६ फागुन, काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जानको नाम सिफारि गर्न विलम्ब गरेको छ । फागुन २ र ३ गते सर्ट लिस्टमा परेको १० जनाको अन्तर्वार्ता लिएसँगै प्रक्रिया सकिएको हो।
अन्तर्वार्ता सकिएको तीन दिन भयो तर समितिले नाम सिफारिस गर्न सकेको छैन । सिफारिस समितिको संयोजकमा पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । तीन जनाबीच नै सहमति हुन सकेको छैन।
समितिका सदस्य नै तीनतिर भएपछि नाम सिफारिस गर्न नसकिएको केयूका प्राध्यापकहरू नै बताउँछन् । उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।
यी १० जनजाबाट तीन जनाको नाम सिफारिस गर्नुपर्ने हो । नाम सिफारिस गर्न ढिलाइ भइरहेकोबारेमा समितिका संयोजक शर्मासँग अनलाइनखबरकर्मी दिनेश गौतमले कुराकानी गरेका छन्।
उपकुलपतिका उम्मेद्वारको अन्तर्वार्ता सकिएको पनि तीन दिन भयो । नाम सिफारिस गर्न किन विलम्ब ?
काम भइरहेको छ । सिफारिस गर्न गाह्रो हुने रहेछ । छिटै गर्न खोजेको हो ढिलाइ भइरहेको छ । अब दुई तीन दिनमा भइहाल्छ ।
समितिका तीन सदस्य तीन तिर भएकाले ढिलाइ भएको भन्ने छ नि ?
अलिअलि छलफल त हुनै पर्यो नि । छलफल भएको कुराालई विवाद भनिहाल्नु हुदैन ।
तीन जनाले उपकुलपतिका तीन उम्मेद्वार बोकेको र बिमती भएपछि ढिलाइ भएको भन्ने सुनिन्छ नि ?
ढिला भएपछि त्यो कुरा आउने भयो । निष्कर्षमा पुग्न सहमति गर्नै पर्छ । छलफलका क्रममा सबैले आफ्नो वकालत त गर्छन् नै । त्यो अप्राकृतिक होइन, प्राकृतिक हो ।
त्यसोभए मेरिटको आधारमा सिफारिस गर्नुहुन्छ कि व्यक्ति हेरेर गर्नुहुन्छ ?
मेरिटको आधारमा सिफारिस गर्न अधिकार दिएको छ। विश्वविद्यालयको हितालई पनि मध्यनजर गरेर गर्नुपर्छ । संस्थालाई बिगार्नु हुँदैन । संस्थाको हितलाई हेरेर सिफारिस गर्नुपर्छ ।
तपाईकै नेतृत्वमा केयू बन्यो । तर उपकुलपति छनोटको विषयमा बारम्बार तपाईंमाथि प्रश्न उठिरहेको छ नि ?
प्रश्न त उठिहाल्छ नि । हरेक कुरामा प्रश्न उठिरहेको छ । केयूमा मात्र होइन । सबै क्षेत्रमा यस्तै छ । प्रश्न उठ्नुलाई नराम्रो मान्दिन । संस्थाको हितमा निर्णय गर्नुपर्छ भन्ने मेरो मान्यता हो । निकास निस्कन्छ पनि ।
मेरिटको आधारमा तीन भित्र परेकोलाई फालेर अर्कोलाई ल्याउन लागिएको भनेर बाहिर कुरा आइरहेको छ । सिफारिसमा कसैको दबाब आएको हो ?
सिफारिस गर्ने एउटा आधार नम्बर नै हो । अर्को संस्थाको हितमा हेर्ने हो । संस्थाको हितलाई हेरेर मेरिटको आधारमै गर्ने हो ।
कुनै व्यक्तिको लागि तपाईंको अडान होइन ?
व्यक्तिको बारेमा छलफल भएको छ । तर मेरो कुनै व्यक्तिको लागि अडान छैन । सिफारिस गर्ने तीन जना राम्रो पर्नुपर्छ भन्ने मेरो धारणा हो । सिफारिस पनि त्यसैगरी गर्ने हो ।
उपकुलपतिको नाम सिफारिस गर्न यसपकट किन यति धेरै पेचिलो भयो ?
धेरैको राय र विचार सुन्नुपर्छ । हामीले बनाएको आधार पनि पालना गर्नुपर्छ । केयूमा मात्र होइन अरुमा पनि पेचिलो भइरहेको छ । हामी पनि अलग रहन्छौं भन्ने छैन ।
उम्मेद्वार नै एकअर्कालाई हिलो छ्याप्ने काम गरिरहेका छन् । यसले केयूको शाख त गिर्यो नि हैन र ?
त्यसैले त विशेष समय दिनु परेको नि । यो विषयमा हामीले विचार गरिरहेका छौं ।
तीन जनाको नाम तय भएको छ कि छैनै ?
नाममा छलफल भएको छ तर अहिले नै नाम भनिहाल्ने स्थिति छैन ।
त्यसोभए कहिले नाम सिफारिस गर्नुहुन्छ त ?
छिटै गर्ने हो । एक दुई दिनमा कुलपतिलाई भेट्छौं ।