Monday, February 10, 2025
घरसमाचारबिहारीकृष्ण श्रेष्ठ भन्थे– म शान्तिपूर्ण फिडेल क्यास्ट्रो

बिहारीकृष्ण श्रेष्ठ भन्थे– म शान्तिपूर्ण फिडेल क्यास्ट्रो

२७ माघ, काठमाडौं । मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठ ८८ वर्षको उमेरमा शुक्रबार बिते । काठमाडौंको रैथाने नेवार श्रेष्ठले नेपालका गाउँहरूमा पुगेर गरेको समाजशास्त्रीय अध्ययनले उनको जीवन अग्लिएको छ । र, नेपाली समाज उनका योगदानहरूबाट पोषित छ ।

संवत २०२० को दशकमा ‘कर्णाली लोकसंस्कृति’ पुस्तक लेखनमा सहभागी बन्ने बेलासम्म धेरै मानिसहरूलाई एन्थ्रोपोलोजी अर्थात् मानवशास्त्र भन्ने शब्दै थाहा थिएन । सत्यमोहन जोशीले बिहारीकृष्ण श्रेष्ठलाई आफ्नो टिममा सदस्यका रूपमा सामेल गराए । जोशी त्यस बेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा थिए ।

त्यसअघि नै ख्यातनाम मानवशास्त्री डोरबहादुर विष्टसँग बाग्लुङ, स्याङ्जाजस्ता पश्चिमी जिल्लाहरूमा काम गरिसकेको अनुभव श्रेष्ठसँग थियो । जोशीसँग उनी खुसी–खुसी कर्णाली हान्निए ।

कर्णालीको समग्र विकास, साँस्कृतिक अध्ययन समेटेर लेखिएको शोध कृतिले ०२८ को मदन पुरस्कार पायो । स्थिरजंगबहादुर सिंह, चुडामणि बन्धु, सत्यमोहन जोशी, प्रदीप रिमाल र श्रेष्ठले यो पुरस्कार पाएका थिए ।

श्रेष्ठ, जोशी लगायतले संयुक्त लेखन गरेको अनुसन्धानात्मक कृति ‘कर्णाली लोकसंस्कृति’ लाई सत्यमोहन जोशीको जन्मशताब्दी अवसर पारेर सोसल साइन्स बहाले दोहोर्याएर छापेको थियो ।

किताब लेख्ने क्रममा सत्यमोहन, बिहारीकृष्ण श्रेष्ठलगायत टोलीले लामो समय सिँजा उपत्यका र आसपास भ्रमण, अध्ययन गर्‍यो । यसै अध्ययनपछि उनीहरूले कर्णाली सबै परम्परा र विशेषता हेर्दा सांस्कृतिक क्षेत्र भन्न मिल्ने जनसांख्यिक इकाइ भएको निष्कर्ष निकालेका थिए । जोशीले आफू यसै अध्ययन क्रममा गम्भीर बिरामी परेर झन्डै बितेको सम्झना समेत सुनाएका थिए ।

श्रेष्ठ तीन दशक निजामति सेवा गरी अतिरिक्त सचिव पदबाट अवकाश भएका थिए । समाजशास्त्री चैतन्य मिश्रका अनुसार उनी सरकारी वेतनधारी कर्मचारी भए पनि आफ्ना स्वतन्त्र विचारहरू राख्न कत्ति पनि हिच्किचाउँदैनथे ।

‘बिहारीकृष्ण श्रेष्ठको सबैभन्दा ठूलो विशेषता भनेको उहाँ धेरै वर्ष सरकारी सेवामा रहे पनि आफ्ना कुरा निरन्तर राखिरहनुभयो,’ समाजशास्त्री मिश्र भन्छन्, ‘प्रत्यक्ष राजनीतिमा लाग्नुभएन, तर उहाँले राजनीतिक अर्थ लाख्ने विचारहरू राखिरहनुहुन्थ्यो ।’

कतिपयले श्रेष्ठलाई दरबारनिकट भनी सन्देहपूर्वक हेर्दै आए । निकटस्थहरूको दृष्टिमा श्रेष्ठ भने समुदायका काममा संलग्न हुन पाउनुमै रुचिकर मानेर अघि बढ्थे । मिश्रका अनुसार मानवशास्त्री श्रेष्ठ आफूलाई ठट्यौली भाषामा नेपालको ‘शान्तिपूर्ण फिडेल क्यास्त्रो’ भन्ने गर्थे ।

त्यसताका ल्याटिन अमेरिकी देश क्युबामा आम जनताको जीवनस्तरमा सुधार ल्याउन नेता क्यास्त्रोले अघि सारेका सामाजिक कल्याणका अभियानसँग आफ्ना प्रयासको तुलना गरेर श्रेष्ठले त्यसो भन्ने गरेका थिए ।

र, बिहारीकृष्ण श्रेष्ठले यसो भन्नुका पछाडि केही गन्न मिल्ने सामाजिक लोककल्याणकारी कामहरूको सूची थियो ।

विकेन्द्रीकरण, सामुदायिक वन, आमा समूह, स्वास्थ्य स्वयंसेविकाका अवधारणा केही दृष्टान्त हुन् । काठमाडौंका रैथाने श्रेष्ठ आफू काठमाडौं–प्रभुत्ववादी कहिल्यै भएनन् । जिल्लाजिल्लामा गइरहन्थे । अनि सरकारले समुदायका योजना धेरै कार्यान्वयन गर्ने होइन, समुदायलाई नै अपनत्व दिनुपर्छ भन्ठान्थे ।

केन्द्रीकृत ढाँचाको पञ्चायती सरकारमा पनि उनी गाउँ तहका नागरिकसम्म अधिकार र पहुँच विस्तार हुनुपर्छ भन्ठान्थे । विकेन्द्रीकरण त्यसै धारणा थियो, जसको राम्रोसँग उपयोग भने हुन पाएन ।

परोपकारी थिए बिहारीकृष्ण श्रेष्ठ । नेवारी परम्परा अनुसार व्यक्तिले ७७ वर्ष सात महिना सात दिनमा जँकु मनाउने गर्छन् । आफू ७७ पुगेपछि श्रेष्ठले भोजभतेर नगरी ज्येष्ठ नागरिकको संस्था एजिङ होमलाई सहयोग गरेका थिए ।

सामुदायिक वन संरक्षण र विकासका क्षेत्रमा नेपालले असाध्यै फड्को मारेको थियो, जसको अवधारणा उनै श्रेष्ठले ल्याएको बताउँछन् जानकारहरू । समाजशास्त्री मिश्रले २०४० को दशकतिर गाउँका जनताले सामुदायिक वन कसरी आफैं संरक्षण गर्ने, त्यसबाट कसरी लाभ लिन सक्ने हुन सक्छन् भनी श्रेष्ठको अगुवाइमा बनेको नीतिले प्रभावकारी काम गरेको सुनाए ।

‘त्यही विकेन्द्रीकरणसमेत दिएको स्रोतहरूको सार्वजनिकीकरणको नीतिले लाभ दिएका पाल्पाका योजनाहरूलाई पनि उल्लेख गर्दै अर्थशास्त्री इलेनोर अस्ट्रमले लेखेको पुस्तकले नोबल पुरस्कार नै पायो,’ मिश्र सुनाउँछन्, ‘विकास राज्यबाट गरिने भन्दा सामुदायिक तहबाटै हासिल गरिने विषय हो भन्ने मानवशास्त्री श्रेष्ठको निष्कर्षलाई बाहिरका बौद्धिकहरूले समेत अपनाए ।’

न्युयोर्क टाइम्सले गत वर्ष कभर स्टोरी प्रकाशित गर्दै नेपालको सामुदायिक वन क्षेत्र कसरी अन्य देशका लागि समेत सफलताको नमूना उदाहरण बनेको छ भनी रिपोर्ट गरेको थियो ।

आमा समूह त्यस्तै अर्को प्रभावशाली नीति थियो ।

श्रेष्ठ स्वास्थ्य मन्त्रालयको उच्च तहमा कार्यरत रहेकै बेला आमा समूहको अवधारणा अघि बढ्यो । त्यस बेला नेपालको मातृशिशु मृत्युदर विश्वकै उच्च मध्येमा थियो । आठवटा वैदेशिक सहायता नियोगहरूलाई सरकारले यस परियोजनामा सघाउन आमन्त्रण गरेको थियो ।

नेपालमा विकेन्द्रीकरणको नीति ल्याउन भूमिका खेल्ने श्रेष्ठ पछि गएर त्यो भन्दा अझै अघि बढेको व्यवस्था संघीयताको भने कडा आलोचक थिए ।

यो संवाददातासँग ठिक १० वर्षअघि ०७१ माघमा चाकुपाट निवासमा कुरा गर्दै श्रेष्ठले भनेका थिए, ‘यहाँ जातीय पहिचान कसैलाई चाहिएको छैन । विकास चाहिएको छ, संघीयता होइन । नेपालजस्तो देशमा संघीयता लागू हुनै सक्दैन ।’

आमा समूह, वन उपभोक्ता समूहजस्ता थुप्रै संस्था खोलेर जनतालाई शक्तिशाली बनाइनुपर्ने उनको भनाइ थियो । उनले भन्थे, ‘पहिचानले विकास प्रक्रियालाई अवरुद्ध गर्ने भएकाले विकेन्द्रीकरणबाट विकासको बाटो खोजिनुपर्छ । जुन जनताका लागि विकास चाहिएको हो, उनीहरूलाई नै त्यससम्बन्धी पूर्ण अधिकार दिइनुपर्छ, माथिबाट हस्तक्षेप होइन ।’

विकास राज्यबाट गरिने भन्दा सामुदायिक तहबाटै हासिल गरिने विषय हो भन्ने मानवशास्त्री श्रेष्ठको निष्कर्षलाई बाहिरका बौद्धिकहरूले समेत अपनाए ।-चैतन्य मिश्र,समाजशास्त्री

तर, यस्तो विचारको साटो संघीयता र पहिचानजस्ता मुद्दाहरू राजनीतिक एजेन्डाका रूपमा हाबी भएकामा उनी आक्रोशित सुनिन्थे । उनले त्यही भेटमा एउटा प्रश्न उठाए, ‘काठमाडौंजस्तो कस्मोपोलिटन सिटी कसरी नेवाः राज्य हुन सक्छ ?’ संविधान निर्माणभन्दा ठिक अघिल्लो वर्ष उनले यो विषय उठाउँदा काठमाडौंकै रैथाने नेवारले राखेको प्रश्नका रूपमा यसलाई अर्थ्याइयो ।

परोपकारी थिए बिहारीकृष्ण श्रेष्ठ । नेवारी परम्परा अनुसार व्यक्तिले ७७ वर्ष सात महिना सात दिनमा जँकु मनाउने गर्छन् । आफू ७७ पुगेपछि श्रेष्ठले भोजभतेर नगरी ज्येष्ठ नागरिकको संस्था एजिङ होमलाई सहयोग गरेका थिए ।

श्रेष्ठले अनुसन्धानका लागि खुलेका संस्थाहरूलाई विभिन्न समयमा आर्थिक सहयोग समेत गरेका थिए । उनले त्रिविको मानवशास्त्र विभाग, समाजशास्त्र विभाग लगायतलाई सघाइरहे । एकपल्ट आफ्नो जन्मदिनमा सोसल साइन्स बहाःलाई ५० लाख रुपैयाँ सघाएका थिए, जसले नेपालको समाजशास्त्रीय र सामाजिक अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -