सुरक्षाको कारणले यहाँ मेरो नाम उल्लेख गर्न चाहन्न । उच्च शिक्षा अध्ययनका लागि छिमेकी मुलुक आएका बेला हामीले भोग्नु परेको पीडा र एक जना नेपाली विद्यार्थीको न्यायका लागि आवाज उठाइदिनु भएकोमा सबैलाई धन्यवाद ।
हाम्रो कलेज (कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी–केआईआईटी) मा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्सालको निधन भएको घटना अब सबैलाई थाहा छँदैछ । पहिले प्रकृतिले दुई पटक आफूलाई त्यो केटा (अड्वीक श्रीवास्तव) ले ह्यारेसमेन्ट गरेको भनेर इन्टरनेशनल रिलेसन अफिसर (आरआरओ) लाई निवेदन दिएकी थिइन् ।
तर, कलेजबाट निवेदनमाथि गम्भीरतापूर्वक सुनुवाइ भएको थिएन । पहिलो पटक केही दिन सस्पेन्ड गरिए पनि दोस्रो पटक पनि त्यत्तिकै छाडियो । त्यही कारण आज हाम्री साथी प्रकृतिले ज्यान गुमाउनुपर्यो ।
उनले ज्यान गुमाएपछि हामीले त्यस्तो घटना फेरि नदोहोरियोस् भन्ने उद्देश्यले पनि विरोध प्रदर्शन गर्यौं । विरोध गर्ने कुरा प्रकृतिको न्यायका लागि त छँदै थियो, सँगै आइन्दा यस्तो नदोहोरियोस् भन्नलाई खबरदारी पनि थियो ।
तर, हामी विद्यार्थीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पनि पाएनौं । हामीले न्याय माग्नु नै अपराध जस्तो ठान्यो कलेज प्रशासनले ।
विद्यार्थी लखेट्न गुण्डाको प्रयोग
सोमबार बिहान करिब ८ बजेतिर हाम्रो होस्टलको कोठामा कलेजका बाउन्सर (स्थानीय गुण्डाहरू जस्तो लाग्ने) जबरजस्ती प्रवेश गर्न थाले ।
कलेजको अन्तर्राष्ट्रिय होस्टलको केपी८ए, केपी८बी/सी र केपी२६ मा उनीहरू ढोका ढक्ढक्याउँदै आइपुगेका थिए र हामीलाई जबरजस्ती निकालेका थिए । छिर्नेवित्तिकै उनीहरूले सुरुमा ‘नेपाली हो ?’ भनेर सोध्थे । त्यसपछि हो भन्ने वित्तिकै उनीहरूले केही नसोधी बाहिर निस्किन भन्थे । अलिकति ढिला गर्ने बित्तिकै बाहिर निकाल्थे ।
उनीहरूले हामी विद्यार्थीलाई धेरैमा दुईदेखि तीन मिनेट मात्र दिए, ब्याग प्याक गर्नलाई । बरु ढिला गरे कुटपिट गर्ने चेतावनी दिइरहे ।
त्यस्ता गुण्डाहरूले फोन गरिरहेका विद्यार्थी देखे भने मोबाइल खोस्थे । करिडोरमै कुटपिट गर्थे । एउटा विद्यार्थीलाई पिट्न ५/७ जना त्यहाँ जम्मा हुन्थे र निर्घात कुटपिट गर्थे । कतिपय विद्यार्थीहरूको रगत बगिरहेको तस्वीरहरू सामाजिक सञ्जालमा समेत भाइरल भएका छन् ।
त्यसरी विद्यार्थीको होस्टल कोठामा प्रवेश गरेका बाउन्सरहरूले हाम्रो मोबाइल फोन लिएर इन्स्टाग्राम, ह्वाट्स एप, फोटो र म्यासेजहरू हेर्थे । यदी विरोध गरेको तस्वीर वा कुनै पोष्टहरु भेटे, डिलिट गरिदिन्थे र शारीरिक यातना समेत दिन्थे ।
कसैले मोबाइल दिन नमान्दा जबरजस्ती खोसेर कुटपिट पनि गर्थे । एक जना साथीले धेरै जनाले आक्रमण गर्दा पनि मोबाइल दिन मानेनन् । उनले यति पिटाइ खाए कि उभिन नसक्ने भए । तर, अन्तिममा ट्राउजर तानेर समेत उनीहरूले मोबाइल लगिछाडे ।
यदी कसैले आफ्नो साथीको पक्ष बोल्यो अथवा के भइरहेको छ भनेर प्रश्न गरियो भने उनीहरूलाई तत्कालै घिसारेर बाहिर निकालियो । कहिले भित्तामा लगेर पटकपटक गालामा झापड हानियो । हाम्रा कतिपय साथीहरूले यति पिटाइ खाए कि उनीहरूको निकै बेरसम्म रगत बगिरह्यो । हामी हाम्रै कलेजभित्र कैदी जस्तै भयौं ।
जब हामीले यो आक्रमणबारे सोधपुछ गर्यौं, त्यतिबेला जवाफ सुनेर छक्क पर्यौं । उनीहरूले दाबी गरे कि नेपाली विद्यार्थीलाई निकाल्नलाई प्रशासनको उच्च तहबाटै खटाइएको हो ।
शारीरिक आक्रमण, कुटपिटपछि नेपाली विद्यार्थीलाई दबाबपूर्ण रुपले भुवनेश्वर, कटक, खुर्दा र माँचेश्वरमा रहेको विभिन्न रेलवे स्टेशनतिर लगे । जतिबेला नेपाली विद्यार्थीसँग केही खाने कुरा थिएन, टिकट थिएन । फर्किनलाई पैसा पनि थिएन ।
यसरी हामीलाई जबरजस्ती निकालिएकामा पुरुष विद्यार्थी मात्र थिएनन्, महिला पनि थिए । केटीहरूलाई जबरजस्ती आफूहरूले स्वेच्छाले कलेज छाड्न लागेको भनेर कागजमा हस्ताक्षर गर्न लगाइएको थियो ।
यस्तो घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नोटिसमा लिएको भन्दै फेसबुकमा लेख्नुभयो । दिल्लीस्थित नेपाली दूतावासले पनि यसबारे बोल्यो । हाम्रो अवस्थाबारे बोल्न भारतीय सञ्चारमाध्यमहरू पनि विभिन्न ट्रेन स्टेसनमा आइपुगे ।
हामीलाई होस्टल छाड्न भनेर सुरुमा कलेजले नै सूचना जारी गरेको थियो । चौतर्फी दबाबपछि मात्रै कलेज आफ्नो निर्णयबाट पछि हट्न बाध्य भयो । १२ घन्टाको बीचमा कलेजले दुई वटा सूचना जारी गर्यो, त्यसमा एउटामा तत्काल होस्टल छाड्न भनेर उद्र्दी जारी गरिएको थियो भने अर्कोमा फर्किएर आएर पढ्न थाल्न भनिएको थियो ।
छोटो अवधिमा आएका दुई फरकफरक विज्ञप्तिले पनि कलेज प्रशासनको नियतलाई स्पष्ट पार्छ भन्ने लाग्छ । सुरुमा केआईआईटीले रेलवे स्टेशन छेउछाउमा आफ्ना मानिस र पुलिसहरू परिचालन गरेको थियो, विद्यार्थीलाई हटाउनलाई । तर, अहिले विस्तारै परिस्थिति साम्य भएको छ ।
हाम्रा मागहरू
आज दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना सुरक्षा अधिकृत पनि आएर हामीसँग छलफल गर्नुभएको छ । उहाँहरूले प्रशासनसँग भेट्नुअघि आफ्नो देशका विद्यार्थीहरूसँग छलफल गर्न चाहनु भएको रहेछ । हामीलाई यो एकदमै राम्रो लाग्यो ।
उहाँहरूले प्रशासनले निष्पक्षतापूर्वक छानबिन गरेर न्याय दिने प्रतिबद्धता आएको जानकारी पनि गराउनु भएको छ । यतिबेलासम्ममा ओडिसा प्रदेश सरकारले पनि यो मामलामा उच्च स्तरीय छानबिन समिति बनाएको छ ।
हाम्रो प्राथमिक माग के छ भने जसरी हामीलाई सोमबार बिहान ७ बजेदेखि अध्याह्न १२ बजेसम्म कुटपिट गर्दै दुर्व्यहार र अपमानजनक ढंगले कलेजबाट निकालिएको छ, त्यो विषयमा पनि गम्भीरतापूर्वक जाँच होस् । त्यसमा संलग्नलाई कारबाही होस् ।
त्यो अवधिको सीसीटीभी फुटेज निकालेर छानबिन होस् भन्ने हाम्रो भनाइ हो । यो कलेजमा कुनै पनि यस्तो ठाउँ छैन, जुन सीसीटीभीको निगरानीमा नहोस् । कतिपयले त्यतिबेला सीसीटीभी बन्द थियो भनेका छन्, तर त्यसको वास्तविकता के हो भन्ने पनि जाँचबुझ होस् । यदि बन्द थियो भने के नियतले बन्द थियो भन्ने पनि जाँच होस् ।
अरु भिडियोबाट पहिचान खुलेकाहरूको हकमा त्यसकै आधारमा छानबिन हुनुपर्छ । हामी पनि त्यसमा सहयोग गर्न तयार छौं । विद्यार्थीलाई दुर्व्यवहार गर्ने प्रोफेसर र कलेजका प्रशासनलाई समेत कारबाही होस् भन्ने हाम्रो माग हो ।
अन्तिममा कलेजमा भर्खरै पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरू पनि छन् । उनीहरूले अझै तीन वर्ष पढ्नु छ । त्यसैले सधैँभरिलाई सुरक्षा ग्यारेन्टी हुने र प्रतिशोध नसाँधिने परिस्थिति होस् भन्ने हाम्रो भनाइ हो ।
(ओडिसाको केआईआईटी कलेजमा अध्ययतरत एक विद्यार्थीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित सामग्री)