७ चैत, काठमाडौं । नेपाल सुपर लिग टिम ललितपुर सिटी एफसीको जर्सी बिहीबार सार्वजनिक भयो । जर्सी अनावरण कार्यक्रममा जर्सीको अक्सन पनि गरिएको थियो ।
इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी कार्यक्रममा अक्सन गराइएको थियो ।
उक्त जर्सीको बेस प्राइज ५० हजार राखिएको थियो र हरेक बिडमा ५ हजार थपिँदै गएको थियो । धेरैले उक्त जर्सी लिन चाहेका थिए र अन्तिममा सरोज कार्कीले १ लाख १५ हजार बिड गर्दै जर्सी लिन सफल भए ।
उनले आफू पहिला देखि फर्डिनान्डको फ्यान भएको र उनले केही राम्रो गोल गर्दै टिमलाई जिताएको स्मरण गर्दै जर्सीका लागि लाख माथि खर्च गरेको बताए ।
ललितपुरले तेस्रो सिजनको लागि मुख्य प्रशिक्षकमा अनुभवी साइमन ग्रेसनलाई अनुबन्ध गरेको थियो । ग्रेसनमार्फत नै फर्डिनान्डलाई क्लबको जर्सी हस्ताक्षर गराएर ल्याइएको हो ।
यस्तै कार्यक्रममा इंग्ल्याण्डका पूर्व फुटबल खेलाडी एमिल हेस्कीले दिएको शुभकामना सन्देश पनि देखाइएको थियो ।