Sunday, February 9, 2025
घरसमाचारजनकपुरका अधिकांश निजी अस्पताल गैरकानुनी सञ्चालन

जनकपुरका अधिकांश निजी अस्पताल गैरकानुनी सञ्चालन

२६ माघ, जनकपुरधाम । जनकपुरधामका अधिकांश निजी अस्पताल गैरकानुनी रूपमा सञ्चालन भइरहेको पाइएको छ । जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका अधिकांश निजी अस्पताल गैरकानुनी सञ्चालन भएको पाइएको हो ।

उपचारमा गम्भीर लापरबाही बढेको गुनासो लगातार आएपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार एकैदिन जनकपुरधामका २० वटा अस्पतालको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा अधिकांश अस्पताल दर्ता बिना नै सञ्चालन भएको तथा दर्ता भएकाहरू पनि मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीले शनिबार जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरको अनुगमन गरेका थिए ।

यस्तै, समर हस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नेपाल एपोलो हस्पिटल प्रालि, श्रीराम हस्पिटल प्रालि, नयना अस्पताल एन्ड प्रालि, अरमान हस्पिटल प्रालि, मिहिलाल इन्टरनेसनल प्रालिमा पनि मुख्यमन्त्रीले छड्के गरेका थिए ।

अनुगमनकै क्रममा मुख्यमन्त्री सिंह सहयोग हस्पिटल प्रालि, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हेल्थकेयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि र ओम दीर्घायु हस्पिटल प्रालि पनि पुगेका थिए ।

कानुन अनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिई सञ्चालन भइरहेको अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पूरा नगरी जनकपुरधाममा बग्रेल्ती खोलिएको पाइएपछि मुख्यमन्त्रीले आइतबारसम्ममा आफैंले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अनाधिकृत तवरले खेलिएका तथा स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी शर्त पूरा गरेको अवस्थामा नदेखिएका अस्पतालका सञ्चालकहरूलाई सबै कागजपत्र लिएर आइतबार सरकारको सम्पर्कमा आउन निर्देशन दिएका छन् ।

जनकपुरधामका अधिकांश निजी अस्पतालको अनुगमन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह ।

उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनीसमेत दिएका छन् ।

‘स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस्,’ अनुगमनक्रममा उनले अस्पताल सञ्चालकहरूलाई भने, ‘दर्ता छैन भने आइतबारसम्म अस्पतालका बिरामी अन्य स्वाथ्य उपचार सेवामा सारेर आफैंले बन्द गर्नुस् । अन्यथा, हामी सरकारी टोेली परिचालन गरेरै बन्द गराउनेछौं ।’

मुख्यमन्त्री सिँहले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीसमेतलाई कारबाही गरिने बताए । मुख्यमन्त्री सिँहले निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातलगायत दस्ताबेज, मापदण्डअनुसार जनशक्तिको संख्यात्मक उपलब्धता र खटनपटन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता र गुणस्तर र भौैतिक संरचनाबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्रीको अनुगमन टोलीमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र र सोही मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरलगायत सहभागी थिए ।

अनुगमन टोलीका सदस्य एवम् जनस्वास्थ्य अधिकृत ठाकुरले इमरजेन्सी, फार्मेसी, बहिरङ्ग तथा अन्तरङ्ग कक्ष, ल्याब, एक्सरे, प्रसूतिकक्ष, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, अस्पतालबाट निस्किने फोहोर विसर्जन गर्ने प्रक्रिया लगायत विषयमा अनुगमन गरिएको जानकारी दिए ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले अनुगमन भएकामध्ये अधिकांशमा जनस्वास्थ्य नियमावलीले तोकेको मापदण्डअनुसार भौतिक संरचना नरहेको, फार्मेसी अध्ययन गरेका जनशक्ति नभई स्वास्थ्यकर्मीबाटै अस्पताल फार्मेसी सञ्चालन भएको, धेरैजसो अस्पतालमा एकाधबाहेक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी नभेटिएको बताए ।

जनकपुरको बिनादर्ता सञ्चालित मुस्कान अस्पतालमा ३ माघमा सर्लाहीको हरिपुर्वाकी २५ वर्षीया वविताकुमारी यादवको पित्त थैलीको शल्यक्रिया गरेपछि हालसम्म होस नआएको समाचार अनलाइनखबरले सार्वजनि गरेपछि अवैध अस्पतालहरू प्रति मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -