Friday, March 21, 2025
घरक्राइम चेकगौर नगरपालिकाले राइस मिल जग्गा सम्बन्धी निर्णय स्थगित गर्यो

गौर नगरपालिकाले राइस मिल जग्गा सम्बन्धी निर्णय स्थगित गर्यो

– राधेश्याम साह

गौर, रौतहट – गौर नगरपालिकाले नगरवासीका मागलाई सम्बोधन गर्दै गौर राइस मिलको सम्पूर्ण जग्गा अधिग्रहण गर्ने पहललाई सहज बनाउने उद्देश्यले यसअघि गरिएको सबै निर्णयहरू हाललाई स्थगित गर्ने निर्णय गरेको छ।

नगरपालिकाले विगतमा २ बिघा १५ कठ्ठा जग्गा दानमार्फत लिने निर्णय गरेको थियो। तर, नेपाल नागरिक समाज रौतहटको नेतृत्वमा सर्वपक्षीय/सर्वदलीय टोलीले गौर राइस मिलको ५ बिघा १९ कठ्ठा १५ धुर जग्गा पूर्ण रूपमा अधिग्रहण गर्न आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकोले यसअघि गरिएका निर्णयहरू हाललाई स्थगित गरिएको नगरपालिकाले जनाएको छ।

गौर नगरपालिकाका मेयर शम्भु साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाले बाध्यताले ल्याएको प्रस्तावको प्रमुख कारण बजेट अभाव, संघीय तथा प्रदेश सरकारको उदासिनता, र कानुनी जटिलता रहेको उल्लेख छ। साथै, खेलमैदान उपलब्ध गराउने नगरपालिकाको लक्ष्य भए पनि जनभावनाको सम्मान गर्दै नागरिक समाजको नेतृत्वमा सर्वदलीय टोलीको सुझाव अनुसार हाललाई नगरपालिकाले आफ्नो प्रस्ताव स्थगित गरेको स्पष्ट पारिएको छ।

मेयर साहले नगरबासी, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधिहरू तथा सबै राजनीतिक दलका नेताहरूसँग गौर राइस मिलको सम्पूर्ण जग्गा अधिग्रहणको पहललाई सफल बनाउन सहयोग गर्न अपिल गरेका छन्।

गौर नगरपालिकाले खेलकुद विकास र नगरवासीको आवश्यकतालाई सम्बोधन गर्ने गरी आगामी दिनमा नागरिक समाजको सहभागितामा दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -