२९ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) र थ्री एक्स थ्री नेपालको संयुक्त आयोजनामा भइरहेको थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिप (एनबीसी) को सेमिफाइनल समिकरण पूरा भएको छ ।
नेपालसहित भारत, पाकिस्तान र बंगलादेशगरी ४ राष्ट्रका टिम सहभागि प्रतियोगितामा नेपालबाट दुई तथा भारत र पाकिस्तानबाट एक-एक टिमले अन्तिम चारमा स्थान बनाएका छन् ।
नेपालबाट टाइम्स ए र आर्मी बी तथा भारत र पाकिस्तानको राइभल टिम सेमिफाइनल पुगेका हुन् ।
त्रिपुरशेवरस्थित राखेप कभर्डहलमा मंगलबार भएको क्वाटरफाइनलमा टाइम्स ए ले गोल्डनेगेट इन्टरनेसनल कलेज ए लाई २२-११ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो । यस्तै राइभल पाकिस्तानले एसवाइएमलाई तथा राइभल भारतले आर्मी ए लाई समान २१-१६ ले हरायो । अर्को क्वाटरफाइनलमा आर्मी बी ले हाउण्ड्स ए लाई २१-१४ ले पराजित गर्यो ।
प्रतियोगितामा कूल ३२ टोलीको सहभागिता थियो । सहभागि टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । लिग चरणको खेलपछि हरेक समूहको शीर्ष दुई टोली प्रि क्वाटरफाइनल चरणमा प्रवेश गरेका थिए । त्यसपछि प्रि क्वाटरफाइनल र क्वाटरफाइनल खेल भएको थियो ।