कम्युनिष्ट राजनीतिका पुराना पेशेवर मोहनविक्रम (एमबी) सिंहद्वारा लेखिएको ‘उपन्यास’ का. जलजला हालैको महिना ‘बजार’मा आएको छ । बजारलाई किन कोष्ठमा राख्नुपरेको हो भने बजारवाद विरोधी ‘कम्युनिष्ट’ भएकाले होला, एमबी सिंहको पुस्तक ‘बजार’मा पाइँदैन ।
उनको पार्टी नेकपा (मसाल) निकट पुस्तक पसलहरूमा मात्रै यो उपन्यास पाइन्छ । थपमा, ‘बजार’को ‘व्यापार’सँग विमति भएरै होला ‘का. जलजला’ उपन्यासको व्यापारमा एमबी पत्नी दुर्गा पौडेल आफैं पनि क्यूआर कोड पठाएर इच्छुकलाई किताबको व्यापार गरिरहेकी भेटिन्छिन् ।
सम्भवतः नेपाली भाषामा लेखिएको सबैभन्दा बढी पृष्ठको उपन्यास हुनसक्छ का. जलजला । १३२० पृष्ठको भीमकाय उपन्यासमा लेखक एमबी सिंहले भीमकाय विषयवस्तु थुपारेका छन् । आख्यानीय सौन्दर्यलाई भर्सेलामा हाल्दै २३ वर्ष लगाएर लेखिएको उल्लेख भएको पुस्तकमा मोहनविक्रमले पाठकलाई आफ्नो संकलनमा रहेका केही परिपक्व र केही अपरिपक्व अर्थात् सत्य र अर्धसत्य (मिथ्या) ज्ञानको बिस्कुन पस्केका छन् ।
पुस्तक तयार हुन २३ वर्ष लागेको भनेर पुस्तकको पातोमा उल्लेख गरिए पनि २०६४ सालमा प्रगति पुस्तक सदन, बागबजारले छापेको ‘धरतीको पूर्व इतिहास’ शीर्षकको मोहनविक्रम सिंह लिखित निबन्ध संग्रहमा संग्रहित ‘अलविदा कामरेड जलजला’ शीर्षकको निबन्धको ९५ प्रतिशत जस्तो अंश हुबहु यस उपन्यासमा समावेश भएको र उक्त निबन्ध ५ मंसिर, २०३८ (लखनऊ रेलवे जक्सन) को मितिमा लेखिएको उल्लेख हुँदा यस उपन्यासको सामग्री कम्तीमा ४३ वर्षदेखि लेखिइराखेको रहेछ भन्नुपर्ने हुन्छ ।
आफ्ना तमाम मित्रमण्डली र शिष्य मण्डलीहरू विचार/ज्ञान/विज्ञानको काम छाडेर भैंसी पूजा गर्ने र धन्दासेठहरूलाई माथ गर्ने गरी पैसा जम्मा गर्ने धन्दामा लागेको बेला वयोवृद्ध उमेरका जुझारु कामरेड एमबीको लेखनपठनमा रहिआएको सक्रियता तारिफयोग्य छ । यो उमेरमा पनि यति भीमकाय किताब लेखिरहेका छन् एमबी कामरेड र महामन्त्रीको जिम्मेवारी धानिरहेका छन् एउटा एकान्तबीच रहेको एक्लो बुकुरो जस्तो हालतमा पुगेकै पार्टीको भए पनि । यो रचनात्मक सक्रियताका लागि प्रशंसाको हकदार छन् कामरेड एमबी अर्थात् मोहनविक्रम ।
९० वर्षीय ज्येष्ठ नागरिक कामरेड मोहनविक्रम सिंह नेपाली कम्युनिष्ट आन्दोलनको चौथो महाधिवेशन (चौम) धारका ‘स्कूल’ मानिन्छन् । चौमको महामन्त्री रहेको समयमा विद्या ढकाल (जलजला) सँगको प्रेम प्रकरणमा कारबाही पछिका केही वर्ष निर्मल लामा, भक्तबहादुर श्रेष्ठ, चित्रबहादुर केसीले काँध फेरिदिए बाहेक चौम, मशाल, नेकपा एकताकेन्द्र–मशाल हुँदै ९० वर्षको उमेरमा पनि एमबी कामरेड नेकपा (मसाल) को महामन्त्रीको जिम्मेवारी अटुट, निरन्तर सम्हालिरहेका छन्– सन्तानले पुर्ख्यौली नासो जतनका साथ सम्हाले जसरी ।
त्यही धारको स्कूलबाट आएका हुन् मोहन वैद्य, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, रामबहादुर थापा लगायतकाहरू । मोहनविक्रम त्यही चौथो महाधिवेशनको महामन्त्री भएको समयमा चितवनकी विद्या ढकाल भारत प्रवासमा पुगेर उक्त धारका नेता मोहनविक्रमसँग जोडिइन्छिन् । मोहनविक्रमले उनलाई ‘कामरेड जलजला’ रूपी टेक नाम दिएर त्यसबखत आफ्नो पकडक्षेत्रको रूपमा रहेको रोल्पाको थवाङ पठाउँछन् । पहिल्यै विवाहित भइवरी दुई सन्तानका पिता समेत रहेका मोहनविक्रम पहिली पत्नीलाई छोडपत्र समेत नदिई जलजलासँग प्रेम गर्छन्, ‘लिविङ टुगेदर’मा बस्छन् । प्रचलित राज्यको कानून र नैतिकता मात्रै होइन कम्युनिष्ट नैतिकता र अनुशासनको समेत धज्जी उडाउँदै विवाहित मोहनविक्रमले पार्टी बैठकमा जलजलासँग आफू प्रेममा रहेको हाँक दिन्छन् ।
आफैं महामन्त्री रहेको पार्टीले मोहनविक्रमलाई अंग्रेजी लागेको (सांस्कृतिक विचलन भन्दै यस्ता प्रकरणलाई अंग्रेजी लाग्ने भन्ने गरिन्छ चौम–मशाल–माओवादी धारमा) शीर्षकमा कारबाही गर्यो र निर्मल लामा कार्यवाहक महामन्त्री बने । जलजला पनि कारबाहीमा परिन् । त्यही सिलसिलामा दिल्लीमा गुडिरहेको बसबाट झर्ने क्रममा झर्नै नपाई बस गुडिदिंदा भुईंमा बजारिएर जलजलाको मृत्यु भयो । भन्ने गरिन्छ, मोहनविक्रम जलजलाको मृत्युपछि लामो समय विक्षिप्त रहे । उनले कहिल्यै जलजलालाई बिर्सन सकेनन् ।
त्यही प्रकरणलाई लिएर चौम–मशाल–मसाल–एकताकेन्द्र–माओवादी धारमा के पनि भन्ने गरिन्छ भने, जलजलाको दुर्घटनामा मृत्यु भएको नभई गुडिरहेको बसबाट धकेलेर ‘हत्या’ भएको थियो । रहस्य, षड्यन्त्र, पार्टी अनुशासन, प्रेम र कारबाहीका लागि प्रख्यात/कुख्यात रहेको उक्त हाइप्रोफाइल प्रेम/कारबाही प्रकरण चौम धारका उत्तराधिकारी समूह–गुटहरूमा एक किसिमको मिथक जसरी प्रचारित/प्रसारित हुँदै आउँदा मैले पनि पचासको दशकमा सुनेको, अलिअलि थाहा पाएको थिएँ ।
मोहनविक्रमका सहकर्मीहरूबाट कसरी जलजलाको मृत्युपछि मोहनविक्रम बैठकहरूमै भक्कानिन्थे र जलजलाको प्रेमका लागि भइखाएको पार्टी महामन्त्री पदबाट समेत विना इन्कारी बयान दिएर कारबाहीलाई स्वीकारेका थिए भन्ने सुनेको थिएँ । डेढ दशकअघि नै एमबी कामरेडले आफ्नी दिवंगत प्रेमिका जलजलामाथि उपन्यास लेखिरहेका छन् भन्ने थाहा पाएकाले पनि त्यसउपर एक किसिमको रोमाञ्चक कौतूहल थियो नै । यो टिप्पणी त्यही उत्साहले तानेर किताब किनिवरी पढेपछि उत्पन्न प्रतिक्रिया हो ।
जीवनको झण्डै सात दशक लामो राजनीतिक संलग्नताको प्रत्यक्ष प्रभाव उनको उपन्यासमा देखिन्छ । उपन्यासमा राजनीति छ । दर्शन छ, विज्ञान छ, ब्रह्माण्ड छ । मार्क्सवाद छ, पूँजीवाद छ, गान्धीवाद छ । द्वन्द्वात्मक भौतिकवाद छ । सांस्कृतिक इतिहास छ । भूगोल छ । प्रेम छ । विछोड छ । बिग ब्याङदेखि लिएर ब्रह्माण्डको उत्पत्ति, पिण्ड–ग्रहहरूको वर्णन, मानव जाति–समाजको विकासको वर्णन छ । यी तमाम शीर्षकहरूप्रति रुचि राख्नेहरूलाई आधारभूत सूचना छ, विवरण छ । जसलाई रुचि छैन र आख्यान पढ्नु छ, मार्क्सवादमा रुचि छैन– पुस्तकमा पुरातन ढर्राका मार्क्सवादी स्कूलहरूमा फलाकिने काँचो वायु स्तरका ‘गेसपेपर’ सामग्री छ । जसलाई ब्रह्माण्ड–भूगोल–इतिहासको अध्ययनका लागि तिनै विषय विज्ञका समर्पित सामग्री पढ्नु छ – तिनका लागि उपन्यास मासुको थुप्रो लगाएर बनाइएको मान्छेको आकृति जस्तो छ, आख्यानको सौन्दर्य कम राजनीतिक पर्चा बढी जस्तो लाग्ने । लेखन सरल र लालित्यपूर्ण छैन । एमबी कामरेडले नब्बे वर्षको उमेरसम्म संकलन गरेका, जानेका भरमार ज्ञान/अर्धज्ञानको थुप्रो छ ।
यो ज्ञान कतिपय सन्दर्भमा आश्यचर्यजनक तवरले संगतिपूर्ण, तथ्यपरक र अद्यावधिक पनि छ । जस्तो– परम्परागत या शास्त्रीय ढाँचामा लेखिने गरेका र प्रज्ञा प्रतिष्ठानले छाप्ने गरेका किताबमा समेत तिनाउ खोला किनारका पहराहरूबाट प्राप्त रामापिथेकसका अस्थिलाई नेपालका जनजातिका पुर्खा भनेर उल्लेख गर्ने गरिएकोमा सिंहले रामापिथेकश र मानिसका पुर्खाबारे आश्चर्यजनक तवरले अद्यावधिक धारणा उल्लेख गरेका छन्, त्यस्तो समयकालमा गडबड गरे पनि । ब्रह्माण्ड र पिण्डहरूको वर्णन त मनमोहक र लोभलाग्दो नै छ । कुमाउ–गढवाल–मगरात–युरोपको भौगोलिक र स्थानीय जनसंघर्षका सूक्ष्मस्तरका घटनाहरूको मिहिन वर्णन पनि उत्तिकै ज्ञानवर्धक, रोचक छ । द्वन्द्वात्मक भौतिकवादलाई बुझाउन उनले निकै सरल व्याख्यान उल्लेख गरेका छन्, जो जिज्ञासु पाठकका लागि रुचिकर हुन सक्छ ।
सिंहको उपन्यास का. जलजलाले नेपालको लामो वामपन्थी आन्दोलन र त्यसमा पनि पञ्चायती समयकालमा कसरी नेपाली कम्युनिष्ट आन्दोलनले पूर्णकालीन कार्यकर्ताको जोरजाम गर्थ्यो र समर्थकहरूको घेरा निर्माण गर्दै तिनैबाट जुगाड भएको धन, बल र मनको भरोसामा पार्टी, आन्दोलन र गतिविधिहरू सञ्चालित हुन्थे भन्ने ‘फर्स्टह्याण्ड’ जानकारी उपलब्ध गराउँछ । पुस्तकको शीर्षकले यो उपन्यास उहिल्यै वाम आन्दोलनमा बहुचर्चित रहेको कामरेड मोहनविक्रम सिंह र कामरेड जलजला बीचको वियोगान्त प्रेमको व्याख्यानमा केन्द्रित रहेको भान पारे पनि पुस्तकले उनीहरूको प्रेम विवरणको बैसाखीमा अडिएर विहंगम विषयहरूउपर विस्तारित विवरण पेश गर्छ ।
उपन्यासमा प्रमुख पात्रको रूपमा उभ्याइएकी छिन् सुनन्दा उर्फ कामरेड भामा । तिनै सुनन्दा मार्फत मोहनविक्रमले आरोपित गरेका छन् पाठकहरूमा आफ्ना तमाम सूचना, अध्ययन र ज्ञानको खजाना । मोहनविक्रमले जे पढेका थिए त्यो, जहाँ घुमेका थिए त्यो, जति सूचना छ उनीसँग त्यो सबैजसो ज्ञान, सूचना, विवरण सुनन्दाको मुखबाट बकाएका छन् । बाँकी केही जलजला मार्फत । र, थप केही अन्य पात्र मार्फत ।
सुनन्दाको सहयोगीका रूपमा छिन् विद्या थापा (रोका ?) । तिनै सुनन्दा र विद्याले चितवन तोरीखेतकी विद्या ढकाल ‘जलजला’लाई खोज्न गरेको प्रयास, त्यसक्रममा व्यहोर्नुपरेको सकस, खोजी यात्राको क्रममा पुगेका स्थानहरूको भौगोलिक, ऐतिहासिक विवरण उल्लेख गर्दै उपन्यास अघि बढ्छ । दार्शनिक विषयहरूमा विमर्श गर्छ । जलजलासँग उनीहरूको भेट, जलजला अजितको प्रेम (उपन्यासमा कामरेड एमबी अजितको रूपमा उपस्थित छन्), त्यसउपर कारबाही, जलजलाको स्वैरकाल्पनिक ब्रह्माण्ड यात्रा मार्फत पिण्ड–ग्रह–तारामण्डल हुँदै ब्ल्याक होलसम्मको मनमोहक वर्णन छ । सडक दुर्घटनामा जलजलाको मृत्यु, त्यसबाट विक्षिप्त सुनन्दा (खासमा मोहनविक्रम) को युरोप यात्रा, त्यसक्रममा युरोपेली क्रान्तिको ऐतिहासिक विवरण उल्लेख गर्दै उपन्यास आखिरी मोडमा आइपुग्छ ।
उपन्यास सकिनुअघि अजित र सुनन्दाको भेट हुन्छ रोल्पाको जलजला धुरीमा र केही नाटकीय घटनाहरूको पटाक्षेप गर्दै उपन्यासले सुनन्दालाई कामरेड भामाको रूपमा रूपान्तरित गराउँछ र जलजलाको प्रेममा वियोग खेपेर भौंतारिएको अजितसँग विवाह हुन्छ कामरेड भामाको । अजितले भामालाई जलजलाको अर्को स्वरुप मानेर जीवनमा भित्र्याउँछन् र उपन्यासको अन्त्य हुन्छ । समग्रमा उपन्यासको मूल कथा यही हो । तर, यो कथाभित्र मोहनविक्रमद्वारा प्रयुक्त तथ्यहीनता, मिथ्या र भ्रमपूर्ण विवरणहरूलाई देखेको नदेख्यै गर्नु नब्बे वर्षीय एक जना प्रबुद्ध ज्येष्ठ नागरिकको मिहिनेतलाई बेवास्ता गर्नु हुन जान्छ भन्ने लागेकाले केही हरफहरू थप्नु उचितै लागेको छ ।
०००
उनी लेख्छन्– कोलम्बसले अमेरिका पत्ता लगाए (पृ. १४५) । लामो समयसम्म पश्चिमी गोलार्धका अमेरिकी महाद्वीपहरू संसारबाट अज्ञात रहे । जब ती महाद्वीपहरूबारे पत्ता लाग्यो, युरोपका सबै जातिहरू बसाइँ सर्दै त्यहाँ पुगे । उत्तरी अमेरिकामा सभ्यताको निर्माण भयो । उनीहरूले छिटो–छिटो विकास गर्दै गए (पृ.५५१) । यी हरफहरूका साथ मोहनविक्रमले आफूलाई युरोपेली अतिक्रमणकारी उपनिवेशवादीहरूले प्रवाहित गरेको भाष्यको हिस्सेदारको रूपमा उभ्याएका छन् । न त कोलम्बसले अमेरिका पत्ता लगाएको हो न त अमेरिकी सभ्यताको इतिहास त्यसपछिबाट शुरू हुने नै हो ।
मोहनविक्रम पहिलोपटक हुम्ला पुग्दैमा या मोहनविक्रमलाई पहिलो पटक हुम्लाको बारेमा थाहा हुँदैमा मोहनविक्रमले हुम्ला पत्ता लगाएको हुँदैन । तपाईंलाई कुनै भूगोलको बारेमा पहिलो पटक जानकारी हुनु या तपाईं त्यहाँ पहिलो पटक पुग्नु र त्यहाँ पहिल्यै नै अरू कोही मौजुद रहेर आफ्नो सभ्यताको भव्य विकास गर्नु बेग्लै कुरा हो । अमेरिकी महाद्वीपमा कोलम्बस नपुग्दै झण्डै १६ हजार वर्षअघिदेखि आधुनिक मानवको उपस्थिति रहेको छ । उनीहरूले त्यहाँको हावापानी, वातावरण, भूगोल, मौसम र अनेकानेक व्याधिहरूसँग जुध्दै, प्रतिकूलताहरूको सामना गर्दै त्यहाँको भूगोलमा पाँच हजार वर्षभन्दा पुरानो करल सभ्यता, बत्तीस सय वर्ष पुरानो ओल्मेक सभ्यता, पच्चीस वर्षजति पुरानो माया सभ्यता, त्यति नै पुरानो जपोटक सभ्यता, वारी सभ्यता, इन्का सभ्यता, मिसिसिपी सभ्यता, एज्टेक सभ्यताको विकास गरिसकेका थिए कोलम्बस त्यहाँ पुग्नुअघि ।
स्पेनिस साम्राज्यका लागि व्यापारको नयाँ मार्ग पत्ता लगाउँदै इन्डिया आउने भनेर सान्ता मारिया नामक पानीजहाज लिएर निस्किएका कोलम्बसलाई आफू कहाँ आइपुगेको हो भन्ने पनि थाहा थिएन । आफू पुगेको स्थान इन्डिया ठानेर आफू पुग्नु अगावै त्यहाँको भूगोलमा बसोवास गरेर सभ्यता विकास गरिरहेका आदिवासी मानिसहरूलाई उनले छालाको रंगको आधारमा अपमानजनक नाम दिए, रेड इन्डियन्स भनेर । सेतो छाला भएका युरोपेलीहरूले युरोपमा पाइने हल्का रातो मुलालाई (सलगम समेत भनिने) रेड्डिस भनेर नाम राखेका थिए । त्यही मुलाको जस्तो छालाको रंग भएका मानिस र आफू पुगेको ठाउँ इन्डिया भनेर उनीहरूलाई रेड इन्डियन भनेका थिए स्पेनिस उपनिवेशवादीहरूले । धेरै पछिबाट मात्र उनीहरूले मेसो पाए आफूहरू इन्डिया होइन, अमेरिकी भूगोलमा पुगेको भन्ने ।
कोलम्बस त्यहाँ पुगेपछि युरोपेली उपनिवेशवादी अतिक्रमणकारीहरू हुलका हुल अमेरिकी भूगोलमा पुगे र त्यहाँको आदिवासीहरूको जल, जमिन र खनिज अतिक्रमण गरेर कब्जामा लिए । युरोपेली जनसांख्यिक, सांस्कृतिक अतिक्रमण गरेर अमेरिकी आदिवासी सभ्यता, संस्कृतिको कत्लेआम गरे । हुँदाहुँदा त्यसरी युरोपबाट उपनिवेशवादी लहरको घोडा चढेर अमेरिकी आदिवासीको जमिन कब्जा गर्न पुगेका श्वेत युरोपेलीका सन्तानहरूले आफूहरू बाहेकलाई आप्रवासी भन्दै अपमानित गरिरहेका छन् आजको दिनमा । यो यथार्थ विपरित युरोपेली उपनिवेशवादीहरूको भाष्यको लौरो समातेर उभिनुपर्ने चेतनाको बुढ्यौलीले ग्रसित मोहनविक्रम कम्युनिष्ट स्कूलको ‘हेडमास्टर’ भइरहनुपर्ने अवस्था नेपाली वाम आन्दोलनको ‘ट्राजेडी’ हो ।
कतिपय सन्दर्भमा मोहनविक्रम पाठकलाई आफ्नो सतही र अर्धज्ञानको सिकार बनाउन कतिसम्म आत्मविश्वासका साथ अग्रसर हुन्छन् भने त्यसले चकित पारिदिन्छ । उनी डार्बिनको जातिहरूको उत्पत्ति (अन दी ओरिजिन अफ स्पिसेस) लाई हवाला दिंदै लेख्छन् – डार्बिनले बाँदरबाट नै मानिसको विकास भएको भनेका छन् (पृ.३६४) । बाँदरबाट या चिम्पाञ्जीबाट मानिसहरूको विकास भएको २५ देखि ३० लाख वर्ष भएको थियो (पृ.३८०) ।
यथार्थमा के हो भने डार्बिनले अन दी ओरिजिन अफ स्पिसेसमा कुनै प्राणी विशेषको पुर्खाको बारेमा खास केही भनेका छैनन् । न त डार्बिनले मानिसको पुर्खा बाँदर या चिम्पाञ्जी हो नै भनेका छन् । मोहनविक्रमको लेखाइले ‘ब्रिटिश एशोसिएसन फर दी एड्भान्समेन्ट अफ साइन्स’ले बेलायतको अक्सफोर्डस्थित ‘अक्सफोर्ड युनिभर्सिटी म्युजियम अफ नेचुरल साइन्स’मा आयोजना गरेको ‘अक्सफोर्ड इभोलुसन डिबेट’को प्रसंग सम्झना गराउँछ ।
डार्बिनको पुस्तक प्रकाशित भएपछि त्यसमाथि योजनाबद्ध नकारात्मक टिप्पणी प्रकाशनको सिलसिला चलेको थियो । इडेनबर्ग रिभ्यू र क्वार्टर्ली रिभ्यू लगायतमा यसरी नकारात्मक टिप्पणी लेखिएको थियो । क्वार्टर्ली रिभ्यूमा परिचय बदलेर १७ हजार शब्दको टिप्पणी लेख्नेमा अक्सफोर्डका पादरी समुएल विल्बरफोर्स थिए ।
चिम्पाञ्जी र गोरिल्लालाई मानिसको पुर्खा भनेर मोहनविक्रमले जसरी उल्लेख गरेका छन्, त्यो पनि सर्वथा गलत छ । ती हाम्रा नजिकका नातेदार हुन्, तर पुर्खा होइनन् ।
विवाद, असन्तोष र रोष भुसको आगो झैं भित्रभित्रै सल्किंदै गएपछि विवादको निकास खोज्न उक्त बहस आयोजना गरिएको थियो । हलको विशाल हिस्सा रुढीवादी चर्चका पादरी र तिनका अनुयायीहरूले भरिएको थियो । वक्ताका रूपमा जीव वैज्ञानिक ओवेन र डार्बिनको प्रवक्ताका रूपमा प्रचारित (अझै डार्बिनका बुल डग समेत भनिने) थोमस हक्स्ले सहित आफ्नो समयका सबैभन्दा प्रखर सार्वजनिक वक्ताका रूपमा परिचित पादरी समुएल विल्बरफोर्स लगायत उपस्थित थिए ।
छलफलमा भाग लिंदै पादरी विल्बरफोर्सले डार्बिनका प्रतिनिधि बनेर उभिएका हक्स्लेलाई कटाक्ष गर्दै सोधे– ‘साँच्चि बाँदर आमापट्टिको हो कि बाउपट्टिको पुर्खा हो तपाईंको ?’ यथार्थमा, डार्बिनले पुस्तकमा मानिसको पुर्खाहरूबारे किटानी गरेर केही उल्लेख नै गरेका छैनन् । खासमा भनिन्छ कि पादरी विल्बरफोर्सले उक्त बहस र टिप्पणी डार्बिनको पुस्तक पूरा नपढिकनै गरेका थिए । यहींनेर उभिएका पाइन्छन् कामरेड मोहनविक्रम पनि ।
यथार्थमा, मानिस बाँदरको सन्तान नभई उद्विकासको लामो प्रक्रिया पार गरेर आएको छुट्टै प्राणी हो । बरु यसको जीवाष्मको अध्ययनले के पुष्टि गरेको छ भने एकसमय आजका मानिस र आजका बाँदरका पुर्खाहरूको जरो एउटै थियो । त्यसको मतलब यो होइन कि मानिसका पुर्खा बाँदर थिए । आजका बाँदरका पुर्खा र मानवका पुर्खा एकापसबाट करिब ३ करोड ५० लाख वर्षदेखि २ करोड ५० लाख वर्षअघि अलग भएका थिए । त्यसरी अलग हुँदाको समयमा बाँदर र मानिसका पुर्खा एकै थिए । अर्थात्, मान्छे र बाँदर दुवैका पुर्खा प्राइमेट्स थिए । तर मानिस र बाँदर कोही पनि एकअर्काका पुर्खा थिएनन् । आजको स्वरुपमा रहेका कुनै पनि प्राइमेट्स या बाँदर कोही पनि मानिसका पुर्खा होइनन् ।
