२१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा आर्सनलले फराकिलो अन्तरको जित निकालेको छ ।
आर्सनलले डच क्लब पिएसभी इन्डोभिनमाथि उसकै मैदानमा ७-१ को जित निकालेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले २ गोल गरे भने जुरियन टिम्बर, इथान न्वानेरी, मिकेल मेरिनो, लियान्द्रो ट्रोसार्ड र रिकार्को कालाफियोरीले १-१ गोल गरे ।
घरेलु टोलीका लागि नोआ लाङले ४३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । खेलको १८औं मिनेटमा टिम्बरले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २१औं मिनेटमा न्वानेरीले अग्रता दोब्बर पार्दा ३१औं मिनेटमा मेरिनोले गोल गरेपछि आर्सनल एकपक्षीय रूपमा अघि बढ्यो ।
४३औं मिनेटमा घरेलु टोलीले गोल फर्काउँदा पहिलो हाफ ३-१ मा सकिएको थियो । दोस्रो हाफमा आर्सनलले थप ४ गोल गर्यो ।
४७औं मिनेटमा ओडेगार्डले गोल गर्दा त्यसको एक मिनेटमै ट्रोसार्डले गोल थपे । ७३औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ६-१ ले अगाडि बढ्यो । ८५औं मिनेटमा कालफियोरीले गोल गरेपछि आर्सनल ७-१ ले विजयी भयो ।
योसँगै आर्सनलले घरेलु मैदानमा खेल्नुअगाडि नै विशाल अन्तरको जित निकालेको छ । अवे मैदानमा गएर ७ गोल गर्ने आर्सनल पहिलो टोली पनि बनेको छ ।
गएराति नै भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ । डर्टमुन्डलाई घरेलु मैदानमै फ्रेन्च क्लब लिलले १-१ को बराबरीमा रोकेको हो ।
खेलको २२औं मिनेटमा करिब अडामीले गोल गर्दै अग्रता दिलाएपनि ६८औं मिनेटमा हाकोन हाराल्डसनले बराबरी गरे । त्यसपछि गोल भएनन् ।
गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई २-१ गोलअन्तरले हरायो ।