Friday, March 14, 2025
घरसमाचारपर्साको बाल सुधार गृहमा होली मनाइयो

पर्साको बाल सुधार गृहमा होली मनाइयो

वीरगञ्ज (पर्सा) । यहाँस्थित बाल सुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बाल सुधार गृहमा बसेका बालबालिकालाई होली पर्वको दिनमा खुसीयाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

“बाल सुधार गृहमा बालबालिकाले पनि होली मनाउन सकनु भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “बालबालिकालाई अबिर लगाउनुका साथै मिष्ठान्न परिकार खुवाएका हौँ, होली मनाउन पाउँदा उनीहरू निकै हर्षित देखिन्थे ।” उहाँले होलीले त्यहाँ रहेका बालबालिकालाई आत्मबल बढाउन र सुधारको बाटोमा अघि बढ्न प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । 

“बाल सुधार गृहमा बसेर पनि जीवनमा धेरै काम गर्न सकिन्छ, म त्यहाँ रहेका बालबालिकालाई सिर्जनात्मक बन्न आह्वान गर्दछु, जिन्दगी जिउने कला सिकेर सकारात्मक बाटोमा अघि बढ्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो । कार्यक्रममा बालबालिकाले गीत, कविता मुक्तक वाचन गरेका थिए । 

त्यसअवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको उपस्थिति थियो । बालबालिकालाई व्यवसायी रोशन गुप्ताले भोजन गराउनुभएको थियो । 

अबिर र फूलको वृष्टि गरेर मनाइयो होली

आजै वीरगञ्जको गहवामाई मन्दिर परिसरमा आज अबिर र पुष्पवृष्टि गरी पहाडी र तराई–मधेसका समुदायका युवाले होली मनाएका हुन् । गहवामाई तीर्थ विकास समितिले आयोजना गरेको बज्रको होलीमा दुवै समुदायका युवाहरूले एकआपसमा शुभकामना साटासाट गर्दै सौहार्दपूर्ण ढङ्गले होली मनाए । 

“फूल र अबिरको वर्षात् गरेर होली मनाएको दृश्य निकै रमणीय देखिन्थ्यो”, सामाजिक अभियन्ता प्रकाश थारुले भन्नुभयो, “मधेस आन्दोलनले पहाडी र तराईका समुदायबीच विभाजनको रेखा कोर्न खोजे पनि यहाँका दुवै समुदायले पुरानै सुमधुर सम्बन्धलाई बचाउँदै होली मनाउनुभएको छ ।”  

फागु पूर्णिमाको दिन पहाडी  जिल्लामा होली मनाउने चलन छ भने तराई–मधेसमा भने त्यसको भोलिपल्ट मनाउने गरिन्छ । “वीरगञ्जमा विभिन्न समुदायको बसोबास रहेकाले दुई दिन नै होली मनाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यहाँ मारवाडी समुदायले आफ्नै किसिमका हुन्छन् । पहाडी र मधेसी समुदायले आफ्नै शैलीले होली मनाउँदै आएका छन्, होलीका कारण दुवै समुदायमा भातृत्व विकास भइरहेको छ ।”

पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ज्ञान बाटिका माविको परिसरमा युवा अभियान मधेस प्रदेशले विद्यालयको पर्खाल रङ्गाएर होली पर्व मनाएका छन् । युवा अभियान मधेस प्रदेशका अध्यक्ष गङ्गा श्रेष्ठले होलीलाई अनावश्यक तडकभडक ढङ्गले मनाउनुभन्दा रचनात्मक ढङ्गले विद्यालयको पर्खाल रङ्गाएर मनाएको बताउनुभयो । 

प्रदेशसभा सदस्य शङ्कर चौधरीले युवाहरूले विद्यालयको पर्खाल रङ्ग रोगन गर्ने काम प्रशंसनीय रहेको बताउनुभयो । ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकाले शिक्षाको विकास र प्रवर्द्धनका लागि काम गर्दै आइरहेको उल्लेख गर्नुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -