२०८१ चैत्र १९ गते, मंगलवार २२:१५

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

म ती नानीलाई काठमाडौंमा पर्खिरहेकी छु, जसले अब कहिल्यै कान सुन्न सक्दिनन्

५५ वर्षीय भानुचन्द्र मौनतामै बाँचिरहेका थिए । किनभने उनका दुवै कानले सुन्ने क्षमता गुमाइसका थिए । वर्षौदेखि उनले कुनैपनि आवाज सुनेका थिएनन् ।

हामीले उनको कानको शल्यक्रिया गरिदियौँ । जब उनले पहिलो पटक आफ्नो नातेदारको आवाज सुने, भावविह्वल भई भक्कानिए । उनले आफ्नै पारामा भने, ‘मैले यसरी सुन्न सक्छु भन्ने लागेकै थिएन ।’

त्यतिबेला हामी डोल्पामा थियौँ, स्वास्थ्य शिविरका लागि । यसको मेलोमेसो मिलाइदिएको थियो ‘ब्याक टु लाइफ इभी’ नामक संस्थाले । डोल्पाको यात्रा आफैँमा स्मरणीय मात्र रहेन, उत्तिकै महत्वपूर्ण पनि । त्यो मनोहर लेकाली भूगोलमा बस्नेहरू के कस्ता स्वास्थ्य समस्या झेलिरहेका छन् ? कसरी दुःखबिराम सहेर बाँचिरहेका छन् ? हामी साक्षी बन्यौँ ।

कहिल्यै सुविधायुक्त अस्पताल नटेकेका, कहिल्यै अनुभवी डाक्टर नभेटेका त्यो लेकका बासिन्दाहरूमा आफ्नै किसिमको परिबन्ध थियो। हामीले उपचारका क्रममा के पायौँ भने त्यहाँ बिरामीको पंक्तिमा पुरुषको संख्या एकदमै न्युन छ । त्यहाँका पुरुषहरू कहाँ गायब भए  ? प्रश्न यति मात्र थिएन । पुरुषहरू नहुँदा महिलाहरू किन उपचार गर्न अग्रसर भएनन्  ?

यस आलेखमा म यी कुरा विस्तारमा खुलाउनेछु । त्यसअघि डोल्पासम्मको रोमाञ्चक यात्रको बखान गर्नेछु ।

डायरी– १

डोल्पा जानु थियो । त्यो पनि चिकित्सकको दलबलसहित । डोल्पा भौगोलिक रुपले जति मोहक छ, उत्ति नै कठोर पनि भन्ने कुरा हामीलाई थाहा थियो । त्यो लेकाली कठोरतासँग जुध्दै थियौँ । र, फरक माटो, फरक बाटो, फरक हावापानी, फरक रहनसहनमा प्रवेश गर्दै थियौँ ।

हाम्रो टोलीमा काठमाडौंका विभिन्न प्रतिष्ठित अस्पतालका चिकित्सकहरू थिए । हृदयरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, रेडियोलोजिस्ट, सामान्य चिकित्सक तथा एमबीबीएस डाक्टरहरू थिए । ब्याक टु लाइफका तर्फबाट निर्देशक अच्युत पौडेल र व्यवस्थापक अनुप पौडेल थिए ।

यसो भनौँ, हामी सबै आ–आफ्नो क्षेत्रका विशेषज्ञ थियौँ र हामी सुविधा सम्पन्न अस्पताल, सुपरिचित शल्यक्रिया कक्ष र अत्याधुनिक उपकरणहरू छोडेर एउटा नदेखेको र नभोगेको अनिश्चित यात्रातर्फ अग्रसर भएका थियौं ।

२०८१ फागुन २८ गते । काठमाडौंलाई साँझले छोप्दै गर्दा हामी त्रिभुवन विमानस्थलको रन वे छाड्दै थियौँ । काठमाडौंको धपेडीपूर्ण जीवनबाट विश्राम लिएर उड्दै गर्दा हामीमा बेग्लै उत्साह भरिएको थियो ।

