रिकुको परिवारसँग घटनाबारे जानकारी लिँदै छानबिन समिति र घटना दबाउन बसेको पन्चायती
६ फागुन, काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको मृत्युका विषयमा अनुसन्धान गरेको प्रहरीले घटना दबाउन बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको छ ।
मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वको टोली घटनास्थलमै गएर अनुसन्धान गरिरहेको छ । सो क्रममा मध्यराति भएको घटना दबाउन पञ्चायती बसेको र रकममा बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको हो ।
छानबिन समितिका संयोजक एसएसपी कोइरालाले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘पञ्चायती बसेको र रकमका बारेमा बार्गेनिङ भएको पुष्टि भएको छ । पीडित परिवारका सदस्यले पनि यो विषय हामीलाई बताइरहेका छन् । पञ्चायती बसेको भिडिओ/फोटो समेत फेला परेका छन् ।’
आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।
६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७:२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमारले बताए । तर रकमको लेनदेन भएको विषय भने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।
घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरेको थियो ।
बलात्कारको घटना दबाउन भन्दै आरोपितमध्येका रुपेश मण्डलको परिवारले १ लाख ५० हजार रुपैयाँ दिने समेत तयारी गरेको बुझिएको छ । तर रकमको लेनदेन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।
पीडितले यो प्रस्ताव अस्वीकार गरेपछि पहिलो दिनको पञ्चायती सभा विना निष्कर्ष टुंगिएको थियो । त्यसपछि भोलिपल्ट ३० माघमा पनि पञ्चायती राखिएको थियो । त्यसको केही समयमै रिंकु झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
घटना दबाउन पञ्चायती बस्नेहरू फरार
घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरेको थियो । तर प्रहरीले पञ्चायती बसेको भनिएका कोही व्यक्तिलाई पनि अहिलेसम्म भेट्न सकेको छैन ।
एसएसपी कोइराला भन्छन्, ‘पञ्चायती बसेको भनिएका व्यक्ति अधिकांश अहिले फरार छन् । भिडिओ/फोटाबाट पहिचान गरेर सोधपुछ गर्छौं ।’
पञ्चायती बसेको विषय प्रहरीले पुष्टि गरे पनि कति जना छलफलमा बसेका थिए भन्नेबारे यकिन गर्न सकेको छैन । पीडित परिवारले धेरै व्यक्ति बसेको मात्रै बताउने गरेकाले यकिन कति जना छलफलमा सहभागी थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
पञ्चायती सभामा वडासदस्य नथुनी साह समेत सहभागी भएको प्रहरी स्रोतले बताएको छ । उनका साथै रामकृपाल मण्डल, रामपृत साह, रामपुकार मण्डल लगायत पञ्चायती सभामा रहेको खुलेको छ । यद्यपि, वडासदस्य नथुनीसहित अधिकांश फरार रहेका छन् ।
३ आरोपित पनि फरार
यसका साथै मध्यराति बलात्कार गरेको आरोप लागेका रुपेश, टिंकु र चन्दन पनि फरार छन् । उनीहरू कसैलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । अहिलेसम्म यो घटनामा पीडितको तर्फबाट आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी परेको छ ।
दुरुत्साहनकै कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बलात्कार भएको आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । आरोपितमध्येका रुपेश र रिंकु प्रेम सम्बन्धमा रहेको समेत खुलेको छ ।
दलित भएकै कारण रिंकुलाई रुपेशको परिवारले अस्वीकार गरेपछि उनी आत्महत्या गर्न बाध्य भएको भन्दै आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । रिंकुका काका राम सदायले दुरुत्साहनको जाहेरी दिएका थिए ।
‘रिंकु र रितेशको पहिलेदेखि नै प्रेम रहेको तर रुपेशको घरपरिवारले नस्वीकार्ने कुरा गरेपछि आत्महत्या गरेको’ काका राम सदायले दिएको जोहरीमा उल्लेख छ ।
यता, रिंकुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । त्यसको रिपोर्ट आउन बाँकी नै रहेको प्रहरीको भनाइ छ । उक्त रिपोर्टमा बलात्कार रहेको खुलेमा सोही अनुसार अनुसन्धान अघि बढाउने दाबी प्रहरीको छ ।
मजदुरी गर्न भारत पुगेका रिंकुका बुबा बिजुलिया सदाय अहिले घर फर्केका छन् । छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेका छन् भने डर-त्रासको कारण घटनाबारे बोल्न छाडेका छन् । परिवारले शव भने सद्गत गरिसकेका छन् ।