बाजुरा । बाजुराको रजाली, बाजुरा सदरमुकाम मार्तडीसँग नजिकको एक सानो गाउँ हो, जसको परिचय कम जनसंख्या र सानो वडाको रूपमा सीमित छैन। रजाली १ बडीमालिका नगरपालिकाको ३ नम्बर वडामा पर्ने एक उदाहरणीय कृषि गाउँ हो, जहाँ २ सय ८ परिवारको बसोबास छ। यस गाउँको विशेषता यसको उत्पादन र उर्वरा हो , यहाँको मुख्य पेशा तरकारी खेती हो। रजालीको बडीमालिका नगरपालिकाका ९ वटा वडामध्ये दोस्रो सानो वडा हो, तर यसको कृषि उत्पादनले गाउँको प्रतिष्ठा बढाएको छ।
रजालीको नाम केवल जनसंख्या र सानो वडाको रूपमा मात्र परिचित छैन। यो गाउँ तरकारी खेतीको नमूना बनेको छ। यहाँका अधिकांश बासिन्दा खेतीमा सक्रिय छन् । १ सय भन्दा बढी किसानहरूले व्यवसायिक तरकारी खेती गरेका छन्। तरकारी खेतीका लागि कुनै पनि सहयोग नपाउँदा पनि यो गाउँका बासिन्दाले दशकौंदेखि कृषि उत्पादनमा संलग्न छन्।
बडीमालिका नगरपालिका ३ का वडाध्यक्ष डबल रोकायाले बताए अनुसार रजालीले सिङ्गो मार्तडी बजारमा तरकारी आपूर्ति गर्ने जिम्मेवारी निर्वाह गरेको छ। वडाध्यक्ष स्वयं पनि सफल तरकारी किसान हुन् र उनका श्रीमती फुगी रोकाया पनि खेतीमा सक्रिय छिन्। यस परिवारले डेढ दशकदेखि तरकारी खेती गरिरहेको छ, र यसैको माध्यमबाट उनीहरूले सदरमुकाम मार्तडी बजारमा तीन तलाको घर बनाएका छन्। उनका जेठो छोरा इञ्जिनियर, कान्छो छोरा हेल्थ असिस्टेन्ट ९एचए० र बहिनीलाई कृषि विज्ञान अध्ययन गराइरहेका छन्।
बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काका अनुसार, रजालीका किसानहरूले तरकारी खेतीबाट नाम मात्रै नभइ राम्रो आम्दानी कमाइरहेका छन्। यसबाटै उनीहरूले आफ्ना सन्तानको भविष्य सुनिश्चित गरेका छन्। गाउँका ५० भन्दा बढी विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्दैछन्, र केही युवा विदेश उच्च शिक्षा अध्ययन गर्न गएका छन्। रजालीका बासिन्दा अब विदेश जानुको आवश्यकता महसुस गर्दैनन्, किनकि उनीहरूको प्रमुख पेशा तरकारी खेती नै बनिसकेको छ।
रजालीका किसानहरू बिहान उज्यालो नहुँदै मार्तडी पुगेर डोकोमा बोकेर ल्याएका तरकारी बेच्ने गर्छन्। तर, यस गाउँमा उत्पादित तरकारीको ढुवानीका लागि सहज बाटो र सङ्कलन केन्द्रको अभाव छ। हालै नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरी कृषकलाई राहत प्रदान गर्ने प्रयास गरेको छ।
रजालीले तरकारी र फलफूल खेतीबाट करोडौं रुपैयाँ आम्दानी गर्दैछ, र यदि अरू गाउँहरूले यसको सिको गरे भने विदेश पलायन र बेरोजगारी समस्याबाट बच्न सक्नेछन्। रजालीको तरकारी खेतीको सफलता देशका अन्य गाउँहरूले पनि अनुसरण गर्न सक्नेछन्, जसले सम्पूर्ण गाउँमा समृद्धि र विकास ल्याउन सक्छ।