काठमाडौं । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट जारी राष्ट्रका नाममा गरिएको भिडियो सन्देशलाई विश्व हिन्दू महासंघले स्वागत गरेको छ। महासंघकी अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा राष्ट्रको एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र स्थायी शान्तिका लागि पूर्वराजाद्वारा व्यक्त गरिएको सन्देशप्रति पूर्ण समर्थन जनाइएको छ।
विज्ञप्तिमा नेपालमा बढ्दो धर्मान्तरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि सबै राष्ट्रवादी शक्तिहरू एकजुट हुन आवश्यक रहेको उल्लेख छ। “नेपालको मौलिक पहिचान, हिन्दू-बौद्ध संस्कृतिको संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय अखण्डताको रक्षाका लागि हामी सबै नेपालीहरूले साझा रूपमा अघि बढ्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
महासंघले वर्तमान राजनीतिक परिस्थितिप्रति पनि चिन्ता व्यक्त गर्दै मुलुकलाई स्थायी शान्ति, समृद्धि र स्थिरतातर्फ अघि बढाउन राष्ट्रप्रेमी, प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिहरूलाई संगठित भएर लाग्न आग्रह गरेको छ।
पूर्वराजा ज्ञानेन्द्रले हालै राष्ट्रको हित र एकता कायम राख्नका लागि सम्पूर्ण नेपालीलाई साथ दिन आग्रह गर्दै भिडियो सन्देश जारी गर्नुभएको थियो। उहाँको उक्त अभिव्यक्तिलाई ऐतिहासिक सन्दर्भमा महत्वपूर्ण मान्दै महासंघले नेपाली जनता, धार्मिक तथा सांस्कृतिक संगठनहरू र सबै राष्ट्रवादी शक्तिहरूलाई स्वाभिमान र राष्ट्रिय अस्तित्वको रक्षा गर्न संगठित हुन अपिल गरेको छ।
विज्ञप्तिमा धर्म, संस्कृति र परम्पराको संरक्षण नै नेपालको पहिचानको आधार भएकाले यसको रक्षा गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने उल्लेख छ। महासंघले देशका सम्पूर्ण देशभक्त नागरिकलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, शान्ति र समृद्धिको यात्रामा साथ दिन आग्रह गरेको छ।