१७ फागुन, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल)का आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले चार जना चिकित्सकलाई निलम्बन गरेको छ ।
अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि निलम्बन गरेको हो ।
गत १२ फागुनमा बसेको पूर्ण बैठकले उनीहरुलाई काम कारबाहीमा संलग्न नगर्न/नगराउन केयु स्कूल अफ मेडिकल साइन्सेजलाई काउन्सिलले निर्देशनात्मक पत्राचार गरेको रजिष्ट्रार डा. सतिश देवले जानकारी दिए ।
विभागीय प्रमुखसहित मानसिक रोग विभागमा कार्यरत चिकित्सकले मानसिक यातना दिएको भन्दै एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेपछि अध्ययनरत विद्यार्थीहरूले छानबिनको माग गरेका थिए । यस्तो घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको भनाइ थियो ।
नेपाल मेडिकल एसोसिएसनको जुनियर डाक्टर समितिले पनि आवासीय डाक्टरहरूमाथि भइरहेको दुव्र्यबहारप्रति आपत्ति जनाउँदै तत्काल छानबिनको माग गरेको थियो ।
उक्त विषयलाई लिएर उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको हो ।
डा. देवका अनुसार थप छानविनका लागि डा. विश्व दवाडीको नेतृत्वमा समिति बनेको छ । समितिमा डा. कुन्जाङ शेर्पा, डा. आनन्द शर्मा, डा. रुपक घिमिरे र राजेश्वर अधिकारी सदस्य छन् ।
डा. देवका अनुसार चारै जना चिकित्सकलाई बयानका लागि तीन दिनभित्र काउन्सिलमा उपस्थित हुन समेत केयु स्कूल अफ मेडिकल साइन्सेजलाई निर्देशनात्मक पत्राचार गरिएको छ ।