११ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । भारतका लागि विराट कोहलीले अविजित शतकीय पारी खेले । कोहली १११ बलमा ७ चौकासहित १०० रनमा अविजित रहे ।
त्यस्तै श्रेयस अय्यरले ५६ तथा शुभमन गिलले ४६ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले २ विकेट लिँदा अबरार अहमद र खुशदिल शाहले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २४१ रन बनाएको थियो । सौद शकीलले ६२ तथा कप्तान मोहम्मद रिजवानले ४६ रन बनाए ।
भारतका लागि कुलदीप यादवले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिए । हार्दिक पान्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
योसँगै भारतले समूह ए मा भारतले २ खेलमा ४ अंक जोडेको छ । सोमबार हुने खेलमा न्युजिल्याण्डले बंगलादेशलाई हराएमा पाकिस्तान र बंगलादेश बाहिरिनेछन् ।