२०८२ बैशाख १ गते, सोमबार ०४:२३




विराटनगर । राष्ट्रिय अभियान अन्तर्गत कोशी प्रदेशमा पनि पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान शुरु हुने भएको छ । कोशी प्रदेशका १४ वटा जिल्लामध्ये सातवटा जिल्लामा माघ–२२ र अन्य जिल्लामा माघ–२३ गते देखि यो अभियान शुरु हुन लागेको हो ।

कोशी प्रदेश पूर्ण खोप समन्वय समितिले अभियानको तयारीका विषयमा जानकारी गराउने उद्देश्यले विराटनगर स्थित स्वास्थ्य मन्त्रालयमा आज आयोजना गरेको कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई यो खोप लगाउने लक्ष्य लिइएको छ । विद्यालयमा अध्ययनरत ६ कक्षादेखि १० कक्षा सम्म र विद्यालय बाहिर रहेका सो उमेर समूहका किशोरीहरूलाई यो खोप लगाउन लागिएको स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनुभयो ।

माघ–२२ गतेदेखि फागुन–७ गतेसम्म सञ्चालन हुने सो अभियान अन्तर्गत कोशी प्रदेशका विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका गरि २ लाख ६५ हजार किशोरीलाई यो खोप लगाइने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

अभियान अन्तर्गत खोप लगाउन कोशी प्रदेशका १४ वटा जिल्लामध्ये १२ वटा जिल्लामा खोप सहित विभिन्न खोप सामाग्री पुगिसकेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्