६ चैत, काठमाडौं । किरण ठगुन्ना र नारायण जोशीले अर्धशतकीय साझेदारी बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको हो ।
लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । किरण ४३ तथा कप्तान नारायण २५ रनमा अविजित रहे । ६१ रनमा ५ विकेट गुमेपछि दुईले साझेदारी बनाउँदै टोलीलाई जित दिलाए ।
लुम्बिनीका लागि रमेश कुर्मीले ८ ओभरमा २३ रन दिएर २ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र बिप्राशन केसीले १-१ विकेट लिए ।
त्यसअघि एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४४.१ ओभरमा अलआउट हुँदै ११६ रन बनायो ।
कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए । प्रज्वल थापाले ३० रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
सुदूरका हेमन्त धामीले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए । सोर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले २-२ विकेट लिए ।
यसअघिका खेलमा पनि सामान्य योगफल डिफेन्ड गरेको लुम्बिनीले आज भने सकेन । ६ खेल खेलेको लुम्बिनीले ४ जित निकालेको छ भने सुदूरले ६ खेल खेल्दा २ जित निकालेको छ ।