रो नाक त्यो दुर्गन्धको बानी परेकोले होला, त्यसले खासै असर गर्दैनथ्यो ।

त्यो बिहान सम्पादक र कम्पोजिटरको संवाद सुनिरहेको मलाई लाग्यो, झगिन्द्रले पहिले जस्तै कुनै उपाय निकालेर जसरी भए पनि बिदा त लिएरै छोड्छ । अर्काे दिन ऊ काममा आएन । साँझ घर जानुअघि उसले मसिना मुसे दुलाभित्रका वाईमात्रा हराइदिएको थियो ।

पहिले पनि कहिले वर्दने त कहिले आकार, उकार हराएका हुन्थे । मतलब बिदा चाहिएका दिन ऊ फलामका अक्षरका मसिना टुक्रा हराइदिन्थ्यो र चाहिए जति बिदामा बस्दथ्यो ।

एउटा विशेष प्रसंगमा एकदिन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले भनेको मेरो दिमागमा ताजै छ । बडो रमाइलो पाराले सुनाउनुभएथ्यो, उहाँले पत्रकारिता शुरू गरेको यामका कम्पोजिटरले काठमाडौंमा पनि अल्छी लागेपछि उसै गरेर तर्कुले, वर्दने हराइदिने गर्दथे ।

पत्रकारिता गरिरहेको आजका कतिपय भाइबहिनीलाई तर्कुले, वर्दने भनेको सम्म त थाहा होला, तर तिनीहरू कसरी हराउँथे र कामै रोकिन्थ्यो भन्नेचाहिं थाहा हुँदैन । यो उनीहरूका लागि विल्कुलै नयाँ विषय हो ।

मान्छेसँग बोली छ, भाषा छ । गरेका अनुभवहरू सन्तानलाई काम लाग्छ भनेर सुरक्षित गरिदिनका लागि अक्षरहरूमा संग्रह गर्ने प्रविधि छ । अहिले त हरेकका हातहातमा विद्युतीय ग्याजेटहरू छन् । प्रविधिले धर्तीलाई एकदमै साँघुरो बनाइदिएको छ

दिन वितेको धेरै भएकै छैन । करिब तीन दशक अघि कम्प्युटर मोफसलमा मात्र होइन, राजधानीमा पनि नयाँ चिज नै थियो । त्यो बेला करिब करिब आधा इञ्चका काँटी आकारका फलामे टुक्रामा खोपिएका अक्षरहरू मिलाएर चारकुने प्लेटमा राखी चारैतिरबाट बाँधेर पाड्कोले ठोकेर मेशिनमा चढाइन्थ्यो । त्यसमा मसी दलिन्थ्यो र खुट्टाले सिलाई मेशिन चलाए झैं पयर चलाइन्थ्यो ।

त्यस्तो चलाइबाट मेशिनको फलामे अक्षर भएको भाग अर्काे भागमा मिलाएर राखिएको कागजमा हल्का ठोक्किन्थ्यो, अर्थात् अक्षरहरू कागजमा छापिन्थे । यसरी पत्रिका छापिन्थ्यो । पाठकको नाकले भोलिपल्ट अबेरसम्म आलो मसीको तिखो गन्ध महसुस गर्दथ्यो । बिजुली आएपछि भने मेशिनको पयर चलाउने कामबाट खुट्टाले छुट्टी पाए । सानो मोटरमा जोडिएको फित्ताले मेशिन घुमाउन थाल्यो । छपाइ अलिक छिटो भयो ।

०००

अघिल्लो महिना साथी तुफान न्यौपानेले भेट्न उनी भएको एरिजोना राज्यको फिनिक्स शहर बोलाए । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी समेत टेक्सासबाट करिब १४ घण्टा लामो मोटर यात्राबाट तुफानको निम्ता मान्न पुगे ।

काठमाडौंबाट छापिने हिमाल खबरपत्रिकामा काम गर्दाताकाको तुफानसँगको दोस्तीका अनेक प्रसंग छन् । उनी पश्चिम नेपालको सुर्खेतबाट र म सुदूरपूर्वको झापाबाट एउटै अखबारमा काम गर्दथ्यौं । पछि त काठमाडौंमै रहेर पनि काम गरियो ।

