हल भिजिटको क्रममा निर्देशक सुरेश न्यौपान (बायाँ), सलोन बस्नेत (दायाँ) । तस्वीर : सुरेन्द्र थापा
काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’ शुक्रबारदेखि देशभर प्रदर्शन भैरहेको छ । ६० शोबाट रिलिज भएको फिल्मले आइतबार ३५ हाराहारीमा शो पाएको छ ।
तर, उचित शो नपाएको भन्दै निर्माता समेत रहेका सलोनदेखि निर्देशकसम्म आक्रोशित छन् । हल भिजिटमा यी दुबै आक्रोशित र भावुक एकसाथ देखिए । सलोनले हलको नामै लिएर आफूहरूमाथि विभेद भएको गुनासो गरे ।
सलोनले क्यूएफएक्सको नामै लिएर शो कम पाएको गुनासो गरे । मुलुककै ठूलो यो चेनले शुक्रबार यो फिल्मलाई जम्मा १६ शो दिएको थियो । ‘धेरै फिल्म हुने भएकाले कम शो पाउने जानकारी हुँदा पनि म तयार थिएँ तर दर्शकले फिल्म रुचाउँदा समेत क्यूएफएक्स लगायतका हलले शो दिएनन् ।’
सलोनले अघि भने, ‘फिल्म धेरै हुने भएकाले कम शो मिल्न सक्छ भन्दा म त्यसका लागि पनि तयार भएको थिएँ । किनकि, मलाई मेरो फिल्मप्रति विश्वास थियो । त्यही विश्वास लिएर म अगाडि बढेँ । बल्लबल्ल एउटा शो आउँछ, त्यो पनि बिहानैको,’ उनले भने ।
सलोनले चलचित्र विकास बोर्डमा गएर नेपाली र विदेशी सबै फिल्मको बक्सअफिस रिपोर्ट हेर्न समेत हल संचालकलाई आग्रह गरे । ‘बोर्डमा गएर रिपोर्ट हेरौं । ‘रंगी’को राम्रो व्यापार छैन, त्यही भएर शो हटायौं भनेर भन्नुहुन्छ भने म तयार छु । तर, मेरै फिल्मलाई चाहिँ शो पुगेन भन्नुहुन्छ । फिल्मले राम्रो गर्दा गर्दै पनि मेरै फिल्मले शो किन पाउँदैन ? मैले कसको के बिगारिदिएको छु ?,’ उनले प्रश्न गरे ।
फिल्मले साथ नपाउँदा नयाँ निर्माता हतोत्साही हुने उनको धारणा छ । उनले अघि भने, ‘मैले नेपाली फिल्म बनाइरहेको छु भने नेपालमा व्यापार गर्ने ठाउँ दिनुपर्यो नि । मलाई हलहरुले ठाउँ नै दिनुहुन्न । म कहाँ गएर फिल्म प्रदर्शन गर्नु ? युट्युबमै रिलिज गर्ने हो भने हलमा किन चलाउनु ?’
उनले अघि भने, ‘म टनाटन पैसा भएर फिल्म बनाउन आएको होइन । ५ वर्षको उमेरदेखि मैले फिल्ममा काम गर्दै आएको छु ।’ बोल्दै गर्दा उनका गला अवरुद्ध भए । निर्देशक सुरेश न्यौपाने पनि हलप्रति आक्रोशित र भावुक सुनिए ।
न्यौपानेले भने, ‘शो पाउन भिख नै मागेको जस्तो भइरहेको छ । पैसा र मिहेनत हाम्रो गएको छ । हामीले बनाएको फिल्मबाट हल चलिरहेका छन् । हामीले नै शोका लागि भिख मागिरहनुपरेको छ,’ उनले भने, ‘हलवालाहरुको मोजा धोएर शो पाइन्छ भने म त्यो गर्न पनि तयार छु । तर, शो चाहिँ दिनुस् ।’