यसर्थ, बाँदरको उत्तराधिकारी होइन मानिस । उद्विकासको समयरेखा पार गर्दै प्राइमेट्स (नर–वानर गण) बाट विकसित भएर एप्स (अपुच्छ बाँदर स्वरूप) हुँदै लामो कालखण्डपछि पहिले आधा बाँदर र आधा मान्छेको स्वरुपको जीव पछि मानिसको स्वरुपमा विकसित भएको हो ।
०००
मोहनविक्रम लेख्छन्– हाम्रो पुर्खा रामापिथेकस नभएर ड्राइपिथेकस हो । ४० लाखदेखि ५० लाख वर्ष पहिले युरोप, एशिया र अफ्रिकामा हाइपिथेकस नामको प्रजाति बस्थ्यो । त्यसबाट तीन प्रकारका बाँदरका जातिहरू उत्पन्न भए– शिवपिथेकस, जिओगान्टोपिथेकस र रामापिथेकस । अघिल्ला दुईवटा जातिहरू मध्येबाट चिम्पाञ्जी र गुरिल्ला उत्पन्न भए । जसलाई एप भनिन्थ्यो । तिनीहरू नै हाम्रा पुर्खा हुन् । त्यसरी रामापिथेकस हाम्रो पुर्खा नै हो, तर बेग्लै हाँगाको (पृ.३६६) ।
पहिले रामापिथेकस हाम्रो पुर्खा होइन भनेर अद्यावधिक तथ्य समातेका मोहनविक्रम यहाँनेर आएर मिथ्या ज्ञानको सिकार हुन्छन् र आफूसँग रहेको त्यही मिथ्या ज्ञानले डामेर पाठकको चेतनालाई प्रदूषित बनाउन कस्सिन्छन् । पहिलो कुरा त रामापिथेकसको अस्थि अवशेष नै १ करोड ४० लाख वर्षभन्दा पुरानो प्राप्त भइसकेको र नेपालको तिनाउ खोला किनारबाट प्राप्त अस्थि समेत १ करोड १० लाख वर्षदेखि ९० लाख वर्ष पुरानो रहेको पाइनुले ४० लाख वर्ष पहिले रामापिथेकस उत्पन्न भएको मोहनविक्रमको विवरण मिथ्या र तथ्यहीन रहेको देखिन्छ । यसबारे थप विवरणलाई हेरौं–
शिवालिक क्षेत्रमा प्राप्त जीवाष्म जसलाई शिवपिथेकस (१ करोड ४० लाख वर्षदेखि ८५ लाख वर्षअघिको जीव मानिएको छ शिवपिथेकसलाई) नाम दिइएको छ । नेपालको बुटवल नजिक सिद्धगुफा अघिको तिनाउ खोला किनारको पहरामा (महोत्तरीमा पनि यो प्रजातिको जीवाष्म पाइएको उल्लेख भएको पाइन्छ) अमेरिकी मानवशास्त्री जेएच हटचिन्सन सहितको टोलीको खोजबाट प्राप्त १ करोड १० लाखदेखि ९० लाख वर्षबीचको पुरानो ठहर्याइएको रामापिथेकसको अवशेष प्राप्त भएको छ । रामापिथेकस यिनै शिवपिथेकस नामक अपुच्छ बाँदरको पोथी हो । रामापिथेकस मानव वंशको पूर्वज नभई मानव, चिम्पाञ्जी, बोनोबो, गोरिल्ला सहितका प्रजातिको साझा पुर्खाहरू सामेल ग्रेट एप्सबाट डेढदेखि साढे दुई करोड वर्षअघि छुट्टिएको पोंगिनैबाट उद्विकास भएको प्राणी भएको ठहर भइसकेको छ ।
ग्रेट एप्सबाट पोंगिनै (Ponginae) र होमिनिनै (Homininae) गरी दुई शाखाहरू विकास भए । होमिनिनैबाट चिम्पाञ्जी, गोरिल्ला, बोनोबो, मानिसको उपशाखाहरूको उद्विकास भयो भने पोंगिनैबाट प्यालोपिथेकस, ओरियोपिथेकस, ड्रायोपिथेकस जस्ता उपशाखाहरूको उद्विकास भयो । तिनै ड्रायोपिथेकस उपशाखाबाट रामा/शिवपिथेकसको उद्विकास भएको र शिवपिथेकसकै उद्विकास अघि बढेर ओराङओटनको स्वरूप निर्माण भएको ठहर भइसकेको छ । यसको पहिलो जीवाष्म पाकिस्तानको शिवालिक क्षेत्रमा पाइएकाले यसको नाम शिवपिथेकस राखिएको हो । आजसम्म प्राप्त यो प्रजातिको जीवाष्ममा टर्कीबाट प्राप्त १ करोड ४० लाख वर्ष पुरानो जीवाष्मलाई सबैभन्दा पुरानो मानिएको छ । अफ्रिकाको केन्याबाट पनि १ करोड ४० लाख वर्ष हाराहारीकै शिवपिथेकसको जीवाष्म पाइएको छ, तर यो टर्कीको भन्दा केही पछिको समयको मानिएको छ ।
