२६ माघ, काठमाडौं । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग २०३६ सालमा सेन्ट्रल जेलमा सँगै बस्दा महेन्द्र वृक्षलाई लाग्थेछ- अब वर्षहरु यसरी नै बित्नेछन् । ओली अनि अर्का वामपन्थी नेता राधाकृष्ण मैनालीले उनलाई भनेका रहेछन्, ‘धेरै समयका लागि आएको हुँ भन्ठान्नुस् । यहाँ कति दिन बिते भनेर गन्ती नराख्नुस् ।’
जनमतसंग्रहभन्दा केही अघि अमृत साइन्स क्याम्पसमा पढ्दापढ्दै नारा–जुलुसमा मिसिने हुँदा समातिएका थिए झापाका महेन्द्र अग्रवाल । थुनिएसँगै इन्जिनियर बन्ने सपना तुहिने खतरा बढ्दा उनी आत्तिएका थिए । त्यस बेला नेताहरुले उनलाई समाजवादको लामो दूरी सम्झाउँदै आफूहरुको जेल उत्रो ठूलो कुरो होइन भनेर सम्झाएका थिए ।
‘त्यस बेला मलाई कताकति लागेको थियो, ओलीलाई आदर्श मानुँ कि ! किनभने यत्रो संघर्ष गरेर आएका नेता छन्,’ महेन्द्र अग्रवाल अर्थात् महेन्द्र वृक्षले यो साता अनलाइनखबरसँग कुरा गर्दै सम्झना साझा गरे, ‘सेन्ट्रल जेलमा बसुन्जेल ओलीजी, राधाकृष्णजीप्रति अर्कै श्रद्धा रहिरह्यो ।’
ओलीको झर्रो भाषा अनि कुनै पनि नयाँ कुराहरुलाई तुरुन्त टिपिहाल्ने दिमागी तीक्ष्णताबाट वृक्ष कायल थिए । उनलाई त्यसबेला लाग्थ्यो, जुन बाटो ओली–मैनालीको हो, त्यही बाटो आफ्नो पनि हो ।
ओली जेलमा वृक्षलाई मार्क्स, लेनिन, माओ विचारधाराबारे सुनाउँथे । अनि फुर्क्याउँदै भन्थे, ‘तपाईंले बडा राम्रो वैचारिक लाइन लिनुभएछ । सर्वहाराको मुक्तिकामी लाइन ।’
वृक्ष एक महिनापछि जेलबाट छुटे । त्यसपछि भने उनी राजनीतितिर रत्तिन सकेनन् । बरु आईएस्सी सकेर भारत उत्तर प्रदेशमा इन्जिनियरिङ पढ्न थाले । कविता लेख्न थाले । उनी चित्रमय, अनि कारिगरीमय कविता लेख्न थाले । अर्थात्, लेटरप्रेसबाट पुस्तक छापिने जमानामा पनि उनी कंक्रिट पोयट्री अर्थात् शब्दहरुको एक्रोब्याटिक्स अनि चित्रमय काव्यलेखनको सुरुवात गरिरहेका थिए । कागजमै कविताको ढलान गर्दै थिए, पर्खाल लगाउँदै थिए ।
‘पछि खै किन हो, मैले ओलीलाई सम्मान गर्न सकिनँ, किनभने गृहमन्त्री हुनेबित्तिकै उहाँले सुरुंगामा सुकुम्बासी बस्ती हटाउनुभयो । उहाँले जेलमा भन्नुभएको जस्तो पावरमा पुगेपछि गर्नुभएन ।’
त्यसै बेलादेखि हो उनी कवि ‘महेन्द्र वृक्ष’ भनेर चिनिन थालेको । अग्रवाल परिवारमा कवि बनेर उनी पुस्तैनी व्यवसाय–विरासत होइन, सरस्वतीको सेवामा लाग्ने ‘असुहाउँदो’ निर्णय गर्दैै थिए । वृक्ष सर्वहाराका लागि कविता लेख्न सिक्दै गरे पनि पूर्णरुपेण सर्वहारागामी भइसकेका थिएनन्, यो बेग्लै कुरा हो, उनी फगत ताली बजाउन मात्रै पनि हिँडेका थिएनन् ।
वृक्ष आफ्नै परिवार र समाजमा यत्ति देख्थे– एक गज लुगालाई चारतिरबाट नापेर चार गज देखाउने गरेको । सय रुपियाँ सापट दिएर हजार बनाउने लुटाहा सिस्टम आफ्नै वरिपरि चलेको । उनी भित्रको क्रान्तिकारीलाई मात्रै होइन, मेधावी गणित छात्र, अनि कविलाई पनि लाग्थ्यो, गलत हिसाब गर्नुहुँदैन ।
‘मारवाडीको छोरा भए पनि म हृदयले मारवाडी हुन सकिनँ । मेरो जीवन, प्रेम र अध्यात्मकै लागि भयो,’ लुम्बिनीमा डेढ महिना विपश्यना गरेर काठमाडाैं आएका वृक्षले मंगलबार अनलाइनखबरसँग भने, ‘आखिर कविता पनि अध्यात्मकै अभिव्यक्ति त हो नि ।’
वृक्षका यस्ता मनमौजी कुराका लागि परिवारले सहमति दिने कुरै थिएन । तर उनका मित्र बनिसकेका थिए कृष्ण धरावासी र सञ्जीव उप्रेती । मित्रले मित्रलाई जे सल्लाह दिए, त्यसले अग्रवालको ‘वृक्ष’ मा हाँगा लगायो ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/Sanjeev-Upreti-Mahendra-Briksha-Cover-Final.png)
विज्ञान पढ्ने, कविता लेख्ने, राजनीतिमा चासो राख्ने महेन्द्रका कलेज सहपाठी थिए, अहिलेका प्राध्यापक तथा लेखक सञ्जीव उप्रेती । वृक्ष अस्कलमा आईएस्सी फिजिक्समा छँदा सञ्जीव सोही कलेजको बायोलोजी ग्रुपमा पढ्थे । त्यस बेलाको संगत कतिसम्म बढ्दै गयो भने, झन्डै डेढ दशकपछि अर्थात् २०५० सालमा वृक्षका पुस्तक छाप्न उनै सञ्जीव अघि सरे । १० दिनसम्म सँगै विपश्यना ध्यान गरेका छन् सञ्जीव र वृक्षले ।
त्यसअघि नै सञ्जीवको बिहे अर्चना थापासँग भइसकेको थियो, जो पछि समालोचक, कथाकार तथा प्रकाशक बनिन् । अर्चना र सञ्जीवले आफ्नी छोरी सृष्टिको नाममा खोलेको सृष्टि प्रकाशनबाट वृक्षका तीन किताब ‘भुँडीभित्र जंगल’, ‘ओम, मीना र आलु’ अनि ‘नाक, नाइटो र नारायण’ छापिए । अनि वृक्षले सन्जीवको अंग्रेजी उपन्यास ‘पोटाटो, बटर एण्ड कफी’ लाई नेपालीमा ‘आलु, नौनी कफी’ नाममा अनुवाद समेत गरे । केही वर्षपछि धरावासी अध्यक्ष रहेको नियात्रा प्रकाशनबाट ‘मायाका कुराहरु’ समेत छापियो ।
यसरी वृक्षले चारवटा किताब लेखे । किताब ‘नाक, नाइटो र नारायण’ नयाँ खालको शीर्षक भए पनि त्यसमा ध्यानका क्रममा मान्छेको श्वासप्रश्वास कि त नाकमा, कि त नाइटोमा केन्द्रित हुने अवस्थालाई चित्रण गरिएको उनी सुनाउँछन् ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/mahendra-Agrawal-Nak-naito-narayan-book.jpg)
मारवाडी परिवारको व्यक्ति कवितामा लाग्नु, त्यस क्रममा राजनीतिक कारणले जेल पर्नु, जेलबाट निस्केर योग, ध्यानमा लाग्नु, अनि भौतिक सम्पन्नता र उपभोक्तावादको स्वर्ग मानिने अमेरिकामा आफू चाहिँ धन कमाउन होइन, जोगी जिन्दगी बिताउन लाग्नु– महेन्द्र वृक्षको एक वाक्य चिनारी यही हो ।
वृक्षको जीवन वाक्यमा धेरै वटा अल्पविराम छन् । एक–दुई विसर्ग छन् । तर पूर्णविराम छैन । उनी जीवनका अनेक रङमा समेटिए । अझै पनि रङहरुकै खोजी छ ।
वृक्ष थिए, पारंगत प्रेमी । स्कुल पढ्दै बैनीलाई हुलाकी बनाएर सहपाठी किशोरीसँग चिठीपत्र आदानप्रदान थालिसकेका थिए । उनको घर अगाडि घन्टाैं खम्बाजस्तै उभिइरहन दकस मान्दैनथे । छोटो समयको पहिलो प्रेम लामो चलेन । तर उनी प्रेम यात्रामा थाक्नेवाला थिएनन् । प्रेमको पाठ कसरी पढ्नुपर्छ, उनलाई आउँदो हुन थालिसकेको थियो ।
गणितका छुरा विद्यार्थी भएकाले वृक्षले इन्जिनियरिङमा यति राम्रो गरे कि ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्की’ बाट सर्वोत्कृष्ट विद्यार्थी नै बन्न पुगे ।
पछि २०४० सालतिर नेपाल फर्केर सिभिल इन्जिनियर बने । ठमेलको त्यस बेलाका प्रसिद्ध निर्माण कम्पनीमार्फत उनलाई काभ्रेमा पुल बनाउने काम पर्यो । उनी ए क्लासको ठेकेदारसँग श्रममा थिए, अनि उनकै छोरीसँग प्रेममा ।
प्रेम यात्रामा सुरुमा त रुमानी उडान जारी थियो । अलिक पछि वर्ग विश्लेषण हुन थाल्यो । मालिककी छोरीको अन्तै घरबार गराइदिने भए । वृक्षको बुद्धितत्व सक्रिय भएपछि प्रेमिकालाई ३० पाने भावुक पत्र लेखे, ‘तिम्रा बाले जिम्मा लिएको पुल मैले बनाए पनि म त्यसमाथिबाट हिँड्न सक्दिनँ । तिमी पो हिँड्ने हो पुलमाथि । म त सधैं पुलमुनि । लु, यसपालि यस्तै भयो ।’
अनि छुटे । कामबाट, प्रेमबाट ।
आफू इन्जिनियर पनि हुन नसक्ने, प्रेमी पनि हुन नसक्ने । एउटै विकल्प थियो, कवि बन्ने ।
त्यो अध्यवसाय पनि गतिलो गरी चलिरहेको थिएन । किनभने उनी यस्तै थिए, अस्थिर भने पनि हुने ।
साथीहरुसँग मिलेर वृक्षले ठमेलमा लुम्बिनी रेस्टुरेन्ट खोले । त्यो यसैउसै चल्दै थियो । राम्रो नचलेका बेला घरबेटीसँग भाडा, पानी, सुविधा लगायतमा कच्याककुचुक परिरहेको थियो । मुस्किलले अरु दुई वर्ष चलाउने सम्झौता गरे ।
तर, त्यही बीचमा रेस्टुरेन्ट नै बेचिदिए । त्यसपछि ठमेल, काठमाडौंमा ओम मन्डला नामक रेस्टुरेन्ट खोलेका थिए । प्रसिद्ध भायलनिस्ट राजकुमार श्रेष्ठ, ट्वाक्क टुक्क टिभी कार्यक्रमका कलाकार विश्व रायमाझीसँग मिलेर चलाएको रेस्टुरेन्टका सर्वाधिक नियमित ग्राहक थिए प्राध्यापक अभि सुवेदी । उनीसँग जानेहरु पनि त्यस्तै हुन्थे । कविले चलाउने, कवि नै ग्राहक भएर जाने । व्यवसायको वासलात भन्नैपरेन ।
भावुक व्यवसायीले रेस्टुरेन्ट भावुकतामै चलाए, भावुकतामै सिध्याए । डुब्न त डुबेन, तर प्राप्त पनि भएन ।
त्यही बीचको समयमा वृक्ष विपश्यना/ध्यानका शिक्षक हुन पुगे । एउटा यस्तो रुचि, जसले उनको जीवनयात्रा मोडिदियो ।
साथीले खबर ल्याए, ‘अष्ट्रेलियाबाट योग सिक्न ठूलो टिम लुम्बिनीमा आउँदै छ । एडभान्स पैसा लिइसक्यौं, तर सिकाउने मान्छे पाइएन । तिमी सिकाउन जाऊ ।’
वृक्ष सुरुमा मानेका थिएनन् । तर जानैपर्ने खण्ड आइलाग्यो ।
त्यसरी त्यहीँ आएका विभिन्न विद्यार्थीमध्ये एउटी थिइन् क्याथरिन् । उनी चाहिँ अमेरिकी थिइन्, म्यासाचुसेट्सबाट आएकी । उनी संगीतकी पारखी थिइन्, विपश्यना गर्थिन् ।
वृक्षले क्याथरिनलाई ध्यान सिकाए । क्याथरिन्ले वृक्षलाई संगीत । कविता यतैकतै अल्झिरहेको थियो । बरु प्रेमका वीणाबाट तारहरु बज्न थालेका थिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2025/02/Mahendra-Agrawal-and-Sanjeeb-upreti-3.jpg)
उपनाम वृक्ष भए पनि उनी आफूभन्दा ९ वर्ष कान्छी क्याथरिनसँग उडेर जाने भए । उनलाई कविताले होइन, ध्यानले पनि होइन, प्रेमले पठायो अमेरिका ।
त्यस बीचमा धेरै कुरा भए । वृक्षले क्याथरिन्को अनिश्चित खालको मानसिक उतारचढाव झेले, जो प्रेममा हुने नै भयो । क्याथरिन्ले पनि वृक्षको अति शान्त र संयम बानीलाई झेलिन् नै होली । एक थिइन् आँधीतुफानजस्ती, अर्का थिए एकरसको सन्नाटाजस्ता ।
रहँदै बस्दा वृक्ष ‘आँधी’ का हुन सकेनन् । उनी योग, ध्यान पढाउँदै हिँडे । अलिक पछि क्यालिफोर्नियाको कम्युनमा गएर लामो समय ध्यान, योगकै सम्मोहनमा बसे । उनी त्यसपछि सान फ्रान्सिस्को योगा सेन्टरका प्रशिक्षक भएर लामो समय बसे ।
त्यस बीचमा वृक्षले धेरथोर प्रेम गरिनै रहे । उनको जीवन–स्टेशनमा केटीहरु आइरहे गइरहे । तिनैमध्ये नताली नामकी केटीबाट छोरो नै जन्माए ।
ती सबै प्रेमिका छुटे । वृक्षलाई प्रेमको पूर्णता अझै सम्पूर्ण रुपमा अनुभव भइसकेजस्तो लाग्दैन । ६३ वर्षका भइसके । उनी प्रेमबाट अवकाशप्राप्त कारिन्दा हुने कहिले !
प्राध्यापक सञ्जीव उप्रेतीलाई महेन्द्र वृक्षको स्वभाव विचित्रको लाग्छ । वृक्ष आफूसँग छुटेर गएकी प्रेमिकालाई तिनको ब्वाइफ्रेन्डसहित लिएर सञ्जीव र अर्चनाकहाँ बोस्टनको प्रोभिडेन्स शहरमा केही दिन बस्न आएका रहेछन् । सञ्जीवले मसँग छुट्टै सुनाउँदै भनेका थिए, ‘तर वृक्षले यो कुरा खुलाउँछन् कि खुलाउँदैनन्, उनैलाई सोध्नु है ।’
मैले वृक्षलाई अलिक पछि यो कुरा सोधें । उनले मुसुमुसु हाँस्दै ती दिनहरुका वास्तविकता खुलेर सुनाए । आफ्ना अनौठाजस्ता लाग्ने चित्रमय कविताहरु तिनै प्रेमिकाहरुको नाममा लेखेको छनक दिन्छन् उनी ।
वृक्ष आफूसँग छुटेर गएकी प्रेमिकालाई तिनको ब्वाइफ्रेन्डसहित लिएर सञ्जीव र अर्चनाकहाँ बोस्टनको प्रोभिडेन्स शहरमा केही दिन बस्न आएका रहेछन् ।
‘प्रेमिका र उनको ब्वाइफ्रेन्ड सँगसँगै आफू पनि एकसाथ हिँड्दा रिसराग, इर्ष्या हुन्थेन ?’
वृक्ष भन्छन्, ‘मलाई त हुन्थेन । ध्यान गर्ने बानीले त्यो क्षमता विकास गरायो होला । तर उनीहरुबीच कहिलेकाहीँ हुन्थ्यो कि ? क्याथरिन वा नताली मसँग हिँड्दा तिनका ब्वाइफ्रेन्डलाई इर्ष्या हुन्थ्यो नै होला ।’
वृक्षले पूर्वप्रेमिकाहरु पनि उसैगरी भेटिरहे । चिठी पनि लेखिरहे । तर उनी अतीतमा बाँचेनन् । भविष्यको खायस गरेनन् । ‘अझै पनि भेटिरहन्छु, तर ममा उनीहरुप्रति वासना वा कुन्ठा छैन,’ उनी बताउँछन् ।
वृक्षले कविता फेरि रच्न थाले । अनि अमेरिका–नेपाल गर्दै रहे । लेखक कृष्ण धरावासी वृक्षका मित्र नै भइहाले, जसले उनको ‘मायाका कुराहरु’ किताब समेत छपाउन भूमिका खेलेको चर्चा माथि गरिसकियो । धरावासी त्यस बेला नियात्रा प्रकाशन झापाका अध्यक्ष थिए । ‘लेख्न मिहिनेत नपरेजस्ता, सोच्न समय नलागेजस्ता कविता लेख्छन् वृक्ष,’ मायाका कुराहरु पुस्तकमा प्रकाशकीय लेख्दै धरावासीले भनेका छन्, ‘महेन्द्र वृक्षका कविता नेपाली साहित्य भित्र साधारणतया नपढिएका र वास्ता नगरिएका खजाना हुन् ।’
वृक्षले लेखेका कवितामा प्रयोगपरकताको उत्कर्ष छ । उनी लेख्दा वा त्यसलाई डिजाइनमा ढाल्दा चल्तीको शब्द–अक्षर टंकन शैली पछ्याउँदैनन् । बरु आफैं के–के जाति उत्पात मच्चाइरहन्छन् । यस्तै लेखेर वृक्षले आफूलाई कवि बनाइसके, भनाइसके ।
महेन्द्र वृक्षका कविता नेपाली साहित्य भित्र साधारणतया नपढिएका र वास्ता नगरिएका खजाना हुन् ।-कृष्ण धरावासी
सन्जीव उप्रेतीलाई लाग्छ– पछिल्लो समय सिर्जनशील अराजकता, रंगवाद, उत्तरवर्ती सोच जे–जे साहित्यिक आए पनि शब्द ढल्काएर लेख्ने प्रयोग गर्ने काम महेन्द्र वृक्षले धेरै पहिले गरिसकेका थिए । अन्यायप्रतिको विद्रोही चेत, प्रेमको अभिव्यक्ति, ध्यानको चेतना, शब्दको शैली नै महेन्द्र वृक्षको शैली भएको उनी सुनाउँछन् ।
सन्जीव उप्रेतीले वृक्षका रचनाले यो भौतिक जगत र जीवनको क्षणभंगुरताको बोध गराइरहने बताउँछन् । ‘महेन्द्र वृक्षले जस्तो लेख्नुहुन्छ, त्यस्तै जीवन बाँच्नुहुन्छ,’ उप्रेती भन्छन्, ‘मृत्युतिर प्रतिक्षण लम्किँदै गएको जीवनको क्षणिकताको बोध उहाँका कविताले गराउँछन् ।’
वृक्षको एउटा कविता यस्तो छः
‘हेर न माया
अन्तरिक्षको हृदय पनि
कस्तरी धड्किइरहेछ
न्युट्रन तारा रोईरोई
आफ्नी मायालु बोलाइरहेछ’
(अन्तरिक्षको हृदय, महेन्द्र वृक्ष)
अचेल उनी पूर्णकालीन आध्यात्मिक अनि प्रेमी बनेका छन् । यो जरुरी छैन कि उनी सधैं कसैसँग प्रेममा परिरहुन् । तर उनी कसैको प्रेममा भने परिरहन्छन् । ‘सँग’ हुनु नहुनु उनकै मर्जी !
नेपाल आउँदैपिच्छे लुम्बिनी पुगिहाल्छन् । कम्तीमा दुई साता अनि बढीमा दुई महिनासम्म योग ध्यान विपश्यनामा भुल्छन् ।
वृक्षले आफ्नो उपनाम नै लुम्बिनीको प्रभाववश राखेका हुन् । बुद्दको जीवनका ठूला मोडहरु रुखमुनि भएको सुनाउँदै उनी आफूलाई रुखप्रति मोह त्यसै कारण बढेको सुनाउँछन् । र लुम्बिनीको विशाल बगैंचामा रुखमुनि बसेर तत्वबोध गर्न रुचाइरहन्छन् ।
‘तुलना गर्न त कठिन होला । तैपनि एक छान्नुपर्यो भने प्रेम र ध्यानमध्ये बढ्ता के रोज्नुहुन्छ ?’ मैले वृक्षलाई सोधें ।
‘अलिक पहिलेसम्म त म प्रेम नै रोज्थे हुँला । तर अब चाहिँ ध्यान नै रोज्छु,’ उनले केहीबेर सोचेर भने । अनि थपे, ‘तर खै जति प्रेम गरे पनि म अघाएको चाहिँ छैन । आफू भरिने गरी मैले प्रेम गर्न पाएकै छैन ।’
अनि रह्यो, कमरेड ओली र मैनालीको कुरा । मैनालीलाई त अझै पनि उनी भेट्न गइरहन्छन् । मैनालीको रंगीचंगी राजनीतिसँग उति सरोकार छैन, तर फरसाइलोपनले तानिरहन्छ वृक्षलाई । व्यक्तिको सोच र बानीले गर्दा वृक्ष कोसँग नजिक वा टाढा हुने निर्क्योल गर्छन् । मैनाली उनका लागि सधैं प्रिय छन् ।
‘अनि ओली ? उहाँसँग भेट्नुहुन्न ?’
‘पछि खै किन हो, मैले ओलीलाई जेलमा हुँदाजति सम्मान गर्न सकिनँ, किनभने गृहमन्त्री हुनेबित्तिकै उहाँले सुरुंगामा सुकुम्बासी बस्ती हटाउनुभयो । उहाँले जेलमा हुँदा जे भन्नुभयो, पावरमा पुगेपछि गर्नुभएन ।’
तस्वीर भिडियो : शंकर गिरी/अनलाइनखबर