काठमाडौं, ८ फागुन – नेपालका लागि बेलायतका राजदूत रोब फेन र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का बीच आज शिष्टाचार भेटवार्ता भएको छ। उक्त भेट वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) द्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा सम्पन्न भएको हो।
बैठकमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई ऊर्जा क्षेत्रमा थप विस्तार गर्ने विषयमा छलफल भएको थियो। मन्त्री खड्काले बेलायत सरकार तथा यूकेएड द्वारा नेपालमा नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। विशेषगरी, ऊर्जा क्षेत्र सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा योजना तथा भूकम्पपछिको पुनर्निर्माण लगायतका कार्यक्रमहरूमा बेलायतले दिएको योगदानको उहाँले प्रशंसा गर्नुभयो।
मन्त्री खड्काले हालै नेपाल सरकारले पारित गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ अनुरूप विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न यस्ता अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रम लाई थप दुई वर्ष निरन्तरता दिन बेलायती पक्षसँग आग्रह गर्नुभयो। साथै, नेपालमा स्वच्छ ऊर्जा प्रवर्द्धन र ऊर्जा संक्रमण प्रक्रियामा बेलायतको निरन्तर साझेदारी आवश्यक रहेको बताउँदै द्विपक्षीय सहकार्यलाई अझै मजबुत बनाउने आशा व्यक्त गर्नुभयो।