विराटनगर । विराटनगरमा भोलिदेखि सञ्चालन हुने ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक नवीन रिजालले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
शहीद रङ्गशालामा हुने प्रतियोगितामा छिमेकी राष्ट्र भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालन गर्न रु एक करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको विजेतालाई नगद रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिनुभयो ।
प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेका छन् ।