१० चैत, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि तरलता खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
यो २१ दिने निक्षेप संकलन उपकरणको ३१ चैतमा सावाँ तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।