काठमाडौंबाट नेपालगन्ज विमानस्थलमा ओर्लँदा रातको ९ बजिसकेको थियो । फागुन महिनामै गर्मी चढिसकेको थियो त्यहाँ । हामी उखरमौलो गर्मी, सामान्य गेस्ट हाउसको अनिदो बसाइ झेल्दै भोलिपल्ट बिहानै विमानस्थलतर्फ लाग्यौँ । यतिबेला बिहानको साढे पाँच बजेको थियो ।

घडीले सात बजेको संकेत गरिरहँदा हाम्रो टोली समीट एयरभित्र प्रवेश गरिसकेको थियो । यो उडानले हामीलाई डोल्पाको जुफालमा पुर्‍याउँदै थियो ।

फाइल फोटो

सानो विमान । ३५ मिनेटको उडान । १६ जना यात्री । केही डर, केही रोमाञ्चकता, केही कौतुहलता । यसो हेर्दा सबैको अनुहारमा त्रासका रेखाहरू दौडिरहेको देखिन्थ्यो ।

हामी यात्रा गरिरहेको विमान १८–सिटर ट्विन ओटर थियो । विमानको अगाडि र पछाडिको कार्गो कम्पार्टमेन्टमा औषधिहरू राख्न ठाउँ नभएपछि दुईटा सिटमा औषधिको बाकस राखिएका थिए । विमानको इञ्जिन कर्कश आवाज निकाल्दै बाँके जिल्लाको आकाशबाट उत्तरतर्फ मोडिएर उड्यो र एकै छिनमा हामी भीमकाय हिमाली भू दृश्यहरूमाझ पुग्यौं ।

पहाडको माझमा गहिरा उपत्यकाहरू, ती अपार पहाडहरू अनि सेताम्य हिमालहरू हाम्रो आँखै अगाडि खेल्दै थिए । बादलको सतह छिचोल्दै गर्दा हामीले देख्यौँ, डोल्पा । भू बनौटले अत्यान्तै सुन्दर थियो डोल्पा । तर, त्यहाँको जनजीविका कति कष्टकर होला भनी आकाशबाटै अनुमान लगाउन सकिन्थ्यो ।

बिहानको ८ बज्नै लाग्दा हामीले जुफालको विमानस्थल टेक्यौं । २५०० मिटर उचाइमा रहेको नेपालको उच्चतम् विमानस्थलमध्ये एक यो सानो धावनमार्गमा अवतरण गर्दा हाम्रो शरीर हल्लिएको महसुस भयो । जहाजको ढोका खुल्नेबित्तिकै चिसो पहाडी हावाले नेपालगञ्जको गर्मीलाई बिर्साइदियो । तर वातावरणको सौन्दर्यमा रमाउने समय थिएन ।

डायरी–२

हामी डोल्पा पुगेका थियौं । तर, यात्रा पुरा भएको थिएन । असली यात्रा त अब सुरु हुँदै थियो । जुफाललाई छाडेर हामी दुनैसम्म पुग्न गतिलो सडक थिएन । त्यसैले हाम्रो निम्ती एकमात्र विकल्प भनेको पिकअप भ्यानको भर पर्नुथियो । यो यात्रा कस्तो थियो भने, मनलाई अत्याउने रोलर कोस्टर खेलेजस्तै ।

लेकको साँघुरो बाटो । ठाडो उकाली–ओराली । गाडी ओह्रालो लाग्दा बाटाका ढुंगाहरू पनि साथमै झरिरहेको हुन्थ्यो । हिमाललाई घामको किरणले स्पर्श गरिरहँदा गाडी झ्यालबाट चिसो सिरेटो छिरिरहेको थियो । यात्रा लामो थिएन । तर, कष्टकर थियो । ढाँड सोझ्याउन र खुट्टा तन्काउन पनि कठिन हुन्थ्यो ।

फाइल फोटो

गाडी रोकियो । त्यहाँभन्दा अगाडि गाडीको बाटो नै रहेनछ । हामी हिँड्नुपर्ने भयो । दुनै उपत्यकातर्फ हामी पैदल हिँडिरहँदा आसपासका गाउँलेहरू उत्सुकतापूर्वक हेरिरहेका थिए । कति बुढापाका हामीसँग सोध्थे, ‘तपाईंहरू को हो ? कहाँ जान लागेका ?’

