Friday, March 28, 2025
घरसमाचारपुरूषोत्तम न्यौपाने पोखरामा हुने एकल सांगीतिक साँझमा गुञ्जिने

पुरूषोत्तम न्यौपाने पोखरामा हुने एकल सांगीतिक साँझमा गुञ्जिने

काठमाडौं । वरिष्ठ लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपाने एकल सांगीतिक साँझमा गुञ्जिने भएका छन् । चैत २२ गते पोखरामा आयोजना हुने ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’मा उनले प्रस्तुति दिनेछन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा न्यौपानेले आफ्ना चर्चित गीतलाई लाइभ बाजामा प्रस्तुत गर्नेछन् ।

अपरान्ह ३ बजेदेखि सुरू हुने कार्यक्रममा न्यौपानेसँग सहकार्य गरेका केही चर्चित गायिकाले समेत प्रस्तुतिमा साथ दिनेछन् । कार्यक्रमको लागि आयोजक दोहोरीगीत प्रतिष्ठान तयारीमा जुटेको अध्यक्ष रीता थापा मगरले बताइन् ।

प्रतिष्ठानले गत वर्षदेखि एकजना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न सुरू गरेको हो । पहिलो कार्यक्रम काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष मगरले संस्थाको नारा नै ‘अग्रजलाई सम्मान, नयाँ-प्रतिभालाई प्रोत्साहन’ रहेको बताउँदै अग्रजको सम्मानका लागि यसरी सांगीतिक साँझ कार्यक्रम गरिएको बताइन् ।

‘गत वर्षको कार्यक्रममार्फत हामीले केही हदसम्म सम्मान दिन सक्यौं जस्तो लाग्छ,’ उनले भनिन्, ‘यसपालिको कार्यक्रम पनि त्यस्तै भव्य हुने विश्वास छ ।’ गायक न्यौपाने ३ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् ।

हजारभन्दा बढी गीतमा स्वर दिएका उनका ‘घामजस्तो चम्किलो जुन हुँदैन, सररर पानीघट्टामा, रून्छ नि मन किन रूँदैन, मिर्मीमुनी काली थुनेको, ढुंगेधारामा, झिलझिल सितारा, देउरालीमा धजा’ आदि गीत चर्चित छन् ।

गायक न्यौपाने पोखरा बसेर सांगीतिक यात्रालाई अगाडि बढाइरहेका छन् । सोही कारण पनि यसपालि काठमाडौंमा नभएर पोखरामा सांगीतिक साँझको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । न्यौपाने दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -