५ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुका का पूर्वकप्तान तथा स्टार ब्याटर विराट कोहलीले टिमका नयाँ कप्तान रजत पाटिदारले टिमको नेतृत्व गर्न सक्षम रहेको बताएका छन् । कोहलीले पाटिदारलाई दीर्घकालसम्म टिमको नेतृत्व गर्ने क्षमता भएको बताएका हुन्।
पाटिदारलाई गत नोभेम्बरमा भएको मेगा-अक्सनअघि बेंगलुरुले तीन प्रमुख खेलाडीमध्य एकका रूपमा रिटेन गरेको थियो । उनलाई गत महिना टिमको कप्तानमा समेत नियुक्त गरिएको थियो ।
मंगलबार भएको आरसिबी अनबक्स २०२५ कार्यक्रममा कोहलीले भने, ‘पाटिदार एक उत्कृष्ट खेलाडी मात्र नभई असाधारण प्रतिभा हुन्। उनीसँग राम्रो क्रिकेटिङ सोच छ, जसले टिमलाई अघि बढाउन मद्दत गर्नेछ। उनीसँग कप्तानका लागि आवश्यक सबै गुण छन्।’
३१ वर्षीय पाटिदारले आइपीएलमा बेंगलुरुका लागि २७ खेलमा ७९९ रन बनाएका छन् । सन् २०२१ मा उनले बेंगलरुकै टोलीमार्फत आइपीएलमा डेब्यू गरेका थिए ।
उनले भारतका लागि एक ओडिआई पनि खेलेका छन् । पाटिदारको कप्तानीमा घरेलु टोली मध्य प्रदेशले शैयद मुस्ताक अली ट्रफीको फाइनलसम्म पुगेको थियो ।
उक्त प्रतियोगितामा पाटिदारले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ९ इनिङमा १८६.०८ स्ट्राइक रेटका साथ ४२८ रन बनाएका थिए। उनले २७ छक्का प्रहार गर्दै प्रतियोगितामा दोस्रो सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका थिए।
बेंगलरुले हालसम्म आइपीएलको उपाधि जितेको छैन। सबैभन्दा लामो समय बेंगलुरुको कप्तानी भने विराट कोहलीले गरेका थिए । पाटिदार आठौं कप्तान हुन् ।
-क्रिकइन्फोबाट