डायरी–३

४५ मिनेटको पैदल यात्रापछि हामी पुगेका थियौं, डोल्पाको जिल्ला अस्पताल । हामीले थकाई मारेका थिएनौँ, भरपेट नास्ता खाएका थिएनौँ । तर हाम्रो अघिल्तिर बिरामीहरूको लाइन लागिसकेको थियो ।

बिरामी बच्चा च्यापेका आमाहरू, छातीमा हात राखेर मुस्किलले सास फेरिरहेका बुढापाकाहरू, आफ्नो समस्या आफैँसँग लुकाएर बसेका किशोरीहरू । उनीहरूको आँखामा हामी स्पष्ट देख्न सक्थ्यौं, हतास र पीडा ।

हामी कुनै युद्धका सैनिक जसरी आ-आफ्नो काममा खटियौँ। बिरामीहरू जाँच गर्दै, रोगहरूको निदान गर्दै, कान सफा गर्दै, औषधि लेख्दै, बिरामीहरूलाई सल्लाह दिँदै र उनीहरूलाई आवश्यक शिक्षा प्रदान गर्दै ।

शिविरपछि पनि बिरामीहरूको निरन्तर हेरचाह हुन सकोस् भनेर भ्याएसम्म स्थानीय स्वास्थ्यकर्मीहरूलाई तालिम दियौँ । दुई दिन बितेको पत्तो भएन ।

डायरी–४

शिविर सकिएलगत्तै सबैजना फर्कने तयारीमा थिए । तर म फर्कन सक्दिनथेँ । किनभने मेरो खास काम त अब सुरु हुँदै थियो । मसँग अब जँचाउन आएका कानमा संक्रमण भएका बिरामी, प्वाल परेका कानका जाली, र सुन्न नसक्ने समस्याबाट ग्रसित बिरामीहरूको लामो सूची थियो ।

दुई दिनको कठिन परिश्रमपछि कुल ३४९ बिरामीहरूको जाँच, कानको सफाइ र थुप्रै जनालाई औषधि वितरण गरिसकेपछि मैले तिनै मध्ये १४ जना बिरामीहरू पहिचान गरेको थिएँ, जसलाई तत्काल शल्यक्रिया गर्न आवश्यक थियो । त्यसपछि म उनीहरूको शल्यक्रिया गर्ने निर्णयमा पुगेँ ।

अर्को दुई दिनसम्म मैले बिरामीहरूलाई लगातार पालैपालो शल्यक्रिया गर्न थालेँ । डोल्पा जिल्ला अस्पताल अत्यन्तै साधारण थियो। त्यहाँ काठमाडौंका ठूला अस्पतालहरूमा जस्ता अत्याधुनिक उपकरणहरू थिएनन् ।

सुविधाजनक शल्यकक्ष थिएन, भएको कोठा पनि प्रर्याप्त उज्यालो र शल्यक्रिया गर्न उपयुक्त थिएन । थियो त केबल मेरो संकल्प, मेरा हातहरू र बिरामीहरूको सुन्ने शक्ति फर्काउने दृढता ।

सबैभन्दा पहिलो बिरामी थिइन् निरु कार्की, जसले वर्षौंअघि आफ्नो सुन्ने क्षमता गुमाएकी थिइन् । सफल अप्रेसनपछि जब मैले उनको नाम लिएँ, उनका आँखा विस्मयले ठूला भए । ‘डाक्टर… म तपाईंले बोलेको सुन्न सक्छु’ उनी खुसीले चिच्याइन् ।

उनका आँखा रसाइरहेका थिए । उनका चिसोले फुटेका फुस्रा गाला हुँदै हर्षका आँसु बगिरहेको थियो। केही बेरमा उनी मेरो हात समाउँदै खुसीले काँपिरहेकी थिइन् । खासमा उनी केही समयपछि अझ स्पष्ट सुन्न सक्ने हुन्छिन् । अप्रेसनपछि उनको कानमा कपास राखिएको थियो ।

अर्की १३ वर्षकी सानी नानीले जब आफ्नी आमाले बोलाएको सुनिन्, उनी खुसीले आमातर्फ दौडिइन् । उनकी आमा भने भुइँमा थचक्कै बसिन् र भक्कानिँदै मलाई धन्यवाद दिइन् ।

त्यस्तै, लालचन्द्र रोकाया महिनौँदेखि गम्भीर कानको संक्रमणबाट पीडित थिए । उनको सुन्न सक्ने क्षमता झन्-झन् बिग्रँदै थियो । यदि तत्काल अप्रेसन नगरेको भए उनी स्थायी रूपमा बहिरो बन्ने खतरामा थिए । सुरुमै भएको भए उनको अवस्था सामान्य एन्टिबायोटिकले नै निको पार्न सकिन्थ्यो, तर डोल्पामा त कानको संक्रमण पहिचान र सामान्य औषधिहरू पनि दुर्लभ छन् ।

मैले त्यहाँ जीवनभर पिनासको संक्रमणले पीडित भएकाहरू, समयमा नै पहिचान नगरिएका घाँटीका रोग बोकेकाहरू र जीवनभर स्पष्ट रूपमा सुन्न नपाएका वृद्धहरू देखेँ ।

हरेक बिरामीको प्रतिक्रिया उस्तै थियोः सफल अप्रेसनपछि कान सुन्न सक्दा पहिला अचम्म हुने, अनि खुसीका आँसु बगाउने । उनीहरूले मलाई कृतज्ञतासाथ अँगालो हाल्थे ।

मैले अन्यत्र शिविर र शहरका अस्पतालमा उपचार गर्दा पहिल्यै पनि असाध्यै खुसी भएका मानिसहरू देखेको थिएँ, तर यस्तो खुसी कहिल्यै देखेको थिइनँ । म कल्पना गर्न सक्थेँ, यी केबल बिरामीहरू थिएनन्, जसले आफ्नो हराएको सुन्न सक्ने क्षमता फिर्ता पाएका थिए । यी त आफ्नो जीवनको एउटा महत्वपूर्ण खुसीको अंश फिर्ता पाएका मानिसहरू थिए ।

डायरी–५

डोल्पाका नयाँ अनुभवहरू तपाईंहरूसँग म थप बाँड्न चाहन्छु । अघिल्ला दुई वर्ष कर्णालीकै अर्को जिल्ला मुगु र जुम्लामा जब मैले कानको शल्यक्रिया गरेको थिएँ । मानिसहरू उपचारका लागि अत्यन्त उत्साहित थिए । तर डोल्पामा भने एकदमै भिन्न अनुभव भयो ।

कानको शल्यक्रियाले उनीहरूको जीवन नै परिवर्तन गर्नेछ भन्ने कुरा मलाई राम्ररी थाहा थियो । तर के भइदियो भने यहाँ आइपुगेपछि जब मैले केही बिरामीलाई अप्रेसन गर्नुपर्छ भनेँ उनीहरूको डर र हिचकिचाहट देख्दा म छक्क परेँ ।’

खासमा कुरो के रहेछ भने हालसम्म डोल्पा जिल्ला अस्पतालमा कानको अप्रेसन भएकै रहेनछ र अप्रेसनले कान झनै बिग्रन सक्छ भन्ने भ्रम रहेछ । उनीहरू डराइरहेका थिए । उपचार नगरेको खण्डमा संक्रमण झन् बिग्रिन्छ, कानको दुर्गन्ध, असह्य पीडा र सुन्ने समस्याले झन् गम्भीर रूप लिनसक्छ भन्ने कुरा मैले निकै मेहनत गरेर उनीहरूलाई सम्झाएँ।

धेरै सम्झाएपछि सुरुमा केही साहसी बिरामी अगाडि आए । जब पहिलो बिरामीको कानको सुन्ने क्षमता फिर्ता आयो, यो खबर गाउँभरि फैलिइएछ । दोस्रो दिन त जो हिजो डराइरहेका थिए तिनै व्यक्ति आफ्ना छिमेकीलाई लिएर आए, उनीहरूलाई उपचार गर्न हौसला दिँदै ।

अप्रेसनप्रति जब मैले उनीहरूको विश्वास बढ्दै गएको देखेँ । त्यो क्षण मेरा लागि मात्र होइन सम्पूर्ण डोल्पाली समुदायका लागि यो एउटा ऐतिहासिक उपलब्धि जस्तो लाग्यो ।

डोल्पामा मैले भोगेको अर्को नयाँ र सबैभन्दा दुःखद कुरा के भने कानको संक्रमण भएकाहरूप्रति समाजले गर्ने दुर्व्यवहार । संक्रमण भएर कानबाट आएको दुर्गन्धका कारण उनीहरूले समाजमा वहिष्कृत जीवन बिताइरहेका थिए ।

उनीहरूलाई सामाजिक जमघटमा नबोलाइने, चाडपर्वमा पनि टाढा अलग्गै राखिने, आफ्नै परिवारका सदस्यहरूसँग बस्दा पनि सबैले नाक छोप्ने, घृणा गर्ने रहेछन् ।

यी कुरा बिरामीले मलाई भक्कानिदै सुनाए । यस्ता पीडाका कथा सुन्दा भित्रभित्र म पनि भक्कानिएको हुन्थेँ । कयौँ पटक मेरो गला अवरुद्ध बनेर आफूलाई नै सम्हाल्नु पर्थ्यो। तर शिविरको प्रभावले म यी दुर्व्यवहार हट्ने आसमा छु ।

एकजना वृद्ध पुरुषले आँसु झार्दै मेरो हात समाउँदै भनेको सम्झन्छु, ‘डाक्टर, मेरो कानको दुर्गन्ध यो औषधि खाएपछि हट्छ ?’ मैले उनलाई विश्वास दिलाएँ, ‘हो, हट्छ ।’ उनले भक्कानिँदै भने, ‘मैले कयौँ वर्षदेखि अब म कहिल्यै पनि मानिसहरू माझ बसेर बिना हिच्किचाहट बाँच्न सक्छु भनेर सोचेको पनि थिइनँ ।’

सामाजिक कार्यक्रममा कहिल्यै सहभागी हुने आँट नगरेकी अर्की एउटी युवतीले मुस्कुराउँदै भनिन्, ‘मेरो कान निको भएपछि, म आफन्तहरूलाई निर्धक्क भेट्न जान्छु। अब म एक्लो हुने छैन ।’

यी सिर्फ स्वास्थ्य सुधारका कथा थिएनन्, यी त सामाजिक पुनर्स्थापनाका कथा थिए । यसरी यो शिविरले मात्र बिरामीको संक्रमण निको पारेन, मलाई लाग्छ, सामाजिक घाउहरू पनि निको पार्न केही हदसम्म सहयोग गरेको छ ।

डायरी–६

साधारणतया, हामी इएनटी सर्जनहरूले कानको शल्यक्रिया गरेर मानिसहरूलाई सुन्ने शक्ति फर्काइदिन्छौं । तर अहिले आएर मलाई के लाग्यो भने कहिलेकाहीँ हामी अझ बढी अर्थपूर्ण काम गर्दा रहेछौँ । यसबारे पनि कुरा गरौँ । यही शिविरमा एकजना ९ वर्षकी सानी नानी आएकी थिइन् । उनको कानमा पुरानो संक्रमण थियो । पहिलो नजरमा यो सामान्य केस जस्तो देखिन्थ्यो । तर जब मैले राम्रोसँग परीक्षण गरें, मेरो मुटु नै चसक्क भयो ।

संक्रमण मस्तिष्कसम्म फैलिने चरणमा थियो । तुरुन्त उपचार नगरिएमा मेनिन्जाइटिस हुने खतरा थियो । यदि त्यस्तो भयो भने त उनी जीवित नै रहन सक्दिनथिन् । उनको परिवारलाई यो सबै थाहा थिएन । मैले तुरुन्तै ब्याक टु लाइफका निर्णय तहमा बसेका अधिकारीसँग समन्वय गरेर उनीहरूकै सहयोगमा काठमाडौं लगेर उनको जटिल शल्यक्रिया गर्ने निर्णय गरें । म अब त्यही दिनको पर्खाइमा छु ।

मलाई थाहा छ, ती नानीले मैले शल्यक्रिया गरेपछि पनि कहिल्यै सुन्न सक्दिनन् । तर तिनी स्वस्थ जीवन बाँच्दछिन् । सुन्न नसक्नुको अर्थ उनको भविष्य सकियो भन्ने होइन । उनले उनीसँग भएका फरक क्षमताले आफ्नो सक्षम भविष्य बनाउने छिन् ।

सुन्न नसक्नुले कसैको सफलतालाई रोक्न सक्दैन ।त्यसैले जब म ती सानी नानीलाई सम्झन्छु, मैले आफूलाई एउटा जीवन बचाउन सफल भएको देख्दैछु र यस्तै-यस्तै सार्थक कारणले म यो पेशाप्रति गर्व गर्ने गर्छु । यस्तै भोगाइ र सफलताले मलाई मेरो पेशामा थप प्रेरणा मिल्छ र दिनभरको थकानपछि मिठो निन्द्रा सुत्न सक्छु ।

डायरी–७

चैत्र ७ गतेको बिहान सबै शल्यक्रियाका काम पूरा गरेर म फर्किने तयारी गर्दै थिएँ । त्यतिबेला मलाई लाग्यो, मैले मेरो एउटा अंश डोल्पामै छोडेर काठमाडौँ जाँदैछु । मैले सर्जरी गरेका १४ जना बिरामीहरू मेरा लागि मात्र एउटा मेडिकल फाइलमा दर्ता भएका कानका बिरामी र उपचार पाएका व्यक्तिका नाम थिएनन् ।

उनीहरू मेरो अनुहारमा पनि मुस्कान ल्याउने अनुहार थिए, मेरो मनमा सन्तोष भर्ने पात्र थिए । उनीहरू अब मेरो पेशागत जीवनका यस्ता कथाका नायक बनेका छन्, जो सधैं मेरो मनमा रही रहनेछन् ।

झोला भिरेर जब म जुफाल यरपोर्टतर्फ हिँड्न लागेँ, मेरा अगाडि मलाई खुसीसाथ बिदा गर्न एक हुल मानिस जम्मा भइसकेका रहेछन्! एउटी वृद्ध महिलाले मेरो हात समाउँदै भावुक हुँदै सोधिन्, ‘डाक्टर अरुण, तपाईं फेरि कहिले आउनुहुन्छ ?’

मेरो घाँटी अवरुद्ध भयो । आँखा रसाए । मैले शीर झुकाएर आउँछु भन्ने जानु मात्र दिन सकेँ ।

जुफलको बाटो उही उकालो थियो । सफल कर्म पछिको बिदाइ सुखद भए पनि आखिर बिछोड पनि त हो, मन भारी हुँदो रहेछ । आफूले आफैलाई सम्झाएँ र भने ‘अरुण तँ खुसी हुनुपर्छ, डोल्पाका ती १४ जना मानिसहरूले अहिले संसारलाई सुन्न सक्छन्।’

अन्त्यमा, ब्याक टु लाइफका सबै सहयोगीहरू, स्वास्थ्य शिविरका दाता एवम् प्रायोजकहरू र शुभचिन्तकहरू, तपाईंहरूले केबल एउटा स्वास्थ्य शिविर आयोजना गर्नुभएन, तपाईंहरूले धेरै व्यक्तिका जिन्दगीमा नयाँ खुसी भर्नुभयो ।

तपाईंहरूले केबल डाक्टरहरू पठाउनुभएन । उमंग र आशा पठाउनुभयो । तपाईंहरूको सहयोगका कारण १४ जना मानिसहरू अब हरेक बिहान आफ्नाहरूको हाँसो, ठूली भेरी नदी बगेको आवाज र हिमालबाट आउने बतासको सङ्गीत सुन्दै उठ्न सक्दछन् ।

तर यो अन्त्य होइन । अझै धेरै बिरामी उपचारको पर्खाइमा छन् । अझै धेरै मानिस मौनतामा पीडित छन्। जब समय र स्रोतले अनुमति दिन्छ, हामी पुनः फर्किनेछौँ । यो सम्भव बनाइदिनु हुने सबैलाई धन्यवाद । डोल्पालीलाई आवाज फर्काइदिनु भएकोमा धन्यवाद।

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. अरुण केसी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्