२५ फागुन, काठमाडौं । भारतको आसाम क्षेत्र विकसित भएको न्यूनचापीय प्रणालीको असर नेपालमा पनि परेको छ । यसको असरले अहिले देशका पहाडि भेगमा बादल लागेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालका अनुसार आसाममा विकसित न्यूनचापीय प्रणालीको असर नेपालको कोशीदेखि सुदूरपश्चिमको पहाडी भूभागसम्म परेको छ । मधेश प्रदेशमा भने यसको खासै असर नपरेको उनले बताए ।
यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौंमा अहिले डम्म बादल लागेको छ । जाडो महसुस पनि भएको छ । तर आज काठमाडौंमा पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद दाहालले बताए । ‘काठमाडौंमा पानी पर्ने सम्भावना कम छ । करिब १० प्रतिशत मात्र सम्भावना देखिन्छ,’ उनले भने ।
केही दिनपछि फेरि अर्को एक मौसमी प्रणालीको असरले छिटफुटदेखि हल्का वर्षा गराउने सम्भावना रहेको मौसमविद दाहालले बताए ।
‘दुई–तीन दिनपछि एउटा सामान्य पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्ने देखिन्छ । तर त्यो खासै बलियो भने छैन,’ उनले भने, ‘त्यसको असरले अलि-अलि बादल लाग्ने र छिटफुट वर्षा हुने सम्भावना छ ।’