सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ७ बयलबास बजारस्थित प्लास्टिक झोला बनाउने फ्याक्ट्रिमा भिषण आगलागी भएको छ, जसका कारण करोडौंको क्षति पुगेको छ।
आज बिहान ३:२५ बजे ईश्वरपुर नगरपालिका वडा नं. ७ ब्रहमस्थान चोक स्थित नेत्र बहादुर कार्कीको घरमा भाडामा चलाइएको ‘हिमालयन पोलि नेपाल’ नामक प्लास्टिक झोला निर्माण फ्याक्ट्रिमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीका कारण फ्याक्ट्रिका मेशिनहरू, कच्चा पदार्थ र भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय व्यापारीहरूको अनुमान अनुसार, फ्याक्ट्रिमा करिब साढे ७ करोडको क्षति भएको हुन सक्छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय केशरगंजका ३० जना प्रहरी, सागरनाथ वेस क्याम्पबाट ९ जनाको सशस्त्र प्रहरी टोली, हरिवन नगरपालिका र मलंगवा नगरपालिका बाट आएका दुई वटा दमकल र स्थानिय व्यक्तिहरूको सक्रिय सहयोगले आगो बिहान ५:३० बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यस आगलागीबाट सोही क्षेत्रमा बस्ने नबल किशोर साहको घरमा आंशिक क्षति पुगेको छ। तर, मानविय र चौपायको क्षति भने नभएको र अन्य क्षतिका विवरणहरू आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।