२०८२ बैशाख १० गते, बुधबार २१:२१

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  

आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा. देउवा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको हो ।

सो भेटका क्रममा नेपाल जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । 

त्यस अवसरमा मन्त्री डा देउवाले नेपालको एक प्रमुख दाता राष्ट्रका रुपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति मन्त्री ताकुमामार्फत जापान सरकारलाई आभार व्यक्त गर्नुभएको थियो ।

भेटका क्रममा नेपाल र जापानले आगामी बर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो । 

त्यस अवसरमा नेपाल र जापानले गत बर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच बर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यविधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो ।   

साथै मन्त्री डा देउवाले नेपालमा गत सेप्टेम्बरमा आएको भीषण बाढीका कारण विपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुन निर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गर्नुभएको थियो । 

यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा आग्रह गर्नुभएको स्मरण पनि मन्त्री डा देउवाले आजको भेटका क्रममा जापानी राज्यमन्त्रीलाई गराउनुभएको थियो ।

साथै मन्त्री डा. देउवाले जापान सरकारलाई नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गर्नुभएको थियो । 

मन्त्री डा देउवाले हाल काठमाडौँ नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल र जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा मन्त्री डा देउवाले राख्नुभएको थियो । यस विषयमा अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया जापानी मन्त्री मियाजीले दिनुभएको थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्