सर्लाही, २८ माघ – सर्लाहीमा बिना दाइजो आदर्श अन्तरजातीय विवाह सम्पन्न भएको छ। कविलासी नगरपालिका–७ का उज्ज्वलराज साह र हरिपुरकी आँचल सरकारबीच माघ २५ गते पारिवारिक सहमतिमा विवाह सम्पन्न भएको हो।
जातीय भेदभाव र दाइजो प्रथालाई चुनौती दिँदै गरिएको यो विवाहले समाजमा सकारात्मक सन्देश दिएको छ। उज्ज्वल व्याहुत कलवार समुदायका हुन् भने आँचल बंगाली कायस्थ समुदायकी हुन्। उज्ज्वल अमेरिका-प्रशिक्षित सफ्टवेयर इन्जिनियर हुन् र आँचल ब्रिटिस कलेज, नेपालमा एमबीए दोस्रो वर्षमा अध्ययनरत छिन्।
विवाहको पहल दुवै परिवारले गरेका थिए। उज्ज्वल विद्यालयमा टपर भएपछि सामाजिक सञ्जालमार्फत आँचलसँग परिचय भएको थियो, जसले पछि पारिवारिक सम्बन्धमा रूप लियो। विवाह समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, पूर्व सांसद, स्थानीय जनप्रतिनिधि तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो।
यस विवाहले मधेशमा जातीय भेदभाव र भागी विवाहको चलनलाई तोड्दै समाजमा समानता र एकताको सन्देश दिएको छ।