यसर्थ, तिनाउबाट प्राप्त अवशेष जसलाई रामापिथेकस भनिएको छ, त्यो शिवपिथेकसको पोथी हो । शिवपिथेकस आजका ओराङओटनको पुर्खा हो, मान्छेको पुर्खा होइन । शिवपिथेकसका पुर्खा अफ्रिकन एप (चिम्पाञ्जी र गोरिल्ला) र मानवको समान पुर्खाबाट अलग भएका थिए १ करोड ५० लाख वर्ष भन्दा पनि पहिल्यै ।
यसैगरी चिम्पाञ्जी र गोरिल्लालाई मानिसको पुर्खा भनेर मोहनविक्रमले जसरी उल्लेख गरेका छन्, त्यो पनि सर्वथा गलत छ । ती हाम्रा नजिकका नातेदार हुन्, तर पुर्खा होइनन् ।
आजभन्दा ५ करोड ५० लाख वर्ष पहिले नर–वानर गण (प्राइमेट) को उदय भयो । ३ करोड वर्षअघि प्राइमेट्सबाट अपुच्छ बाँदर (एप) को उद्विकास भयो । अपुच्छ बाँदरलाई पूरामानव वैज्ञानिकहरूले होमिनोइड (Hominoid) पनि भन्ने गरेको पाइन्छ । एपबाट उद्विकास भएर ग्रेट एप (मानिस, गोरिल्ला, चिम्पाञ्जी, बोनोबो र ओराङओटनका पुर्खा) र लेसर एप (गिब्बोन्स) हरूको उदय भयो । ग्रेट एपबाट ओराङओटनका पुर्खाहरू १ करोड ५० लाख वर्ष भन्दा पहिले अलग भए र बाँकी रहेको समूह होमिनिनै (Homininae) का रूपमा रह्यो । जसमा मानव, चिम्पाञ्जी, गोरिल्ला र बोनोबोका पुर्खाहरू रहे ।
लेख्दालेख्दै मोहनविक्रम उपन्यास लेखिरहेको छु कि पार्टीको विज्ञप्ति भन्ने नै भुल्न पुगे जस्ता देखिन्छन् कुनै पानाहरूमा ।
मानिस, चिम्पाञ्जी र बोनोबोका पुर्खाबाट गोरिल्लाका पुर्खाहरू करिब ८५ लाख वर्षअघि अलग भए भने बोनोबोका पुर्खाहरू मानिस र चिम्पाञ्जीको पुर्खाबाट ८० लाख वर्षजति अघि अलग भए । मानिस र चिम्पाञ्जीका पुर्खा ७५ लाखदेखि ५५ लाख वर्षजति अघि अलग भएको यी जनावरहरूको मोलिक्युलर डीएनएको परीक्षणबाट जानकारी प्राप्त भएको छ । यसरी मान्छेको पुर्खा चिम्पाञ्जी र गुरिल्ला होइनन् । बरु एक समय उनीहरूको पुर्खा साझा थियो । यी साझा पुर्खाबाट उद्विकास भएर भिन्न–भिन्न स्वरुपमा विकास भएका भिन्न–भिन्न जीवहरू हुन् ।
०००
एमबी लेख्छन्– लुम्बिनीमा सन् ६२३ इपू वैशाख ५ पूर्णिमाका दिन एउटा सालको रूखमुनि गौतम बुद्धको जन्म भएको थियो (पृ.१७१) । उनै एमबी फेरि अर्को पृष्ठमा लेख्छन्– लुम्बिनीमा इपू ५६३ वैशाखपूर्णिमाको दिन एउटा सालको रूखमुनि गौतम बुद्धको जन्म भएको थियो (पृ.३९०) । बुद्धको जन्म कहिले भएको भन्नेमै मोहनविक्रमलाई यति भाउँतो छ कि त्यस्तो द्विविधाले पाठकलाई डाम्न उनी क्रान्तिकारी दृढता पेश गरिरहेका भेटिन्छन् ।
०००
टुलु पुन हालको म्याग्दी जिल्लाको पाखापानी गाउँ निवासी थिए । उनले गोरखा राज्यविरुद्ध विद्रोहको झण्डा उठाएका थिए । … पछि पृथ्वीनारायण शाहका फौजका विरुद्धको संघर्षमा उनी मारिएका थिए (पृ.४५३) ।
मोहनविक्रमले यहाँ टुलु पुन भनेर उल्लेख गरेका पात्र हुन् म्याग्दी पाखापानीका बुधे रोहानीका साहिंला छोरा तुले रोहानी (पाइजा?) । पहिलो शहीद भनिएका लखन थापाभन्दा ३६ वर्षअघि वि.सं. १८९७ साउनमा गोर्खाली सत्ता विरुद्ध विद्रोह गर्दा मारिएका । मोहनविक्रम लेख्छन्, पृथ्वीनारायण शाहका फौजका विरुद्धको संघर्षमा मारिएका । पृथ्वीनारायणको मृत्यु भएको थियो वि.सं. १८३१ मा । तुले रोहानी मारिएका थिए पृथ्वीनारायणको मृत्यु भएको ६६ वर्षपछि । उसमाथि पृथ्वीनारायणको फौज उनको पालामा चेपे कटेर लमजुङ, तनहुँमै थाना हाल्न जान सकेको थिए पर्वत राज्य अन्तर्गतको म्यादी पाखापानी पुग्ने त बेग्लै कुरा । अनि उनी कसरी मारिए पृथ्वीनारायणको फौज विरुद्धको संघर्षमा ?
