रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान् गौतम बुद्धका उपदेशलाई आत्मसात गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन आग्रह गर्नुभएको छ ।
अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा लुम्बिनीमा सम्पन्न त्रिपिटक पाठ समारोहलाई सम्बोधन गर्दै उहाँले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई विश्वभर चिनाउन यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
उहाँले त्रिपिटक पाठ समारोह सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने अखिल नेपाल भिक्षु महासङ्घ लगायत सम्पूर्ण आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दै बुद्ध जन्मभूमि लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले भगवान् बुद्धका सत्य वचन लुम्बिनीबाट संसारभर फैलियोस् भन्ने शुभेच्छा व्यक्त गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अझ चिनाउन यस्ता पहलहरू आवश्यक रहेको धारणा राख्नुभयो ।
त्रिपिटक पाठ समारोहले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।