Tuesday, February 11, 2025
घरसमाचारउदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द

उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द

 उदयपुर । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिनुभयो । 

उद्योगका निमित्त महाप्रबन्धक साहका अनुसार उद्योग सँग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा उद्योग बन्द गर्नु परेको हो । उहाँले भन्नुभयो उद्योगले भुक्तानी गर्नु पर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।

उता उद्योगको सम्पूर्ण बैङ्क खाता समेत रोक्का भएका छन् । रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैङ्क खाता रोक्का भएका हुन् । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरू रोक्का गर्न अदालतले आदेश दिएको हो ।

उदयपुर सिमेन्ट उद्योगमा अहिले २ सय २० जना कर्मचारीहरू कार्यरत रहेका छन् । उनीहरूले पाँच महिना देखी तलव समेत पाउन सकेका छैनन् । उद्योगले आपूर्ति तर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाकी रहेको छ भने बिधुत महसुलको ३० करोड भुक्तान गर्न बाकि छ । बिगत २८ महिना देखी कर्मचारीको संचयकोष र नागरिक लगानी कोषमा समेत रकम जम्मा हुन सकेको छैन । रिटायर कर्मचारीको ४५ करोड भन्दा माथी भुक्तानी रहेको छ । यी सबै दायित्व जोड्दा करिब डेढ अरब रुपैयाँ उद्योगले भुक्तानी गर्न पर्ने  निमित्त महाप्रबन्धक महेश साहले बताउनु भयो । वहाँले भन्नु भयो; अहिले रौता सर्भिसेज प्रा.लि.ले सामानको भुक्तानी नपाएको भन्दै रिट दर्ता भएपछि उक्त रिटको सुनुवाई गर्दै अदालतले उद्योगका सबै बैङ्क खाता रोक्का गरेको बताउनुभयो ।

रौता सप्लायर्सका सञ्चालक सुवास राउतलगायतका सञ्चालकले दिएको मुद्दाउपर जिल्ला अदालतले बैङ्क खाता रोक्का गर्ने निर्णय गरेसँगै सम्पूर्ण खाता रोक्का भएको उद्योगका लेखा अधिकृत सञ्जीव रेग्मीले जानकारी दिनु भयो । रेग्मीका अनुसार, ‘सरकारी तथा निजी बैङ्कहरूमा भएका १६ वटा खाता रोक्का भएपछि अहिले उद्योगको सम्पूर्ण आर्थिक कारोबार ठप्प भएको छ ।’ राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, नेपाल बैङ्कलगायतका बैङ्कमा उद्योगका खाता रहेका थिए ।

उदयपुर सिमेन्ट उद्योगकाले रौता सप्लायर्सको मात्र ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाकी छ। सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, उद्योगसँग कच्चा पदार्थ खरिद गर्ने सम्म पैसा नभएकाले रौता सप्लायर्सको भुक्तानी नदिएको निमित्त महाप्रबन्धक साहले बताउनु भयो । वहाँले भन्नु भयो, ‘काठमाडौँ जिल्ला अदालतको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाने तयारीमा छौँ, खाता फुकुवा भएन भने उद्योग झनै समस्यामा पर्छ ।’ 

अहिले चालू, पुँजीगत र बचत खाता सबै रोकिएका छन् । संघीय सरकारले दिएको १६ करोडबाट उद्योगमा मर्मत–सम्भारको काम भइरहेको थियो । मर्मत–सम्भार शीर्षकमा सरकारले दिएको १६ करोडबाटै भुक्तानी माग्दै सप्लायर्सका सञ्चालकले मुद्दा हालेपछि उद्योगलाई थप समस्या परेको हो  ।

चालू आर्थिक वर्ष ०८१/८२ उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको थियो तर अहिले पछिल्लो समय मङ्सिर १९ गते देखि भने उद्योग पूर्णतः बन्द भएको छ । निमित्त महाप्रबन्धक साह भन्छन्, ‘मुख्य समस्या कोइला खरिद गर्ने पैसाकै अभावले गर्दा उद्योग पूर्ण रूपमा बन्द भएको हो ।’ उद्योग बन्द भएपछि घाटा बढिरहेको र उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -