२९ फागुन, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा २०औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । चैत १ देखि ३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी १० टिमको सहभागिता रहनेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाली सेना, नेपाल प्रहरी, कोशी प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश छन् । यस्तै समूह बी मा सशस्त्र प्रहरी, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, लुम्बिनी, मधेश प्रदेश छन् ।
शुक्रबार बिहान ७ बजेदेखि खेलहरु सुरु हुने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झा ले जानकारी दिए । पहिलो खेलमा नेपाली सेना र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिन दुवै समूहमा ४-४ गरी कूल ८ खेल हुनेछ । यस्तै चैत २ गते दोस्रो दिन पनि ८ खेल नै हुनेछ । यसैगरी चैत ३ गते तेस्रो दिन समूह चरणका बाँकी ४ खेल हुनेछ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । तेस्रो दिनै सेमिफाइनल र फाइनल खेल पनि हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित हुने दुवै टिमले समान ५० हजार प्राप्त गर्नेछन् ।
नेपाली महिला कबड्डीको इतिहासमा यो सबैभन्दा धेरै पुरस्कार राशी रहेको संघका महासचिव झा ले जानकारी दिए । यसैगरी उत्कृष्ट रेडर र उत्कृष्ट डिफेन्डरलाई ४० इन्चको टिभी पुरस्कार दिने संघले जनाएको छ ।
प्रत्येक खेलको प्लेअर अफ दि म्याचले २ हजार ५०० प्राप्त गर्नेछन् ।