अब गोर्खा राज्य विस्तारको अभियान पृथ्वीनारायणकै अभियानको निरन्तरता भएकाले त्यसपछिका तमाम फौज पृथ्वीनारायणको फौज हो भन्ने हो भने पृथ्वीनारायण नेतृत्वको त्यही गोर्खा राज्य विस्तार अभियानको परिणाममा निर्मित नेपाल राज्यमा गठित मोहनविक्रमको पार्टीलाई पनि पृथ्वीनारायणको पार्टी भन्नुपर्ने हुन्छ र मोहनविक्रमलाई पृथ्वीनारायणको पार्टीको महामन्त्री । अन्यथा, मोहनविक्रमले उल्लेख गरेको टुलु पुन उसै पनि तुले रोहानी नहुन सक्छन् । पाखापानी विद्रोहको तुले रोहानीभन्दा भिन्नै कोही हुन सक्छन् । आख्यानको कोही पात्र हुनसक्छन् । या, हामीलाई थाहा नभएको कुनै अर्कै विद्रोहका नायक । त्यसो हो भने, त्यो इतिहास मोहनविक्रमबाट विस्तृतमा लेखेर नेपाली समाजलाई थप गुन लगाइपाउने आशा गर्न सकिन्छ ।
०००
लेख्दालेख्दै मोहनविक्रम उपन्यास लेखिरहेको छु कि पार्टीको विज्ञप्ति भन्ने नै भुल्न पुगे जस्ता देखिन्छन् कुनै पानाहरूमा । लेख्छन्– हाम्रो शुभकामना छ, त्यो ओलम्पिकमा उनलाई (पलेसा गोवर्धन) उच्च सफलता प्राप्त होस् (पृ.७४१) । जबकि मोहनविक्रमको उपन्यास आउनुअघि नै पलेसाले पेरिसमा आयोजित पारा ओलम्पिकमा कांस्य पदक जितिसकेकी थिइन् । एउटा खेलाडीलाई एउटा खेलका लागि एउटा लेखकले उपन्यासमा शुभकामना दिने कुरा बडो रोचक छ ।
पुस्तक निकै मोटो भएकाले हुनसक्छ, मोहनविक्रम आफ्ना पात्रहरूमा पनि झुक्किए जस्ता लाग्छन् । पुस्तकभरि विद्या थापा रहेकी पात्र पृष्ठ १२६४ मा विद्या रोका हुन्छिन् । आफैंले अघिल्ला पृष्ठहरूमा जलजलाको मृत्यु सुनन्दाले दिल्ली जोरवागस्थित डेरामा मसालका कार्यकर्ता यमलाल पोखरेलबाट थाहा पाएको लेख्छन् । पृष्ठ ८०६ मा यसबारे प्रष्ट उल्लेख छ । उनैले अर्को पृष्ठमा लेखेका छन्– अखबारबाट उनलाई (सुनन्दालाई) जलजलाको मृत्युबारे थाहा भएको थियो (पृ.११३७) । पुस्तकभरि यस्ता अनेकन् द्विविधा छन् । अतथ्यहरू छन् । अर्ध तथ्यहरू छन् । मिथ्या ज्ञान छ । ती सबैबारे उल्लेख गर्ने हो भने जलजला आकारकै अर्को किताब लेख्न सकिन्छ ।
०००
यो पुस्तक पढिसक्दा मलाई दुई वटा कुराहरूले निकै तरंगित बनायो । पहिलो हो, लेखकले गरेको आफ्नी कान्छी पत्नी दुर्गा पौडेलको अतिशय सौन्दर्यकरण । यस्तो लाग्छ, यो पुस्तक लेख्नुको खास उद्देश्यमध्ये एउटा मोहनविक्रमकी कान्छी पत्नी दुर्गा पौडेलको व्यक्तित्वको अप्रत्यक्ष तवरले सौन्दर्यकरण गर्नु । लम्पट स्तरमा उत्रिएर मोहनविक्रमले उपन्यासमा दुर्गा पौडेलको सौन्दर्यकरण गरेका छन् ।
अर्को हो, वामपन्थी वृत्तमा भुसको आगो झैं पुत्पुताइरहेको जलजलाको मृत्यु सम्बन्धी गुप्त हल्लालाई ठोस आकार दिने मोहनविक्रमको प्रस्ट प्रयास । जलजलाको दुर्घटनामा मृत्यु भएको नभई उनलाई बसबाट धकेलेर हत्या गरिएको हो भन्ने हल्लालाई बल दिने गरी उनले लेखेका छन्– ‘बाहिर कैयन् प्रकारका हल्लाहरू चलिरहन्थे । त्यसप्रकारका हल्लाहरूमा कुनै बेला अजितलाई मार्ने र कुनै बेला जलजलालाई समाप्त गर्ने हल्लाहरू पनि चल्थे । एउटा पत्रमा जलजलाले आफूलाई ‘खत्तम’ गर्नका लागि जाल रचेको कुरा उल्लेख गरेकी थिइन् (पृ.८२४) ।’
यसले जलजलाको मृत्युलाई झनै संशयपूर्ण बनाइदिएको छ । उनको मृत्यु स्वाभाविक बस दुर्घटनामै भएको थियो कि योजनाबद्ध षड्यन्त्र अन्तर्गत गुडिरहेको बसबाट धकेलेर गरिएको हत्या अन्तर्गत भएको थियो ? यदि त्यही षड्यन्त्रले आकार लिएर जलजलालाई खत्तम गर्ने योजना अन्तर्गत उनी मारिएकी थिइन् भने त्यसको जिम्मेवार को थियो ? यसबारे भने मोहनविक्रमले उपन्यासमा केही पनि उल्लेख गरेका छैनन् । जसरी उनले विश्व कम्युनिष्ट आन्दोलनको व्याख्या गर्ने क्रममा यो किन धरासायी हुन गयो भन्ने कुनै समीक्षा गरेका छैनन् । न नेपालकै कम्युनिष्ट आन्दोलनका नेताहरू किन आन्दोलन टाक्सिंदै गएर सुकेनास लाग्ने अवस्थामा पुग्दा पनि नेतृत्व नछाडी एकथान मन्त्री सरहको अघोषित सुविधा हात पार्नको लागि पार्टीको नेतृत्व ओगटेर बसिरहेका छन् भन्नेबारे पनि कुनै धारणा नै छ ।
यसबाट अनुमानित प्रश्न गर्न सकिन्छ– यति भीमकाय उपन्यासमा पनि उल्लेख गर्न नभ्याइएको कुरा समेटेर कामरेड एमबी सिंह दोस्रो उपन्यास लेख्दैछन् ? छन् भने, उनलाई उमेर र सक्रियताका लागि शुभकामना ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर