Friday, March 21, 2025
घरसमाचारआंगिकमा नेविसंघ र अनेरास्ववियुको टक्कर, तेस्रोमा अखिल क्रान्तिकारी

आंगिकमा नेविसंघ र अनेरास्ववियुको टक्कर, तेस्रोमा अखिल क्रान्तिकारी

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आंगिक क्याम्पसमा कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र एमाले निकट अनेरास्ववियुले हालसम्म बराबर नतिजा हात पारेका छन् ।

मंगलबार भएको ३८ वटा आंगिक क्याम्पसको मतदानको नतिजामा दुवै संगठनले बराबर जित हासिल गरेको पाइएको छ ।

हालसम्म नेविसंघ र अनेरास्ववियु १०/१० वटा क्याम्पसमा विजयी भएका छन् । तेस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रन्तिकारीले ६ वटा क्याम्पसमा विजयी भएको छ ।

३ वटा क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने ९ वटा क्याम्पसको नतिजा आउन बाँकी छ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार नतिजा आउन बाँकी क्याम्पसमा मत गणना भइरहेको छ । ‘गणनाको काम भइरहेको छ । कहाँ कति गणना सकियो त्यसको विवरण आइपुगेको छैन,’ उनले भने ।

६२ आंगिकसँगै त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो र कतिमा नतिजा आयो भन्नेबारे विवरण आउन बाँकी रहेको केसीले बताए । ‘अन्तिम परिणाम सार्वजनिक हुन केही समय लाग्छ,’ उनले भने ।

त्रिविले ५ चैतमा मतदान हुन नसकेका क्याम्पसमा २० गतेभित्र गर्न मतदान सम्पन्न गराउन निर्देशन दिएको छ । ‘२० गतेपछि मतदान नहुने भनेको छ । त्यसअघि नै मतदान गर्न भनेका छौं,’ शिक्षाध्यक्ष केसीले भने ।

उनका अनुसार काठमाडौंका पद्यकन्या क्याम्पसमा भोलि ७ गते, विश्वविद्यालय क्याम्पसमा ८ गते, अस्कलमा १० गते, पोखराको पृथ्वीनारायण क्याम्पसमा १० गते मतदानको मिति तोकिएको छ । ललितपुरको पाटन क्याम्पसमा सहमतिको प्रयास भइरहेको उनले बताए । पाटनमा मतदान सुरु भएपछि भोटिङ कार्डको विषयमा विवाद भएपछि रोकिएको थियो ।

विद्यार्थी संख्या २०० सम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति चयन हुनेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -