Wednesday, February 26, 2025
घरसमाचारकरोड बार्गेनिङको अडिओ ‘लिक’, प्रहरीले सुरु गरेको थियो केरकार

करोड बार्गेनिङको अडिओ ‘लिक’, प्रहरीले सुरु गरेको थियो केरकार

१३ फागुन, काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा सोमबार साँझ कलंकीस्थित आफ्नै साथीको कोठामा अचेत भेटिए ।

धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा धुनीबेसी नगरपालिका-८ घरका शिव कुँवरको कोठामा अचेत फेला परेका थिए । उनी भेटिएको कोठामा विषको खाली बट्टासमेत फेला परेको थियो ।

थापालाई तत्कालै उद्धार गरी कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइयो । उपचारकै क्रममा सोमबार साँझ ६:३८ बजे चिकित्सकले थापालाई मृत घोषणा गरेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्का बताउँछन् । ‘अचेत अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरे,’ खड्काले अनलाइनखबरसँग भने ।

मन्त्रीका स्वकीय सचिवको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा तीन पेज लामो सुसाइड नोट भेटियो । एक प्रहरी अधिकृतका अनुसार सुसाइड नोटमा सहकारीको विषय र केही पारिवारिक विषय उल्लेख छ ।

‘एउटा सुसाइड नोट पनि फेला परेको छ । पारिवारिक र सहकारीका केही विषय उल्लेख छन् । आफ्नो बेइज्जत गर्न खोजेपछि आत्महत्याको निर्णयमा पुगेको ब्यहोरा सुसाइड नोटमा उल्लेख छ,’ एक अनुसन्धान अधिकृतले भने । घटनास्थलमा भेटिएको उक्त सुसाइड नोटको आधिकारिकता पुष्टि हुन भने बाँकी नै छ । फरेसिन्क जाँचबाट उक्त सुसाइड नोट थापाले ने लेखेका हुन्/होइनन्, यकिन हुन बाँकी छ ।

अडिओमा आचार्यले ‘अब कसरी अघि बढ्ने तपाईंहरुले नै भन्नूस्’ भनेको सुनिन्छ । त्यसपछि थापा र बर्तौलाले फोनमार्फत कर्मचारीदेखि सबै मिलाउनुपर्ने र त्यसका लागि रकम चाहिने बताउँछन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा थापाले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । यद्यपि, यसको पनि आधिकारिक पुष्टि भएको छैन । मंगलबार मात्रै थापाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । पोस्टमार्टम रिपोर्ट समेत आउन बाँकी नै छ । प्रहरीको अहिलेसम्मको अनुसन्धानमा उनको मृत्यु प्रकरणमा सहकारी र सार्वजनिक भएको अडिओसम्बन्धी विषय रहेको हुनसक्ने आशंका गरिएको छ ।

के छ बार्गेनिङ अडिओमा ?

जनआस्था साप्ताहिकको अनलाइन संस्करणले गत आइतबार मात्रै सहकारीको विषय सल्टाउने भन्दै बार्गेनिङ गरेको अडिओ सार्वजनिक गरेको थियो । उक्त अडिओमा हाल मृत्यु भएका थापाका साथै धादिङका राजु बर्तौला र ललितपुरको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका तत्कालीन सचिव विनोद आचार्यबीच कुराकानी भएको बताइएको छ ।

अडिओमा अब कसरी अघि बढ्ने तपाईंहरुले नै भन्नूस् भन्दै आचार्यले भनेको सुनिन्छ । त्यसपछि थापा र बर्तौलाले फोनमार्फत कर्मचारीदेखि सबै मिलाउनुपर्ने र त्यसका लागि रकम चाहिने बताउँछन् ।

अरु भागिसके अब तपाईं भाग्ने कि नभाग्ने भन्दै बार्गेनिङ गरेको सुनिन्छ । आरजुको नाम समेत अडिओमा लिएको सुनिन्छ । मन्त्री मदुको नाम पनि लिइएको छ । बागमती प्रदशेमा ३ हजार ७ वटा

सहकारीमा ३ सय वटा सहकारी समस्याग्रस्त घोषणा भएको बताउँदै आचार्यसँग बार्गेनिङ गरेको सुनिन्छ ।

‘आफूलाई कसरी सहज हुन्छ त्यही अनुसार काम गर्नुस् । धेरै लम्बाई–चौंडाई कुरा गरेर काम पनि छैन,’ सचिव आचार्यलाई भनिन्छ । उनले कसरी गर्ने त भन्छन् । ‘अब कसरी टाल्ने तपाईंले ल्याउने, हामीले काम गर्ने । मदु दाइको टेन्सन नलिनु, काम हुन्छ’ भन्ने जवाफ आचार्यलाई दिइन्छ ।

कति गरम भन्नु, म गर्छु भन्दै आचार्यले जवाफ फर्काउँछन् ।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको नाम लिँदै बार्गेनिङ गरिएको अडिओ बाहिरिएपछि सोमबार मात्रै एक व्यक्तिमाथि धादिङ प्रहरीले केरकार गरेको थियो ।

‘कर्मचारीले जति पनि माग्छन् । १ करोड २ करोड नै भन्लान् जस्तो लाग्छ । तपाईंको समस्या ठूलो छ । तत्कालका लागि १० लाख,’ अडिओमा सुनिन्छ ।

मन्त्री मदुको नाम लिँदै बार्गेनिङ गरेको उक्त अडिओ बाहिरिएपछि सोमबार मात्रै एक व्यक्तिमाथि धादिङ प्रहरीले केरकार गरेको थियो ।

मन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालय धादिङलाई एक पत्र पठाउँदै घटनाबारे अनुसन्धान गर्न भनेका थिए । उक्त पत्र सोमबार मात्रै प्रहरीले पाएको थियो । मन्त्रीको पत्र आएपछि नाम उल्लेख भएका राजु बर्तौला नाम गरेका व्यक्तिलाई बोलाएर सोधपुछ गरिएको धादिङका डीएसपी तथा प्रवक्ता सुवास हमालले बताए ।

‘मन्त्रीज्यूको पत्र आएपछि हामीले बर्तौलालाई बोलाएर सामान्य सोधपुछ गरी छाडेका हौं । यो घटनाको प्रारम्भिक अनुसन्धान सुरु मात्रै भएको छ,’ हमालले अनलाइनखबरसँग भने ।

यद्यपि, उक्त अडिओको आधिकारिकता पुष्टि हुन बाँकी नै छ । ‘सार्वजनिक भयो भनिएको अडिओ सत्य हो/होइन भन्ने यकिन भइसकेको छैन । यसको फरेन्सिक जाँच हुन बाँकी नै रहेकाले उक्त अडिओलाई अहिले नै सत्य मान्न सकिन्न,’ डीएसपी हमाल भन्छन् ।

१२ मिनेट २२ सेकेन्डको अडिओमा समस्यग्रस्त भएको उक्त सहकारीको विषय सल्टाउने भन्दै फोनमार्फत बार्गेनिङ भएको सुनिन्छ । समेरु सहकारीलाई मन्त्री मदुको मन्त्रालय मातहत रहेको सहकारी महाशाखाले गत २८ पुस २८ समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । रकम पाएमा सोही सहकारीको समस्या सल्टाउने र सबै फाइल नै उडाउनेसम्मको कुराकानी सार्वजनि अडिओमा सुनिन्छ ।
‘सुमेरुलाई समस्याग्रस्त घोषणा गरेपछि मन्त्रीलाई बद्नाम गराउन खोजियो’

बागमती प्रदेशका सहकारी मन्त्री मदुले भने समेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि आफूलाई बद्नाम गर्ने योजनाअनुसार अडिओ बनाइएको दाबी गरेका छन् । ‘समेरु सहकारीलाई समस्याग्रस्त घोषणा नगर्न भन्दै मलाई दबाब आएको थियो । तर कसैको कुरा नसुनी मैले समस्याग्रस्त घोषणा गरें । त्यसपछि मलाई बद्नाम गराउने उद्देश्यअनुसार यो अडिओ आएको हो । यसमा कुनै बार्गेनिङ भएको छैन,’ मन्त्री मदुले अनलाइनखबरसँग भने ।

सार्वजनि अडिओमा आफ्नो नाम सुनेपछि छानबिन गरी कारबाही गर्न भन्दै सोमबार मात्रै धादिङ प्रहरीमा उजुरी दिएको उनको भनाइ छ । उनका अनुसार राजु बर्तौला र सुमेरु सहकारीका तत्कालीन सचिव विनोद आचार्यमाथि छानबिन गरी कारबाही गर्न भन्दै उजुरी दिइएको थियो ।

लगत्तै सोमबार प्रहरीले बर्तौलालाई बोलाएर केरकार सुरु गरेपछि अडिओमा बोलेका अर्का मन्त्रीका स्वकीय थापाको मृत्यु भएको छ । थापाले सुसाइड नोटमा समेत मन्त्रीले राम्रो काम गरेकाले आफू र मन्त्रीलाई बद्नाम गराउन खाजेको विषय उल्लेख गरेको मन्त्री मदुको दाबी छ ।

उनका अनुसार हाल मृत्यु भएका स्वकीय सचिव थापा गत शनिबार र आइतबार बिदामा थिए । अडिओ गत शुक्रबारको भनिएको छ । आइतबार समेत बिदामा बसेका उनको सोमबार साँझ मृत्यु भएको थियो ।

रेड नोटिस जारी हुँदा पनि पक्राउबाट बाहिरै छन् समेरुका अध्यक्ष

जुन सहकारीको समस्या सुल्झाउने भन्दै बार्गेनिङ भएको अडिओ सार्वजनिक भएको छ, त्यो सहकारीका अध्यक्ष भने बचतकर्ताको कराडौं रकम लिएर विदेशमा आनन्दले बसेका छन् । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समिति र प्रहरीका अधिकारीहरुले समेत सुमेरु सहकारीका अध्यक्ष भरत महर्जन बेलायतमा बसेको बताएका थिए ।

बचतकर्ताको रकम लिएर श्रीमतीसाथ बेलायत पुगेका उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । संसदीय छानबिन समितिले महर्जनलाई विदेशबाट झिकाउनुपर्ने भन्दै सरकारलाई निर्देशन समेत गरेको थियो । तर अहिलेसम्म उनी कानुनी दायरामा आउन सकेका छैनन् ।

सहकारी ठगी प्रकरणमा महर्जनविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यति हुँदा समेत उनी पक्राउ नपरेपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो । तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।

फरार महर्जनले ८ निजी कम्पनी र ३ व्यक्तिका नाममा फर्जी ऋण खडा गरेर झन्डै चार अर्ब अपचलन गरेको निष्कर्षसहित जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो ।

सहकारी संकटमा परेपछि बेलायत पुगेका महर्जनलाई फिर्ता ल्याउन भन्दै प्रहरीले १९ माघ २०८० मा रेड नोटिस जारी गरेको थियो । तर अहिलेसम्म उनलाई प्रहरीले नेपाल फिर्ता ल्याउन सकेको छैन । महर्जनले तीन अर्बभन्दा बढी रकम हुन्डीबाट विदेश लगेको बताइन्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -