१५ माघ, काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई हातमा हत्कडी लगाएर हिँडाउँदै गरेको एउटा तस्वीर यतिबेला सामाजिक सञ्जालको ट्रेन्डिङमा छ ।
एकातिर ठूलठूला अपराधका अभियोगमा पक्राउ परेका भीआईपी अभियुक्तलाई हत्कडी नलगाउने, अर्कातिर आशिकाजस्ता अभद्र व्यवहारका आरोपी पक्राउ पर्दा हत्कडीसहितका तस्वीर सार्वजनिक हुनुले राज्यको द्वेध चरित्र देखाएको भन्दै प्रश्न उठेको छ । कतिपयले आशिकामार्फत राज्य संयन्त्रले आफूलाई अभियन्ता बताउनेहरूलाई सन्देश दिन खोजेको तर्क पनि गरेका छन् ।
प्रहरी प्रहरी वृत्त, गौशालाले अभद्र व्यवहारको कसुर गरेको अभियोगमा आशिकालाई २ माघमा पक्राउ गरेको थियो । त्यसअघि पशुपति क्षेत्र विकास कोषमा एकजना महिला प्रहरीलाई उनले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
ड्युटीमा खटिएकी एकजना प्रहरी नायब निरीक्षक (सई) लाई ‘सई होइन, असई हो’ लगायतका व्यक्तिगत लाञ्छना लगाउने किसिमका अभिव्यक्ति दिएको अभियोगमा उनीमाथि छानबिन सुरु भएको थियो ।
यो मामलामा अनुसन्धान गर्न पक्राउ अनुमति लिएर गएका प्रहरीलाई समेत अभद्र व्यवहार गरेको आरोप तामाङमाथि लगाइएको थियो । प्रहरीले उनीमाथि बिना अनुमति जुनसुकै स्थलको तस्वीर र भिडियो खिचेको समेत अभियोग लगाएको थियो ।
गौशाला प्रहरी स्रोतका अनुसार, उनले क्यामरा जडित चस्मा लगाउने गरेकी थिइन्, जसबाट भिडियो बनाएर उनले सामाजिक सञ्जालमा राख्दै आएकी थिइन् । त्यो चस्मालाई प्रहरीले जफत गरिसकेको एक प्रहरी अधिकृतले बताए ।
‘त्यसरी जथाभावी भिडियो खिच्नु र राष्ट्रसेवकलाई काम गर्नबाट रोक्न खोज्नु कानुनविपरीत कुरा थियो, त्यसैले अनुसन्धान गरेका थियौं’, गौशाला प्रहरीका एक अधिकृतले भने, ‘उहाँविरुद्ध पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवलाई पनि अपशब्द प्रयोग गरेको आरोपसमेत थियो ।’
यो प्रकरणमा अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको १२ दिनपछि सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दिएको आदेश अनुसार धरौटी बुझाए पनि प्रहरीले उनलाई हिरासतमुक्त गरेन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारीका अनुसार, जिल्ला प्रहरी परिसर भक्तपुरमा अर्को कसुरमा अुनसन्धान भइरहेकाले उनलाई त्यता पठाइएको थियो ।
नैतिकताको विषय कि फौजदारी अपराध ?
तामाङ भक्तपुर लैजाने क्रममा प्रहरीले हत्कडी लगाएर हिँडाएको तस्वीर सार्वजनिक भएपछि आलोचना सुरु भएको हो । विगतमा प्रहरीले नैतिक शिक्षा दिन भन्दै गुण्डागर्दीमा संलग्नलाई हत्कडीसहित सडकमा हिँडाएको उदाहरण पनि छ ।
यस्तोमा आशिकाको तस्वीर सार्वजनिक भएपछि उनीमाथि राज्य संयन्त्रले ज्यादती गरेको कतिपयको आरोप छ ।
वरिष्ठ अधिवक्ता डा. नारायणप्रसाद घिमिरेका अनुसार, तामाङले गरेका गतिविधि उनलाई सामान्य नसिहत दिन पुग्ने किसिमका छन् । तर, सार्वजनिक तस्वीरका कारण राज्यले आवश्यकताभन्दा बढी दुःख दिने नियत राखेको जस्तो सन्देश गएको उनी बताउँछन् ।
‘उनको मनसाय खराब थिएन, कानुनी व्यवस्था देखाई नसिहत दिए पुग्ने थियो । तर, मुद्दा लगाएर दुःख दिनु फौजदारी कानुनको सिद्धान्तविपरीत भयो,’ उनले भने, ‘समाजमा अनुशासन कायम गर्न कहिले काहीँ सामान्य अनुशासनात्मक कारबाही गरे पुग्छ, तर, तामाङ प्रकरणमा सरासर कानुनको दुरुपयोग देखियो ।’
कतिपय प्रहरी अधिकृतहरू नैतिकताको विषयलाई फौजदारी मामला बनाएको प्रति असन्तुष्ट छन् ।
‘एउटा जमातले आशिकाजस्ता व्यक्तिहरूले गरेको काममा ताली बजाइरहेको छ । जनताले खोजेको कुरा उनीहरूले उठाएका छन् । तर, अर्कोतिर आशिका र उनीजस्ता अभियन्ता बताउनेहरूको शैली एकदमै गलत छ’, नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यस्तोमा आवश्यकताभन्दा बढी कारबाही गर्दा समाजमा थप उदण्डता फैलिनसक्छ भन्नेमा पनि राज्य सचेत हुनुपर्छ ।’
तामाङको जस्तो मुद्दामा गरिने कारबाहीमा प्रहरीले सचेतता अपनाउनुपर्ने मल्लको राय छ । नेपालको फौजदारी कानुनले पनि व्यक्तिलाई जस्तोसुकै अवस्थामा थुनिहाल्ने विषयलाई निरुत्साहित गरेको बताउँदै उनी थप्छन्, ‘यस्तोमा सानो कारबाही गर्दा पुग्ने चिजलाई ठूलो बनाउँदा यसले राम्रो सन्देश गएको छैन ।’
प्रहरी अधिकृतहरू भने आफूहरूले आशिकाको तस्वीर सार्वजनिक नगरेको र त्यस्तो किसिमको कुनै नियतसमेत नभएको बताउँछन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले भने, ‘प्रहरीले त्यसरी तस्वीर सार्वजनिक गर्ने भन्ने नै हुँदैन, जहाँसम्म हत्कडी लगाउने कुरा छ, त्यसका पछाडि निश्चित कारणहरू हुन्छन् ।’
उनका अनुसार, प्रहरी नियन्त्रणमा रहेका कुनै व्यक्ति भागेर जानसक्ने अवस्था छ भने हत्कडी लगाइन्छ । ‘अर्कोे, कसैले एग्रेसिभ व्यवहार वा गतिविधि गर्न सक्छ भने पनि त्यहाँ सेफ्टी मेजर अपनाउनुपर्ने स्थिति हुन्छ’, उनले व्याख्या गरे, ‘प्रहरी नियन्त्रणमा भएको मान्छे भागेको अवस्थामा फेरि त्यहाँ खटिनेलाई नै समस्या हुने स्थिति हुने भयो… ।’
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले पनि तामाङमाथि विशुद्ध सावधानीका लागि हत्कडी लगाइएको प्रतिक्रिया दिए । उनले अनलाइनखबरसँग भने, ‘यसमा अन्यथा लिनुपर्ने केही कुरा छैन ।’
आलोचनापछि अदालत पुग्यो मुद्दा
फौजदारी कानुनको सिद्धान्तले भन्छ – पहिले प्रमाण खोज, अनि मात्र नियन्त्रणमा लिऊ । तर, अनुसन्धान अधिकृतहरूले हिरासतमा लामो समयसम्म राख्नुमै जोड दिने गरेका छन् । आशिकालाई काठमाडौंमा छुट्ने बित्तिकै समातेर भक्तपुर पुर्याउनुले पनि त्यसलाई जोड दिएको जानकारहरू बताउँछन् ।
