१३ चैत, काठमाडौं । आज कालीमाटी तरकारी बजारमा केही तरकारीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेंडा, बन्दा, हरियो फर्सी, बकुला, च्याउ र हाइब्रिड काँक्रोलगायत केही तरकारीको मूल्य घटेको हो ।
समितिले बुधबारका लागि निर्धारण गरेको थोक मूल्य अनुसार लोकल सानो गोलेभेंडा २२ रुपैयाँ ३३ पैसा किलोबाट घटेर १७ रुपैयाँ ६७ रुपैयाँमा झरेको छ ।
तराईको सानो गोलभेंडाको मूल्य पनि साढे १० प्रतिशतले घटेको छ । आज यसको मूल्य किलोको २२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
बन्दाको मूल्य आज घटेर किलोको १५ रुपैयाँ ६७ पैसा कायम भएको छ । हरियो फर्सी पनि ७ प्रतिशतले घटेर २७ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ ।
बकुलका ५५ रुपैयाँ किलोबाट १० रुपैयाँ घटेर किलोको ४५ रुपैयाँमा झरेको छ । कन्य च्याउ १६३ रुपैयाँ ३३ पैसाबाट १२६ रुपैयाँ ६७ पैसामा झरेको छ भने डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसाबाट ३१० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।
हाइब्रिड काँक्रो पनि ३५ बाट घटेर ३० मा पुगेको छ भने निबुवा किलोमा ५५ बाट घटेर ४५ रुपैयाँ किलोमा झरेको छ ।