८ वर्षपछिको छोटो तर रमाइलो भेटमा उनले आफू पढिरहेको एरिजोना स्टेट युनिभर्सिटी पनि घुमाउन भ्याए । युनिभर्सिटीको सातौं तल्लाको एक कुनामा पुरानो छापाखाना देखेपछि मेरा आँखा अडिए ।

करिब अढाइ दशक अघि दमकमा सम्पादक गञ्जबहादुर दाइले कवाडीलाई कौडीको भाउमा बेचेको यही छापाखाना त थियो ! मैले लेखेका समाचारमा मेरो नाम सहित छाप्ने फलामे अक्षरहरूकोे त्यो दिन अन्त्येष्टि भएको थियो ।

झगिन्द्रले बिदा नपाउँदा हराइदिने फलामे अक्षर, तिनलाई राख्ने मसिना दुला भएका काठका फ्रेम, सरस्वती र विश्वकर्मा पूजाको दिन रङ दल्दै शिर झुकाएर पूजा गरिने त्यो मेशिन सबैको चोला गञ्ज दाइको छापाखानाबाट एकैदिन उठ्यो । ती बडो सस्तो भाउमा बेचिए । भोलिदेखि काममा नआउनेगरी झगिन्द्र, मेनुका आदि नामका छापाखानाका कर्मचारी नरमाइलो मान्दै बिदा भए । उनीहरूसँग फेरि भेट भएको छैन ।

चारैतिर ऐना भएको लिफ्टबाट उक्लिएपछि तुफानको मुखबाट निस्कियो, ‘यो चाहिं यहाँको मिनी म्युजियम हो ।’ त्यसपछि उनले कैयौं दशकअघि अमेरिकी छापा प्रविधिले फड्को मारेको कथा हाल्दै सुनाए– ‘कुनै युगमा यहाँका अखबार यही/यस्तै मेशिनमा छापिन्थ्यो रे !’

खासमा छापाखाना प्रविधि नेपालमा भित्र्याउने श्रेय जहानियाँ राणाशासनका जन्मदाता जंगबहादुर राणालाई जान्छ । उनी राणाशासन शुरू गरेको केही वर्षपछि बेलायतको भ्रमणमा गएर फर्किंदा साथै ल्याएको गिद्दे छापाखानाले नै विक्रम संवत् १९१० मा नेपालको पहिलोे मुलुकी ऐन छापेको थियो ।

केही दशकपछि १९५५ सालमा गोरखापत्र पनि त्यही छापाखानामा छापिन थालेको थियो भनेर नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास सम्बन्धीका पुस्तकहरूमा पढेको थिएँ । विश्वमा चाहिं छापाखानाको अविष्कार सन् १४५० (अर्थात् वि.सं. १५०७) मा भएको मानिन्छ ।

यसका जन्मदाता थिए जर्मनीका गुटेनवर्ग । उल्लिखित मिति अनुसार आविष्कार भएको करिब चार शताब्दीपछि मात्र नेपालमा छापाखानाले प्रवेश पाएको देखिन्छ, त्यो पनि इतिहासका एक जना सर्वाधिक खलपात्रको माध्यमबाट ।

अनुभवहरू एकत्रित भएपछि ज्ञान सृजना हुन्छ । त्यसलाई संग्रह गर्न सक्नु मानव सभ्यताको सबैभन्दा ठूलो आर्जन हो । कुनै ज्ञानीले भनेको सम्झन्छु, ‘पशुले आफ्ना सन्तानलाई मान्छेले जस्तो अनुभव सुनाउँदैन वा सिकाउँदैन, त्यसैले उसको हरेक पुस्ताले एउटै गल्ती बारम्बार गरिरहन्छ ।’

तर, मान्छेसँग बोली छ, भाषा छ । गरेका अनुभवहरू सन्तानलाई काम लाग्छ भनेर सुरक्षित गरिदिनका लागि अक्षरहरूमा संग्रह गर्ने प्रविधि छ । अहिले त हरेकका हातहातमा विद्युतीय ग्याजेटहरू छन् । प्रविधिले धर्तीलाई एकदमै साँघुरो बनाइदिएको छ । मलाई बारम्बार उकेरा हाल्दै अघि बढ्न भनिरहने मेरा सम्पादकहरूलाई सोध्न मन लागिरहेको छ, विशेषगरी गञ्ज दाइलाई ‘दाइ कहाँ गए होलान् हाम्रा कम्पोजिटर झगिन्द्रहरू ?’

हाल  : टेक्सास

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्