भक्तपुरमा तामाङलाई हिरासतमा राख्न प्रहरीले आपराधिक उपद्रवको कसुरको जाहेरीको सहारा लिएको छ । मुलकी फौजदारी अपराध संहितामा सरकार, स्थानीय तहको कुनै स्वामित्वको संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई हानी, नोक्सानी पुग्ने नियतले लापरबाही वा हेलचेक्र्याइँ गरी कुनै सार्वजनिक महत्वको सम्पत्ति नास गरे वा त्यसको महत्व घट्ने काम गरे आपराधिक उपद्रव हुने भनिएको छ ।
अर्काको चिठी लुकाए वा बदनियतपूर्वक ढिला पुग्ने गराएदेखि झुठो अफवाह फैलाएर अरुको कारोबार र व्यवसायमा बाधा पुर्याएसमेत यो कसुर आकर्षित हुने व्यवस्था छ । उक्त कसुर गर्नेलाई पाँच वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ ।
तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् ।
यो घटनालाई लिएर सूर्यविनायक नगरपालिकाका तर्फबाट नगर प्रहरी प्रमुख वीरबहादुर अधिकारीले तामाङसहित ६/७ जना व्यक्तिहरू आएर सरकारी स्वामित्वको पर्यटन पूर्वाधारका रूपमा निर्मित झोलुङ्गे पुलमा आएर प्रवेश शुल्कबारे अफवाह फैलाउने नियतले भिडियो बनाएको भन्दै प्रहरी वृत्त, जगातीमा जाहेरी दिएका थिए ।
पूर्वयोजनासहित तामाङसहितका व्यक्तिले तीन दिनपछि बिहान ११ः४५ बजे आपराधिक उपद्रव गर्ने नियतले चक्कु, कैंची, पेन्चिस, हम्बर लगायत लिएर पुलमा पुगेको समेत जाहेरीमा दाबी गरिएको छ ।
‘पुलमा आवातजावतका लागि शुल्क लिने काममा खटिएका कर्मचारीलाई समेत हातपात गरेर टिकट प्याड खोसेर लाइटर बालेर आगजनी गरेकाले कारबाही गरी पाऊँ’, जाहेरीमा भनिएको छ ।
तर, तामाङको तस्वीरलाई लिएर विवाद हुन थालेपछि सरकारी वकिलको रोहबरमा उनको बयान मंगलबारै सकिएको छ भने अदालतमा मुद्दासमेत दर्ता भइसकेको छ । भोलि (बुधबार) र पर्सी (बिहीबार) सरकारी विदा भएकाले शुक्रबारबाट जिल्ला अदालत भक्तपुरमा थुनछेक बयान र बहस सुरु हुनेछ ।
अदालतबाट उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश हुनेछ ।
आशिकाले सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा भने झोलुङ्गे पुलमा जान २० रुपैयाँ तिर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई दुःख भएको सुनेकाले आफूले त्यहाँ गएर भिडियो बनाएको बताएकी छन् ।
‘त्यो कार्यले सर्वसाधारण मानिसलाई दुःख हैरानी भयो भन्ने कुरा मैले स्थानीयबाट सुनेकाले मैले उक्त स्थानको भिडियो मेरो फेसबुकमा अपलोड गरेको थिएँ,’ उनले भनेकी छन्, ‘त्यो दिन म पुलमा चढिनँ, शुल्क पनि तिरिनँ र त्यत्तिकै डेरामा आएँ ।’
अर्को दिन चाहिँ सबैलाई जानकारी दिने हिसाबले धादिङका शरण तिरुवालाई लिएर जाँदा युट्युबरहरूलाई पनि खबर गरेको उनले भनेकी छन् । ‘त्यतिबेला हामी झोलुङ्गे पुलसँगैको टिकट काउन्टरमा गएका थियौं, त्योबेला स्थानीयसँग मैले कैंची मागेर २० लेखेको पोष्टर म र भाइ तिरुवाले तानेर काटेका थियौं’, उनले भनेकी छन्, ‘टिकट प्याड महिला कर्मचारीसँग माग्दा नदिएकाले मैले भाइ शरणले खोसेर लाइटर बाली मैले समाएर जलाइदिएको हुँ ।’
अदालतमा दायर अभियोग पत्रमा तामाङको व्यवहारबाट त्रिशूल इन्टरनेशनल प्रालिलाई ३३ हजार तीन सय रुपैयाँ घाटा भएको भन्दै क्षतिपूर्तिको समेत माग गरिएको छ ।