Friday, January 31, 2025
घरसमाचारकिन किशोरवयका छोराछोरी एक्लै बस्न रुचाउँछन् ?

किन किशोरवयका छोराछोरी एक्लै बस्न रुचाउँछन् ?

केही दिनदेखि मैले छोरीसँग राम्रो समय बिताउन पाएकी थिइनँ । त्यसैले अलि असहज मान्दै म उनको कोठामा गएँ, भलाकुसारीका लागि । म चाहन्थें, उनीसँग केही बातचित गरौं । रमाइलो गरौं । उनको कुरा सुनौं ।

तर जसै म उनको कोठामा प्रवेश गरें उनी झर्किइन् । यसो भन्दै, ‘मामु तपाईं किन यहाँ बसिरहनुभएको छ ? हजुर किन आफ्नो कोठामा जानुहुन्न ?’ मेरो अपेक्षा विपरित उनले दिक्क मानिन् । छोरीको यस्तो व्यवहारले म एकछिन स्तब्ध भएँ ।

आफ्नी आमासँग बस्न वा कुरा गर्न उनलाई किन रुचि भएन ? किन मेरो उपस्थिति उनका लागि बोझिलो भयो ?

मैले शान्त भावमा भनें, ‘म तिमीसँग समय बिताउन आएकी ।’ उसैगरी झर्किएर उनले भनिन्, ‘म ध्यान केन्द्रित गर्ने कोसिस गरिरहेकी छु मामु । तपाईं आफ्नो कोठामा जानुहोस् ।’ उसले त बुझ्न सकेकी छैन । तर, हामीबीच हरेक पल दूरी बढ्दै गएको छ ।

यो दृष्टान्तबाट के बुझ्न सकिन्छ भने आमाबुवा र बालबालिका बीचको सम्बन्ध सधै उस्तै रहँदैन । त्यो समयसँगै क्रमिक रूपमा बदलिन्छ । तर, त्यो बदलावलाई हामी आत्मसात् गर्न सक्छौं त ?

किनभने हामीले काखमा खेलाउँदै, स्तनपान गराउँदै, लाड–प्यार दिएर हुर्काएका बालबालिका पछि हामीसँग नै बस्न मान्दैनन् । खुलेर बातचित गर्न मान्दैनन् । किनभने किशोरवयमा प्रवेश गरेसँगै उनीहरू आफ्नो स्वतन्त्रता खोज्न थाल्छन् । आफ्नो सीमाहरू उल्लंघन गर्न थाल्छन् ।

हिजोका दिनहरूमा उनी मेरो काखमा लुटपुटिन आउँथिन् । मलाई अँगालेर स्नेहपूर्वक म्वाइँ खान्थिन् । मैले सुमसुम्याउँदा, स्पर्श गर्दा बेग्लै आनन्द अनुभूत गर्थिन् । बालसुलभ प्रश्नहरू गरेर मलाई व्यस्त बनाइरहन्थिन् । म घर फर्कंदा फुरुंग भएर मेरो नजिक आउँथिन् । अरू बेला त के, शौचालय जाँदासम्म म उनको आँखाबाट ओझेल हुनुहुँदैनथ्यो । म घरबाट निस्कने बेला उनी मेरो पछि लाग्थिन् ।

तर, आज उनको बानी–व्यवहार फरक भएको छ । कुनै सामाजिक कार्यक्रममा आफूसँगै लैजानका लागि उनलाई मैले केही हप्तादेखि मनाउनुपर्ने हुन्छ । मसँग घरबाहिर जानका लागि तयार हुँदै गर्दा म मनमनै प्रार्थना गरिरहेकी हुन्छु, ‘उसको मेकअप र पहिरन सबै ठिकठाक मिलोस् ताकि ऊ हामीसँग खुसीसाथ जान सकोस् ।’

‘तिमीलाई कस्तो छ ?’ भन्ने प्रश्नमा उनको एउटै शब्दको जवाफ हुन्छ, ‘ठीकै ।’

छोरी यसरी बदलिंदै गएपछि उनका बुवाले घुमाउन लैजान थाले । खाना तथा नास्ताका लागि रेस्टुरेन्ट पु¥याए । त्यही मौकामा बुवाले छोरीसँग आमाको भूमिकाबारे कुरा गरे । उनको बदलिंदो व्यवहार र मनोविज्ञानबारे सोच्न प्रेरित गरे । छोरीसँगको संगतबाट बुवाले के थाहा पाए भने, छोरी जिम्मेवार बन्दै गएकी छे । ऊ अलि परिपक्व र अचम्मका कुरा गर्न थालेकी छे । घरका सानातिना कुरामा पनि उसले ध्यान दिन थालेकी छे ।

यो मेरो निम्ति एउटा पाठ थियो, आफ्नै छोराछोरीलाई बुझ्ने । मैले बुझें, ‘किशोरवयका छोराछोरीलाई नियन्त्रण गर्ने भन्दा बुझ्न जरूरी छ ।’

उदाहरणका लागि उनीहरूको लुगा छनोटमा ‘मलाई तिमीले लगाएको लुगा मन पर्दैन’ भन्नुको साटो उनीहरूको आत्म अभिव्यक्तिलाई बुझ्ने यत्न गर्नुपर्छ । किशोरवयका छोराछोरीहरू आफ्नो इच्छा अनुसार आफूलाई व्यक्त गर्न खोज्छन् । यस्तो अवस्थामा उनीहरूको मनोभावलाई बुझेर त्यही अनुरूप तपाईं÷हामीले सहजकर्ताको भूमिका खेल्नुपर्ने हुन्छ ।

किशोरवयका छोराछोरी र आमाबुवाबीच मतान्तर हुनु, दूरी बढ्नु, रुचि र चाहनाहरू नमिल्नु अस्वाभाविक होइन । एक जैविक प्रक्रिया र प्रवृत्ति हो । किशोर चरणमा शारीरिक र भावनात्मक परिवर्तन तीव्र हुन थाल्छ । त्यसपछि उनीहरू त्यस्तै रहँदैनन्, जस्तो आमाबुवाले अपेक्षा गर्छन् । किशोर चरणका छोराछोरीहरू कुनै कुरामा चाँडै प्रतिक्रिया दिने, झर्कने, आमाबुवाबाट अलग बस्ने, घर बाहिरको साथीभाइ बनाउने गर्छन् । आफू परिपक्व हुँदै गएको कुरा उनीहरूले बोध गर्न थाल्छन् ।

म छोरीको कोठामा बस्न खोज्दा उनी झर्किएकी थिइन् र त्यसले मेरो मनमा चिसो पसेको थियो । किन उनी मसँग बस्न रुँचाइनन् ? किन मलाई निकाल्न खोजिन् ? यी प्रश्नहरूको जवाफ खोज्दै गर्दा मैले किशोरावयको मनोविज्ञानलाई राम्ररी बुझ्ने मौका पाएँ ।

केही समयपछि उनी शान्त भइन् र आफूले रुखो व्यवहार गरेको महसुस गरिन् । मैले पनि उनको गोपनीयतालाई सम्मान गर्नुपर्छ भन्ने बोध गरें ।

किशोरवयमा पुगेपछि छोराछोरी एक किसिमको दबाबमा हुन्छन्– पढाइको, परीक्षाको, करिअरको, मित्रताको, फेसनको, प्रविधिको । त्यससँगै शरीरमा हुने रसायनिक परिवर्तनले उनीहरूलाई चञ्चल र मूडी बनाइदिन्छ । उनीहरूको यस्तै स्थिति र मनोभावलाई बुझेर सौहार्दपूर्ण सम्बन्ध कायम राख्नु जरूरी हुन्छ ।

उनीहरूको मित्रता र सामाजिक जीवनमा ध्यान दिनुपर्छ । यसले विश्वासको बलियो वातावरण निर्माण हुन्छ । उनीहरू के चाहन्छन्, के रुचाउँछन्, के कुराले खुसी हुन्छन्, के कुराले रिसाउँछन् ? ध्यान दिनुपर्छ र त्यस अनुरूप आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ ।

पूर्वीय समाजमा एउटा प्रचलित भनाइ छ, ‘सानो छँदा बच्चाको अभिभावक बन्नुहोस् र किशोरवयमा पुगेपछि साथी बन्नुहोस् ।’

वास्तवमा किशोरवयका छोराछोरीका लागि हामी स्वयम् पनि साथी बन्ने हो । उनीहरूको कुरा सुन्ने हो । उनीहरूसँग रमाउने हो । यसो भन्दैमा उनीहरूलाई हरेक कुरामा स्वतन्त्रता वा छुट भने दिनुहुँदैन । केही कुरामा कडाइका साथ निगरानी र नियन्त्रण गर्न जरूरी हुन्छ ।

उनीहरूको सामाजिक सञ्जालमा निगरानीः अहिलेका बालबालिकाहरू सामाजिक सञ्जालसँगै हुर्किएका छन् र यो दुनियाँबाट उनीहरू विच्छेद हुन सक्दैनन् । सामाजिक सञ्जालका अनेक फाइदा छन्, उत्तिकै बेफाइदा पनि । यसमा उनीहरू थाहै नपाई फँस्न सक्छन् । त्यहाँ अश्लील गतिविधिमा संलग्न हुन सक्छन् । नराम्रो आचरण र खराब नियत भएकाहरूको संगतमा पर्न सक्छन् । त्यसैले सामाजिक सञ्जालमा उनीहरू के गर्छन् ? ख्याल गर्नैपर्छ ।

किशोरवयमा पुगेपछि उनीहरू नयाँ–नयाँ साथीहरू बनाउन थाल्छन् । विपरित लिंगीप्रति आकर्षण बढ्न थाल्छ । यस्तो अवस्थामा उनीहरूलाई सही साथी छनोट गर्न, उनीहरूसँग घुलमिल गर्न, मित्रताको मर्यादालाई ख्याल गर्न सिकाउनुपर्छ ।

यस उमेरका बालबालिकाहरू प्रायः आफ्नो रूप, पहिरन शैली र आत्मविश्वासको सन्दर्भमा अभावको अनुभव गर्छन् । यसलाई कसरी शिक्षक र अभिभावकले बुझ्छन् ? त्यसले उनीहरूको मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । उनीहरूलाई हीनताबोध हुने, ग्लानि महसुस हुने बोली र व्यवहार गर्र्नै हुन्न ।

विख्यात लेखक खालिद हुसेन भन्छन्, ‘बालबालिकाहरू रंगीन पुस्तक होइनन् । तपाईंले तिनीहरूलाई आफ्नो मनपर्ने रंगहरू भर्न सक्नुहुन्न ।’ अर्थात् उनीहरूमाथि हामी आफ्नो इच्छा र आकांक्षा लाद्न हुन्न । बरु उनीहरूको रुचि, स्वभाव, क्षमता अनुसार सही ढंगले फुल्न र फक्रनका लागि उर्बर वातावरण तय गरौं ।

लेखक स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कूलकी प्रधानाध्यापिका हुन् ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -