६ चैत, काठमाडौं । नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको प्रष्ट पारेको छ ।
केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टिकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।
नेपाली सेना संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशय आउनेगरी विभिन्न प्रचार भइरहेका थिए ।
त्यसतर्फ इंगित गर्दै सेनाले भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’
साथै, सेनाले आफ्ना धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको प्रष्ट पारेको छ ।
‘विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ,’ सेनाले विज्ञिप्तिमा भनेको छ ।
नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सेनाद्वारा आग्रह गरिएको छ ।