२०८२ बैशाख १६ गते, मंगलवार १५:३६

मधेश प्रदेशमा यस वर्ष माछाको उत्पादनमा वृद्धि 

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा गत वर्षभन्दा यस वर्ष माछाको उत्पादनमा ५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

यस बर्ष मधेश प्रदेशका जिल्लाहरूमा समग्र रुपमा दुई हजार मेट्रिकटन भन्दा बढीले माछा उत्पादनमा वृद्धि भएको छ । 

गत वर्ष ४३ हजार ३ सय ८२ मेट्रिकटन माछाको उत्पादन भएकोमा यस वर्ष त्यसमा वृद्धि भएर ४५ हजार ५ सय ७१ मेट्रिकटन पुगेको नेपाल राष्ट्र बैङ्क मधेश प्रदेशको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

माछाको उत्पादन प्रायः जिल्लाहरूमा केही मात्रामा वृद्धि भए पनि अन्य जिल्लाको तुलनामा बारा जिल्लामा बढी नै वृद्धि भएको जनाइएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बारा जिल्लामा माछा सुपर जोन कार्यक्रम सञ्चालन गरेर माछा किसानहरूलाई उत्पादन बढाउनका लागि प्राविधिकदेखि विभिन्न प्रकारको सहयोग भएका कारण अन्य जिल्लाको तुलनामा यहाँ माछाको उत्पादन बढी भएको जनाइएको छ  ।

जिल्लागत रुपमा बारा जिल्लामा माछाको उत्पादन गत वर्ष ९ हजार ५ सय ४३ मेट्रिकटन भएकोमा यस वर्ष वृद्धि भएर १० हजार २ सय २० मेट्रिकटन पुगेको छ ।

यसैगरी सबैभन्दा कम पर्सा जिल्लामा गत वर्ष ४ हजार ३ सय ३७ मेट्रिकटन भएकोमा यस वर्ष माछाको उत्पादन घटेको छ । यहाँ यस वर्ष ३ हजार ६ सय ४४ मेट्रिकटन मात्र उत्पादन भएको राष्ट्र बैङ्कको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, सप्तरी जिल्लामा यस वर्ष माछाको उत्पादन थोरै मात्रामा वृद्धि भएको छ । सप्तरीमा गत वर्ष ३ हजार ४ सय मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष ३ हजार ७ सय मेट्रिकटन पुगेको छ । सिरहा जिल्लामा गत वर्ष ३ हजार ७ सय ८८   मेट्रिकटन  टन उत्पादन भएकोमा यस पटक ४ हजार ५ सय ५६ मेट्रिकटन पुगेको छ । 

धनुषा जिल्लामा चालु वर्षमा माछाको उत्पादनमा थोरै वृद्धि भएको छ । धनुषामा गत वर्ष ६ हजार २ सय ९५ मेट्रिकटन माछा उत्पादन भएकोमा यस वर्ष ६ हजार ३ सय ४३ मेट्रिकटन पुगेको छ । महोत्तरी जिल्लामा गत वर्ष ५ हजार ७ सय ७ मेट्रिकटन माछा उत्पादन भएकोमा यस पटक ५ हजार ७ सय ८९ मेट्रिकटन पुगेको छ । 

सर्लाही जिल्लामा गत वर्ष ६ हजार १ सय ५८ मेट्रिकटन माछाको उत्पादन भएकोमा यस वर्ष ६ हजार ६ सय ४० मेट्रिक टन पुगेको छ । 

त्यस्तै, रौतहट जिल्लामा गत वर्ष ४ हजार ९ सय ५५ मेट्रिकटन भएकोमा यस पटक ५ हजार ७९ मेट्रिकटन माछा उत्पादन भएको विभिन्न जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उपलब्ध गराएको तथ्याङ्कलाई राष्ट्र बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा समेटेर जनाएको छ ।   

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्